यो वर्षको रक्षा बन्धन शून्य

विराटनगर । सधैँ जनै पूर्णिमा अर्थात् रक्षा बन्धनको दिन चहलपहल हुने विराटनगरको बजार यति बेला सुनसान छ ।
विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमण न्यूनीकरण तथा रोकथामका लागि विराटनगर महानगरपालिकाले शुक्रवार राति देखि दोस्रो चरणको लकडाउन घोषणा गरेसँगै बजार सुनसान छ ।
रक्षा बन्धन नेपालमा साथै भारतमा पनि उल्लासका साथ मनाइने पर्व हो । विशेष गरी नेपालको तराई भगमा उल्लासका साथ मनाइँदै आएको रक्षा बन्धन पछिल्लो समय पहाडी समुदायमा पनि मनाउन थालिएको छ ।
रक्षा बन्धन पर्वमा दिदीबहिनीले आफ्नो दाजुभाइको लामो आयु साथै हरेक कठिनाइ, बाधाबाट रक्षा होस् भनेर राखी बाँधिदिने र मिष्ठान्न भोजन खुवाउने चलन छ ।

शून्य भयो रक्षा बन्धन
विराटनगरको जलजला चोकमा सधैँ ठेलामा फलफूल व्यापार राख्ने ३८ वर्षिया फुलदेवी महतोको पेसा परिवर्तन भएको छ । शनिवार देखि उनले फलफूल छोडेर राखीको व्यापार राखेको उनले बताइन् ।
उनले विगतको वर्ष पनि राखीको व्यापार गर्ने गरेकी थिइन । ‘पोहोर साल व्यापार राम्रो भएको थियो, यो साल कोरोनाले व्यापार ठप्प छ’ उनले भनिन् ।
सालै पिच्छे दुईदिन राखिको व्यापार गर्ने गरेको बताउँदै यो सालको रक्षा बन्धन शून्य भएको उनी सुनाउँछिन् । उनले आज बल्ल, तल्ल ५ सय रुपैयाँको राखी बेचिन् ।
यो साल बिकी भएन भने अर्को साल बिक्री हुन्छ, विराटनगरको मध्य घाममा मुस्कुराउँदै सुनाइन् । प्रत्येक वर्ष रक्षा बन्धनको बिहानसम्म राखीको व्यापार गरेर दाजुभाइलाई राखी बाँध्न भारतको फारविसगञ्ज पुग्ने उनी यो सालको रक्षा बन्धन शून्य भएको बताउँछिन् ।
उनले भनिन् ‘कोरोनाले संसार नै तहस नहस बनाएको अवस्थामा माइती जान सम्भव छैन, आफ्नो छोरा र छोरीले राखी बाँधेर उनीहरू खुसी भएको हेरेर नै चित्त बुझाउने विचार छ ।’
रक्षा बन्धनमा दिदीबहिनीले दाजुभाइको हातमा बाँधिदिएको राखीले माइतीको रक्षा हुने र चेलीलाई केही अप्ठ्यारो परिस्थिति आईपरे माइतीले चेलीको रक्षा गर्ने विश्वास रहेको उनले बताईन् । उनको भनाई अनुसार रक्षा बन्धन चेली र माइतीको जीवन्तसम्म एकअर्काको दरिलो साथ, प्रेम र सद्भावको पर्वका रूपमा पनि मनाइने पर्व हो ।
चेली बिनाको रक्षा बन्धन खल्लो
प्रत्येक वर्ष आफ्नी दिदीको हातको राखी बाँध्न भारतको किसानगञ्ज जाने गरेका सञ्चारकर्मी राकेश कर्ण यो सालको रक्षा बन्धन खल्लो भएको बताउँछन् ।
उनका आफ्ना दिदीबहिनी छैनन्, भारतमा उनी मामाको छोरीको हातबाट राखी बाँध्न वर्षेनी जाने गरेको सुनाउँछन् । तर पछिल्लो समय कोभिड– १९ सङ्क्रमण भारतसँगै नेपालमा पनि सङ्क्रमणको तीव्र वृद्धि हुँदै गएकाले यो सालको रक्षा बन्धन सधैँको वर्ष भन्दा खल्लो नै रहेन बताउँछन् ।
उनको हरेक वर्षको रक्षा बन्धन भारतमा रहेकी उनकी दिदीको हातबाट राखी बाँधिएपछि मात्रै रक्षा बन्धनको शुभारम्भ हुने भएकाले यो वर्षको रक्षा बन्धन, उनले नमनाउने निधो गरेका छन् ।









