कम्युनिष्ट हुन नसकेका नेपालका कम्युनिष्टहरु !

काठमाडौं । यत्तिबेला नेपालमा कम्युनिष्ट सरकार हुँदो हो त पार्टीका सबै तहका नेता तथा कार्यकर्ताहरु नोवेल कोरोना भाइरस [कोभिड १९]को महामारीविरुद्ध लागिरहेका हुन्थे होलान् । आम–जनताको घर घरमा गएर कोभिडबारे सतर्कता र सावधानीका उपायहरु बाँड्दै हुन्थे होलान् । अनि कमरेडहरु जत्ति सबै काठमाडौं बसेर सामाजिक सञ्जालहरुमा यत्रतत्र लेख्न र पार्टीको नीतिको व्याख्या गर्दै मात्रै बस्ने थिएनन् होला ।

कम्युनिष्ट सरकार हुँदो हो त संक्रमण रोकथामको निम्ति देशभित्रै उत्पादन गर्न सकिने आकस्मिक स्वास्थ्य सामग्री उत्पादन गर्न सम्भावित उपायको खोजी कार्यमा कार्यकर्ताहरु खटाइन्थ्यो होला । आफ्नो जन्मभूमि र परिवारको मायाले बिरत्तिएर लुकीछिपी नेपाल भित्रिएका नेपालीको स्वास्थ्य परीक्षणको निम्ति दशौं हजार स्वयंसेवकहरु परिचालित भइरहेका हुन्थे होलान् ।

छिमेकी मुलुक भारतले दशकौंदेखि नेपाली भूभागहरु अतिक्रमण गरेको अवस्थामा भारतीय समकक्षीसँग आँखामा आँखा जुधाएर कुरा गर्न सक्दथ्यो होला । भारतले खुलमखुल्ला अतिक्रमण गरेको कालापानी, लिपुलेक, लिम्पियाधुरा फिर्ता ल्याउन व्यवहारतः खोज अनुसन्धान गर्दै सम्बन्धित देशलाई सिर्जनात्मक, बौद्धिक र रचनात्मक दबाब दिन्थे होलान् । त्यसकै लागि विभिन्न अन्तर्राष्ट्रिय भाषामा प्रविधिको सदुपयोग गर्दै ठूल्ठूला भिडिओ कन्फेरेन्सहरु हुन्थे होलान् ।

विश्वसामु कहिल्लै नझुकेको नेपालको सार्वभौमिकता, स्वाधिनता रक्षार्थ अन्तर्राष्ट्रिय मञ्च समक्ष जान्थे होलान् । कम्युनिष्ट सरकार नेपाली जनताको सहारा भए त हरेक वर्ष तराईमा बस्ने नेपाली जनताले भारतीय बाँधका कारण झेल्नुपर्ने डुबानको समस्या उहिल्लै हल भइसक्ने थियो । भारतले पटक–पटक गर्ने राजनीतिक, सामाजिक, आर्थिक तथा भौगोलिक हस्तक्षेपविरुद्ध उहिल्लै आवाज घनिभूत हुने थियो होला । नेपाल भारतबीचका सम्बन्धमा पैदा हुने समस्याहरुका बारेमा अन्तर्राष्ट्रिय कानून र नजिरको आधारमा विभिन्न भाषामा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा लेख, स्तम्भ, अन्तर्वार्तालगायतका सामग्रीहरु छापिन्थे होला ।

अनि कम्युनिष्टकै सरकार हुँदो हो त कोभिडले कसरी पूँजीवादी व्यवस्थालाई असफल बनाउँदो रहेछ र समाजवादी व्यवस्थालाई कसरी स्थापित गर्दै जाने रहेछ भनेर सोच्दै र व्यवहारतः लागू गर्दै जान्थे होला । यत्तिमात्रै पनि होइन, सालसालै बाढी तथा पहिरो पीडित क्षेत्रका जनताको राहतमा आफ्नो क्षमता परिचालन गर्दै हुन्थे होला ।

अनि कुर्सीका लागि लडाइँ गरेर यो कम्युनिष्टको नियमित संघर्ष हो भन्दै हिँड्दैनथे होला ।

तर, विडम्बना नै भन्नुपर्छ, मुलुकमा शक्तिशाली कम्युनिष्ट [नेपाल कम्युनिष्ट पार्टी] को सरकार भएर पनि जनताको सेवा गर्ने काममा कम्युनिष्टहरु प्रतिबद्ध भएनन् । मुलुक बनाउने अभियानमा कम्युनिष्टहरु सर्वहारा भएनन् । बरु सर्वहाराको नाम र चरित्र बोकेर पूँजीपतिहरुको संरक्षक भए । सत्ताको आडमा आफ्ना भाइ भारदार नातागोतालाई सर्वसम्पन्न बनाए । आफ्ना लागि मात्र हैन आफ्ना पछिका सात पुस्तालाई पुग्ने श्री-सम्पत्ति र ऐसआराम जोडजाम गरे । स्यालले सिनो लुछिरहे जस्तो छिमेकीहरुले सनैसनै चौचर्फी मुलुकको राष्ट्रियता, स्वाधिनता र अस्तित्व लुछिरहँदा ‘गान्धीजीका बन्दर’ जस्तो आँखामा पट्टी बाँधेर बसे ।

वर्तमानकै कुरा गरुँ न,–
मुलुक विषम परिस्थितिमा छ । कोरोना भाइरस संक्रमणले जनता दिनदिनै मृत्युको मुखमा छन् । पहाड र तराईका जनता बाढी पहिरोका कारण दिनरात त्रासमा बसिरहेका छन् । मरिरहेका छन् । विडम्बना तिनै जनताको मुक्तिका लागि, जनताको दुखःकष्ट हरणका लागि संहदरबार छिरेका हाम्रा कम्युनिष्ट शासकहरु सत्ताको र सास्वादनमा भुलिए । अनि सत्ता जोगाउने र ढलाउने खेलमा हराए ।

संसारमा कम्युनिष्ट शासकको यो भन्दा विकृत रुप के होला ? नेपालको कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीबीच धेरै राजनीतिक, सैद्धान्तिक विषय र अनुभवहरु आदान–प्रदान हुन्छन् । बेलाबेला विश्वकै शक्तिशाली कम्युनिष्ट शासन सत्ता भएको चीनको स्वागतमा जाने कम्युनिष्ट नेताहरुले त्यहाँबाट किन सिकिरहेका छैनन् ?  त्यहाँको शासनप्रणाली यहाँ किन लागू गर्न सकिरहेका छैनन् ? किन त्यहाँको विज्ञान र प्रविधिलाई आत्मसाथ गर्दै देश विकासको गोरेटो कोर्न सक्दैनन् ? यी यावत् प्रश्नहरु जतिपटक कम्युनिष्टहरु शासन सत्तामा जान्छन् उनीहरुको बोली र व्यवहारबाट उब्जिएको हो ।

नेपाली कम्युनिष्टहरुले सत्तामा रहँदा बढीभन्दा बढी फाइदा लिने, धेरैभन्दा धेरै राज्यको श्रोत साधन लुट्ने सिद्धान्त अपनाए । फलस्वरुप: पछिल्लो २० वर्षयता नेपाली राजनीतिको छक्कापञ्जामा पटकपटक सत्तामा पुगेका कम्युनिष्टहरुकै बेला मुलुकको अर्थ व्यवस्था र सरकारी सम्पत्ति नाश भएका छन् ।

तसर्थ, नेपालका कम्युनिष्टहरु सच्चा कम्युनिष्ट होइनन् । यिनीहरु त बाघको छाला ओढेर सिनोमा रजाइँ गर्ने स्यालहरु हुन् । ‘लाल सलाम, कमरेड’ भन्दैमा कोही असली कम्युनिष्ट हुँदैन । सच्चा कम्युनिष्टहरु त जनताका बीचमा रमाउँछन् । झुपडी र वस्तीमा हुन्छन् । जनताका हृदमा बस्छन् । जुन अहिलेका कम्युनिष्टहरुसँग रत्तिभर छैन ।

कम्युनिष्ट हुन त्यागको भावना चाहिन्छ । राष्ट्रभक्ति भावना चाहिन्छ । पद र पैसालाई खोस्टा भन्नुपर्छ । सच्चा कम्युनिष्टहरुले भौतिक सुख हैन आत्मिक सुख शान्ति खोज्नुपर्छ । त्यसका लागि सिंहदरबार हैन भोकाएका, शोकाएका बस्तीहरुमा जानुपर्छ ।

हामीले त्यस्ता कम्युनिस्टहरु कहिले पाउने होला ?

त्यसो त नेपाली कम्युनिष्ट नेताहरुले आत्मनिर्भरताका कुरा पनि खुबै उठाउँछन् । तर कहिल्यै उनीहरु आत्मनिर्भर हुने पाटोतर्फ सोच्दैनन् । यहाँ त राजदूतको ढोकासम्म धाउनेदेखि अरुकै गोडा मोल्नेसम्मका पानीमरुवा कम्युनिष्टहरु देखिएका छन् ।

जनयुद्धताका भत्काइएको उद्योग तथा कलाकारखानाहरु पुनः सञ्चालन हुन सकेका छैनन् ।

देश लोकतान्त्रिक गणतन्त्रको बाटो हुँदै संघीयतामा गइसक्दा पनि आत्मनिर्भरताका कुरा गर्ने कम्युनिष्ट नेताहरुले थलिएका उद्योग तथा कलाकारखानाजस्ता आत्मनिर्भरताका सूचकहरुलाई सञ्चालनमा ल्याउन कुनै पहल नगरेको देख्दा विडम्बना नै लाग्छ । यो पाटोमा सरकारी पक्ष पूरै उदासीन देखिन्छ ।

अब कुरा मात्रै गरेर हुन्न कमरेड ! काम पनि गर्नुपर्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *