‘आकाश खसेपनि धर्ति फाटेपनि प्रधानमन्त्रीले राजीनामा दिनुहुन्न’

काठमाडौं । नेकपा स्थायी कमिटि बैठक सुरु भएयता चर्किएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद उत्कर्षमा छ । गत असार ११ गतेबाट सुरु भएको स्थायी कमिटि बैठकमा सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै पदबाट राजिनामा दिनुपर्ने माग उठेपछि विवादको सृखला सुरु भयो ।

त्यसपछि अध्यक्षद्वयबीच एकपछीय बहुपछीय वार्ता भए र आ–आफ्ना गुट दर्जन बढी भेलासमेत भए । तर पार्टीभित्रको विवाद साम्य हुनुभन्दा झन् बढ्दा ओली र प्रचण्ड-नेपालसहितको खेमाबिच सार्वजनिक रूपमा आरोप-प्रत्यारोप सुरु भयो । शुक्रबारमात्रै एक रेडियो कार्यक्रममा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापा र बागमति प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मरकट्टेल बीच चर्काचर्की नै पर्याे ।

बीबीसी नेपाली सेवाको बीबीसी बहसमा प्रेस सल्लाहकार थापाले ओली र मन्त्री जम्मरकट्टेलले प्रचण्डको बचाउ गरे । नेकपा विभाजनको संघारमा पुगेको हो भन्ने प्रश्नमा थापाले भने- ‘टुक्रिने अवस्थामा छैन, जोखिममा पनि छैन बहस छलफल जारी छन् । अलिअलि आनीबानी नमिलेको, हिजो भावनाले चल्थ्यो, अहिले व्यवहारको यथार्थमा प्रकट हुँदा खेरी आ-आफ्ना सिमा पनि प्रकट भएकोमात्रै हो, पार्टी टुक्रिन्न भन्नेमा म दृढ छु ।’

सल्लाहकार थापाले प्रधानमन्त्री कुनै पनि पद छाड्न तयार नरहेको स्पष्ट पारे । ‘प्रधानमन्त्रीले पद छाड्ने कुनै एजेण्डा छैन,’ उनले भने- ‘हाम्रो स्थायी कमिटी बैठक असार १० गते सुरु भयो, १ महिना ६ दिनको अवधिमा जति बैठक भए, जुनजुन एजेण्डा पास भए त्यहाँ पद छाड्ने भन्ने भन्न कुनै एजेण्डा छैनन् । यो पद त्यागेर समाधान रोज्ने भन्ने विषय नै होइन ।’

थापालाई रोक्दै मन्त्री जम्कट्टेलले प्रधानमन्त्रीको राजिनामाको विषय प्रवेश गर्नु स्वभाविक भएको जिकिर गरे । ‘विषय प्रवेश गर्यो सरकार र पार्टीको समिक्षा गर्दाखेरी त्यो विषय आउथ्यो होला, त्यो पार्टीले निर्णय गर्ने कुरा हो तर, परिस्थिति अप्ठ्यारो र जटिल अवस्थामा पुगेको कुरा सत्य हो,’ उनले भने-‘अहिले स्वयंम् प्रधानमन्त्री पार्टीको अध्यक्ष छन् त्यसैले समग्र समिक्षा गरेर पार्टीलाई एकतावद्ध बनाउनेतर्फ भन्ने कुरा उठेको हो ।’

प्रधानमन्त्रीले विभाजनको संकेत गरे भन्ने प्रश्नमा थापाले त्यो यथार्थ नभएको बताए । प्रधानमन्त्रीले पार्टी विभाजन गर्नुपर्ने कुनै कारण नरहेको भन्दै उनले भने- ‘केपी ओली नेकपाको पहिलो अध्यक्ष हुनुहुन्छ अरु त्यसपछिका हुन् । एकताले नै यो कुरा स्वीकार गरेको छ, जो पहिलो अध्यक्ष हुनुहुन्छ, मुलुकको प्रधानमन्त्री हुनुहुन्छ, उहाँलाई पार्टी फुटाउनुपर्ने कुनै जरुरी छैन ।’ कांग्रेसका विधान, पूर्व एमाले र माओवादीका विधान हेरेर आज नेकपाका निर्यणहरु हुन नसक्ने उनको तर्क थियो ।

दुवै अध्यक्ष बिनाको निर्णय मान्य नहुने पनि उनले स्पष्ट पारे । ‘ आकाश खसेपनि धर्ति फाटेपनि त्यो मान्ने हुन्न, बहुमतको निर्णय कँहि पनि निर्णयको रुपमा छैन,’ उनले भने एजेण्डा दुई अध्यक्ष को सहमतिमा हुने हो, पत्राचार दुई अध्यक्षको सहमति हुने हो । दुवैको सहमतिमा एकजनाले हस्ताक्षण गरिसकेपछि यसको अधिकारिकता पुष्टि हुने हो ।’

तर, मन्त्री जम्मरकट्टेलले यो तर्कमा सहमति जनाएनन् । पार्टी विवादमा फस्नुको जड नै विधान र नीतिको कुरा ओलीले स्पष्ट रुपमा पालना नगर्नु भएको टिप्पणी गरे । ‘नीतिमा स्पष्ट छौं तर यहाँ समस्या व्यवहारमा हो, समस्या सरकार सञ्चालनमा आयो, पार्टीका काम लथालिंग भए, पार्टी एकताका काम टुंगेका छैनन्,’ उनले भने- ‘सुर्य जीले भन्नु भयो नि उहाँ एक नम्बरको अध्यक्ष हो यी सबै लथालिंग र भद्रगोलताको जिम्मा कसले लिने हो त त्यसो भए ?’

सूर्य थापाको जवाफ थियो– ‘केपी ओलीलाई नसोधेर उहाँको सहमति बेगर त हुन्न, विधानको व्यवस्था यही हो । पहिलो अध्यक्ष उहाँ हो, प्रधानमन्त्री उहाँ हो, एमालेको महाधिवेशनबाट निर्वाचित अध्यक्ष उहाँ हो,’ थापाले भने- ‘चुनाव अघि ८० बढी आमसभामा प्रचण्डले अबको प्रधानमन्त्री केपी ओली हो भनेपछि जनताले दुई तिहाई उहाँको नेतृत्वमै दिएको हो । केपी ओलीलाई बाइपास गरेर, थाहा नदिएर सट्याक सुटुक, झम्सिखेलमा, खुमलटारमा र अन्त-अन्त बैठक बसेर निर्णय गर्छु र आफूखुशी चल्छु चलाउछु भन्ने कुरा हुदैन ।’ ‘महाधिवेशनसम्म दशमुखे रुद्राक्ष जस्तो दुईजना अध्यक्षको व्यवस्था किन गरेकाे भने त्यो त एकताको निर्णय हो नि ?’ उनले प्रश्न गरे ।

पार्टीभन्दा ठूलो व्यक्ति हुन खोज्ने प्रवृत्तिले दुर्घटनामा पुर्याउँन सक्ने चेतावनी मन्त्री जम्मरकट्टेलले दिए । ‘प्रधानमन्त्री ज्यू पार्टीको अध्यक्ष हुनुहुन्छ, राम्रा कामको सम्मान गरेको छौं तर, सबै काम मैले नै गनुपर्छ म नै, सर्वपरी हो र म बाहेक हरु कोहि पनि हुँदैन भन्ने ढंगले हामीले बोल्न थाल्याैं भने पार्टीको के अर्थ हुन्छ, अरु नेताको के अर्थ हुन्छ ? अहिलेको समस्या कार्यविभाजन गरे जानुपर्यो भन्ने हो,’ उनले भने ।

प्रेस सल्लाहकार थापाले ओली टिका लगाएर अध्यक्ष नभएको र पूर्वपश्चिम उत्तर-दक्षिण फर्केर कुनै समस्याको समाधान नहुने जिकिर गरे । ‘महाधिवेशनमा जानुपर्छ बिचमा डिस्टर्व, समिकरण र चलखेल गर्ने काम बन्द गर्नुपर्यो,’ उनले भने । थापालाई रोक्दै जम्कट्टलले भने- ‘होइन समिकरण सबैले बनाउन कोशिष गरिएकाे घाम जत्तिकै छर्लङ्ग छ ।’ थापाले कुरा काट्दै भने- ‘विधान सबैले मान्नुपर्छ । प्रचण्ड कम्रेड लाई त सच्याउँनु होला । ओली बचनमा पक्का छन्,’ गल्ती प्रचण्डले गर्ने अनि आत्मलोचना प्रधानमन्त्रीले किन गर्ने ?’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *