कोरोना सङ्क्रमणबाट बच्न व्यक्ति आफै सतर्क हुन आवश्यक

विराटनगर । कोरोना सङ्क्रमणबाट बच्नका लागि व्यक्ति आफै सतर्क हुनु पर्ने सरोकारवालाहरूले बताएका छन् । प्रदेश १ सामाजिक विकास मन्त्रालयले मङ्गलवार विराटनगरमा आयोजना गरेको कोभिड १९ सम्बन्धी छलफल कार्यक्रममा सरोकारवालाहरूले व्यक्ति आफै सतर्क हुनु पर्नेमा जोड दिएका हुन ।

कार्यक्रममा बोल्दै प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेश १ मा पछिल्लो समय कोरोना सङ्क्रमणको दर वृद्धि भएको बताउँदै केही समयदेखि घटेको सङ्क्रमण पछिल्लो एक सातामा बढेर गएको र सङ्क्रमण बढेसँगै सचेतना आवश्यक रहेको बताए । व्यक्ति आफै सतर्क नभए सङ्क्रमण झन् बढेर जाने मन्त्री घिमिरेको भनाई छ ।

उनले कोरोना सम्बन्धी सतर्कता नअपनाउनेलाई कानुनको सहारा लिएर भए पनि सतर्कता अपनाउन लगाउनुपने बताए । उनले भने “लकडाउनले सङ्क्रमण नियन्त्रण हुने नदेखिएकाले व्यक्ति आफै सतर्क हुने समय आएको छ ।”

त्यस्तै जिल्ला समन्वय समिति  माेरङका प्रमुख नरेश पोखरेलले स्थानीय तहहरूले सार्वजनिक सेवा बन्द गर्दैमा सङ्क्रमण नियन्त्रणमा नआउने देखिएकाले सेवाग्राहीको रेकर्ड राखेर सेवा प्रवाह गर्नुपर्ने बताएका छन् ।

निजी अस्पताल सञ्चालकहरूको सङ्गठन (अफिन)का प्रदेश १ संयोजक डा. सुनिलचन्द्र अधिकारीले कोरोना सङ्क्रमणबाट जोगिनका लागि अनुशासन आवश्यक रहेकोमा जोड दिए । होम आइसोलेसनमा बस्न सक्नेहरूलाई त्यस्तो सुविधा सरकारले दिनुपर्ने उनको भनाई छ ।

कार्यक्रममा बोल्दै माेरङका प्रहरी प्रमुख एसपी सन्तोष खड्काले अनुशासनमा बस्न नसके सङ्क्रमण नियन्त्रणमा समस्या हुने बताएका छन् । उनका अनुसार सीमामा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रका संयोजक डा. डेनप्रसाद आचार्यले सङ्क्रमण बढेसँगै सरकारले सङ्क्रमितको उपचार गर्न नसक्ने भएकाले व्यक्ति आफै सचेत हुनुपर्नेमा जोड दिएका छन् ।

यस्तै सुनसरीको दुहवी नगरपालिकाका प्रमुख वेद गच्छदार, नेकपा माेरङगका नेता रामलाल साह, नेकपा महानगर कमिटी अध्यक्ष सागर थापा, नेपाली काँग्रेस विराटनगर कार्यबाहक सभापति अरुण न्यौपानेले प्रदेश सरकारले कोरोना परीक्षणको दायरा बढाउनुपर्ने सुझाव दिए ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख डा. सुरेश मेहता र विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले विराटनगरको कोरोना सङ्क्रमणको अवस्थाका बारेमा जानकारी गराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *