विषालु च्याउ खाँदा एकै परिवारका ४ को मृत्यु

जाजरकोट । जाजरकोटमा विषालु च्याउ खाँदा एकै परिवारका चारजनाको मृत्यु भएको छ । कुशे गाउँपालिका–१ स्याँक्रीका एकै परिवारका चार जनाको मृत्यु भएको हो । तीन बालबालिकाको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा मंगलबार र एक बालिकाको सोमबार गाउँमै मृत्यु भएको बताइएको छ ।

साउन ९ गते जंगलबाट च्याउ टिपेर घरमा ल्याइ पकाएर खाएका टेकबहादुर चलाउनेसहित परिवारका ८ जना गम्भीर बिरामी परेका थिए । बिरामीमध्ये टेकबहादुरकी १६ वर्षीया छोरी औसरा, १३ वर्षीया छोरी धनसरा र ११ वर्षीया नातिनी निरुताको उपचारको क्रममा मृत्यु भएको हो । टेकबहादुरकी ३ वर्षीया छोरी अञ्जनाको भने यसअघि सोमबार गाउँमै मृत्यु भएको थियो ।

विषालु च्याउ खाएर गम्भीर बिरामी सात जनालाई गाउँपालिकाले नेपाली सेनाको हेलिकोप्टर चार्टर गरी उपचारका लागि सोमबार नै सुर्खेत पुर्‍याएको थियो । बिरामीमध्ये एकजनाको अवस्था अझै गम्भीर रहेको र तीनजनाको अवस्था सामान्य रहेको बताइएको छ । टेकबहादुर चलाउने, उनका ३० वर्षीय छोरा ललिते र ३० वर्षीया बुहारी कल्पना र छोरी पशुपति चलाउनेको उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *