स्थायी कमिटि बैठक आजः ओलीविरुद्ध आक्रामक बन्ने रणनीतिमा प्रचण्ड-नेपाल समूह

काठमाडौं । पटक पटक स्थगित हुँदै आएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बोलाइएको हो ।

आजको बैठकले लामो समयदेखि जारी राजनीतिक गतिरोधलाई मूर्त रूप दिने अपेक्षा गरिएको छ तर, शीर्ष नेताबीच जारी विवाद भने अझै जस्ताको त्यस्तै छ । यो बीचमा शीर्ष नेताहरुबीच ‘वान टु वान’ वार्ता दोहोरीएता पनि कुनै निष्कर्ष निस्केको छैन ।

गत असार १० गतेयता ८ पटकसम्म स्थगित गरीएको नेकपा स्थायी कमिटी बैठक पछिल्लोपटक गत ६ गते केहि घण्टालाई सारेर फेरी एक सातापछि आजसम्मको लागि स्थगित गरीएको थियो । आज भने पार्टीभित्रको प्रचण्ड-नेपाल समूहले अध्यक्ष केपी शर्मा ओलीले नमाने पनि आजको बैठक नरोक्ने जनाएको छ ।

आक्रामक बन्ने रणनीतिमा प्रचण्ड-नेपाल समूह
पछिल्लो केहि दिनयता अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल एकजुट भएका छन् । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई थप दबाब दिन तीन नेता एकजुट भएका हुन् ।

अर्कोतिर, प्रधानमन्त्री केपी शर्मा ओली अहिले तत्काल आफ्नो अडानबाट पछाडि नहट्ने मुडमा पुगेका छन् । तर, यसलाई काउन्टर दिन प्रचण्ड समूहले तत्कालै बहुमतीय प्रणालीमा गएर निर्णय गर्ने सम्भावना पनि बढेको छ । प्रचण्ड-नेपाल समूह ओलीविरुद्ध आक्रामक बन्ने रणनीतिमा पुगेको हो ।

प्रचण्ड, नेपाल र खनाल यही अवस्थालाई थप कायम राख्न नहुने पक्षमा पुगेका छन् । खनालले त सोमबार सार्वजनिक रुपमा नै प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल सहमति नगरे बहुमतीय आधारमा गएर पार्टीले निर्णय गर्ने अभिव्यक्ति नै दिएका छन् ।

यद्यपी स्थायी कमिटीमा बोल्न बाँकी रहेका सदस्यहरुसँग चाहिँ पछिल्लो समय ओलीले व्यक्तिगत भेटघाट गरेका छन् । स्थायी कमिटी सदस्य र सरकारमा रहेका आफ्ना मन्त्रीहरुलाई एक्लाएक्लै भेट्दै प्रधानमन्त्री ओलीले आफ्नो पक्षमा सहमति जुटाउन थालेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *