खुमलटारको निष्कर्ष : ‘भोलिको स्थायी कमिटी बैठक कुनै हालतमा नरोकिने’

काठमाडौं । सत्तारुढ दल नेकपाभित्रको विवाद चलिरहेको बेलामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा आन्तरिक छलफल भएको छ ।

छलफलमा मंगलबार (भोलि)को स्थायी कमिटी बैठक नरोक्ने सहमति भएको खुमलटार श्रोले जनाएको छ । पटकपटक स्थगित हुँदै आएको बैठक भोलिका लागि भने नरोकिने सहमति भएको हो ।

पार्टीभित्रको विवाद चर्कंदै गएपछि सहमति खोज्नका लागि स्थगित गरेको बैठकपछिको सहमतिको प्रयासपनि असफल भएपछि बहुमतको आधारमा स्थायी कमिटीबाटै निर्णय गरेर अघि बढ्ने तयारी भएको स्रोतले जनाएको छ ।

सोमबार (आज) बिहान नेकपा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ, गृहमन्त्री रामबहादुर थापा बादलसँगै अन्य नेताहरुबीच भएको छलफलमा यस्तो सहमति भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको १४ असारको अभिव्यक्तिपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ । पार्टीलाई विधि र पद्धतिमा चलाउनका लागि ओलीले एक पद छाड्नैपर्ने दाहाल नेपाल समूहको माग छ ।

तर, प्रधानमन्त्री ओली दुवै पदबाट राजीनामा नदिने पक्षमा छन् । यही विवादलाई लिएर पार्टी फुटको संघारसम्म पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *