मेचीनगरमा कोरोनाको ‘मास टेस्टिङ’

झापा । समुदायमा कोरोना संक्रमण फैलिएको आशंकामा झापाको मेचीनगरमा आइतबारबाट ‘मास टेस्टिङ’ सुरु गरिएको छ । मेचीनगर नगरपालिका र जिल्ला स्वास्थ्य कार्यालय झापाले संयुक्तरुपमा पूर्वीनाका काँकडभिट्टाबाट ‘मास टेस्टिङ’ सुरु गरेको हो ।

पहिलो दिन कोभिड-१९ को परीक्षणका लागि ११७ जनाको स्वाब संकलन गरिएको नगरपालिकाका सामाजिक विकास समितिका संयोजक नवीन बरालले जानकारी दिए । गत शुक्रबार काँकडभिट्टामा कार्यरत २० जना सशस्त्र प्रहरीमा संक्रमण पुष्टि भएपछि मेचीनगरमा समुदायस्तरमा कोरोना फैलिएको आशङ्का गरिएकाे छ ।

आइतबार पहिलो चरणमा सशस्त्र प्रहरीको भन्सार राजस्व गुल्म काँकडभिट्टाका ३२ जना र स्वास्थ्यकर्मी, यातायात व्यवसायी, होटल व्ययसायी, पत्रकार र सर्वसाधारण गरी ८५ जनाको स्वाब संकलन गरिएको नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख शशीकला राईले जानकारी दिइन् ।

हालसम्म मेचीनगरमा ७० जनामा संक्रमणा पुष्टि भइसकेको छ भने ४६ जना निको भएकाे र २४ जना अझैसम्म विभिन्न कोभिड अस्पतालमा उपचाररत छन् । नगरपालिकाको सामाजिक विकास समितिका संयोजक बरालले ‘मास टेस्टिङ’लाई आगामी दिनमा जारी राखिने बताए ।

अर्को चरणमा धुलाबारी र चारआली बजार क्षेत्रमा ‘मास टेस्टिङ’ गरिने भएको छ । यसमा लाग्ने सम्पूर्ण खर्च नगरपालिका आफैँले व्यहोरेको जनाएको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *