इनफ इज इनफ अनशनः समाइरा र ईः भन्छन् -‘देश र जनताका लागि मर्न पनि तयार छाैँ’

काठमाडौं । नेतृत्व वर्गहरु कुर्सीको लुछाचुँडीमा छन् । दायित्व, कर्तव्यमा हिस्सेदारी नखोज्नेलाई सत्ताको हक भने बराबरी चाहिएको छ । जनता काेराेना महामारी र बाढी पहिराेकाे कहरमा राेग र भाेकले शाेकाइरहेकाे बेला देशकाे शासन सत्ता हातमा लिएर बसेकाहरू भने सिंहदरबार र बालुवाटार भित्रै रमाइरहेका छन् ।
सरकारको गलत कदमको खबरदारी गर्ने प्रतिपक्षीहरु ‘‘महिलाका खुला ढाड, तीजका ‘तीज विरोधी’ गीत, सिन्दुर पोतेसहितको महिला पत्रकारिता’’ लगायतका बिषयमा बहस चलाइरहेका छन् । अधिकांश युवाहरुको ध्यान सेलिब्रेटीको जिब्रो कहाँ–कसरी चिप्लेला र तीनीहरुको ट्रोल बनाउँला भन्नेतिर केन्द्रित छ । समाज सेवी, बुद्धिजिवी, अधिकारवादीहरूलाई ‘डलरे खेति’ गर्दैमा फुर्सद छैन ।
यस्ताे परिवेशमा आफ्नो हक अधिकारबारे जानकार रहेका केहि युवापंक्ति भने कोरोना भाइरस (कोभिड १९) महामारीमा आफ्नो दायित्व बिर्सिएको सरकारलाई बारम्बार झकझकाइ रहेका छन् । ती हुन् इनफ इज इनफ अभियानमा आबद्ध युवाहरु।
साेही अभियानकाे नेतृत्व गरिरहेका सामाजिक अभियान्ता ईः यतिबेला दाेस्राे अनशनमा छन् । उनीसँगै अनशनमा छिन् २१ वर्षीया समाइरा श्रेष्ठ । उनी याे अभियानमा जाेडिनुमा एउटा घटनाकाे ठुलाे हात छ….!
सामाजिक विषयमा ब्याचलर अध्ययन गर्दै गरेकी समाइरा लकडाउनकै एकदिन पत्रिका पल्टाउँदै थिइन्, देश/विदेशका घटना, गतिविधिबारे अपडेट लिन । नजर ठोक्कियो– ‘क्वारेन्टिनभित्रै एक महिलामाथि सामुहिक बलात्कार ।’
खबर पढि नसक्दै उनलाई निकै नरमाइलो लाग्यो । अझ सुरक्षाका लागि खटिएका व्यक्तिले नै त्यस्तो घिनलाग्दो कार्य गरेको भन्ने थाहा पाउँदा त भित्रभित्रै जलन भयो । खपिनसक्नुकाे रिस उठ्याे । सरकार र व्यवस्था प्रति आक्रोश बढ्यो ।
काठमाडौंको नयाँ बानेश्वर बस्दै आएकी दोलखाकी समाइराकाे त्यो एकल रिस र आक्रोशले गर्न सक्ने के नै थियो र, बस् एउटा कोठामा थुनिदियो । शान्ति खोज्न । छट्पटी मेट्न । जलनलाई शीतल पार्न । उनले आफूले आफैँलाई तीन दिनसम्म एउटा कोठामा थुनेर राखिन् । बाहिर निस्कन मन लागेन ।
त्यो आक्रोश कहीँ पोख्नु थियो । ती गलत कार्यको खबरदारी गर्नु थियो । तर कहाँ गएर गर्ने ? कसले सुन्ला एक्लो आवाज ? मनमा अनेक तर्क वितर्क चल्दै गर्दा उनले फेसबुकतिर एउटा अभियान देखिन् ‘इनफ इज इनफ’ , जसले सरकारलाई शान्त तवरले सचेत गराइरहेको थियाे । अभियानबारे थप जान्ने काैतुहलता मेटाउन उनी बानेश्वरबाट बसन्तपुर पुगिन्, जहाँ ई: सहितका केही युवाहरु तीन दिनदेखि अनशनमा थिए ।
त्यसपछि मिल्यो नागरिकको हकअधिकार, सुरक्षाका लागि लड्ने, खबरदारी गर्ने अवसर…।
सामाजिक अभियान्ता ईः को राष्ट्रप्रेम देखेर उनीमा पनि देशका लागि केही गर्नुपर्छ भन्ने भोक जाग्यो । अभियानको उद्देश्य तथा मागबारे बुझ्न गएको दिन उनी त्यहीँ बसिन् । भोलिपल्ट पनि बास त्यहीँ भयो । आज ६ दिन पुगिसकेको छ उनी खाना–पानी नखाई ईः सँगै सत्याग्रहमा बसेको ।
‘म तेस्रोलिंगी भएका कारण त्यो कुरा फिल गर्न त सक्दिन तर पनि क्वारेन्टिनमा भएकाे बलात्कारकाे त्याे घटनाले तीन दिनसम्म मलाई दुखाइरह्यो’, गैर नाफामुलक सामाजिक संस्थामा काम गरिरहेकी समाइरा भन्छिन्, ‘यहाँ आएपछि ती घटनाविरुद्ध शान्त तवरले खबरदारी गर्ने, सुरक्षित क्वारेन्टिनका लागि सरकारको ध्यानाकर्षण गराउने अवसर मिल्यो ।’
रह्यो प्रश्न ‘टायर बालेर, नाराजुलुस गरी विरोधमा उत्रिँदा त नसुन्ने सरकारले सत्याग्रहमा बसेर माग पुरा गरिदेला त ?’
‘मलाई थाहा छ, हामीले बनाएको सरकारले तोडफोड नगरी सुन्दैन । तर म शान्ति प्रेमी छु । मौनतामै पनि हजार विद्रोह हुन्छन् । विश्वास छ कि एक दिन हाम्रो माग पुरा हुनेछ । मैले मेरो ज्यान गुमाएर देश र जनताका लागि केही हुन्छ भने म मर्न पनि तयार छु’, केही क्षणको मौनता तोड्दै उनी भावुक सुनिइन् ।
परिवार भने उनको निर्णयबाट खुशी छैनन् । अनशन बस्दै गर्दा परिवारले एउटा प्रश्न तेर्साएका थिए– ‘जुन समाजले तिमीलाई तिम्रो पहिचानसहित स्वीकार्न सक्दैन, त्यही समाजका लागि तिमी किन यो सब् गरिरहेकी छौ ?’
उनको सामान्य जवाफ थियो– ‘हामीले नगरे कसले गर्छ !’
किनकी उनलाई युवाको भन्दा पनि वृद्धवृद्धा र बालबालिकाको चिन्ता थियाे । उनी भन्छिन्– ‘कोरोनाले बालबालिका र वृद्धवृद्धाको जीवन जोखिममा छ । म यो सबै उहाँहरुकै लागि गरिरहेकी छु जसको हाँसो र खुशीले मलाई ऊर्जा दिन्छ ।’
पछिल्लो समय भने उनको स्वास्थ्यमा समस्या देखिन थालेको छ । स्लाइन चढाइएको छ । तर पनि उनले हार मानेकी छैनन्, ‘हामी जोखिम मोलेरै अनशन बसिरहेका छौँ । चिकित्सकका अनुसार हाम्राे शरीरकाे विभिन्न अंगहरूमा नकारात्मक असर देखिन थालेकाे छ । तर यहाँ धेरैको माया पाएका छौँ जसले हामीलाई थप हौसला र शक्ति दिएको छ । मलाई ज्यान गुम्ला भनेर डर पनि छैन ।’
दोस्रो अनशनले पाटनमा बसेको पहिलो अनशनको जति समर्थन भने नपाएको उनी बताउँछिन् । युवाहरुले भने सामाजिक सञ्जाल, म्यासेजबाट पनि एक्यबद्धता जनाइरहेका छन् । कति भेट्न गइरहेका छन् त कति खबरदारीमा सक्रिय रुपमा लागेका छन् । ‘पहिले भन्दा समर्थन र साथ त कमै पाएका छाैँ तर, जतिले साथ दिनुभएकाे छ हामीलाई इनफ छ । जबसम्म सरकारले पारदर्शिता देखाउँदैन, हाम्रा मागहरू पुरा गर्दैन तबसम्म अनशन जारी राख्छौँ ।’
ईः सहितका युवाहरुले कोभिड–१९ को सबल व्यवस्थापनको माग राख्दै ललितपुरको कृष्ण मन्दिर परिसरमा पहिलाे अनशन सुरू गरेका थिए । अनशन बसेकाे १२ दिनपछि स्वास्थ्य मन्त्रालय र सत्याग्रहमा बसेका अभियन्ताबिच मागहरू पुरा गर्नेबारे १२ बुँदे सहमति भएको थियो ।
सहमतिको १२ दिन बित्दा पनि स्वास्थ्य मन्त्रालयले सहमति कार्यान्वयनका लागि पहल नगरेपछि साे अभियानका अभियान्ताले पुनः अनशन थालेका हुन् । ‘पारदर्शीताकाे कुरा पनि हाम्राे मुख्य माग हाे । जीवनमरणकाे विषयमा अर्बाैँ रूपैयाँ खर्च भएकाे भनिएकाे छ तर, सुधार कतै छैन । न त सुरक्षा नै । जनताकाे स्वास्थ्यमाथि दिनदहाडै खेलवाड गरिएकाे छ । यस्ताे नहाेस् भन्नका लागि सरकारलाई सचेत गराउन हामीले अनशन सुरू गरेका हाैँ’, अभियान्ता ईः ले भने ।
अहिले अभियान्ता ईः काे स्वास्थ्यमा पनि समस्या देखिन थालेकाे छ । उनी भन्छन्– ‘कमजाेरी बढेकाे छ । कुनैपनि बेला स्वास्थ्य तलमाथि हुन सक्ने जाेखिम छ । तर सरकारले माग पुरा नगरेसम्म अनशन ताेड्दिन ।’ उनी दृढ हुँदै भन्छन् – ‘हामीले उठाएका माग पुरा नभए जनतालाई मात्रै हाेइन सरकारलाई पनि घाटा हुन्छ । सरकार यसतर्फ सचेत हुनुपर्छ ।’ उनले अनशन सुरू गरेकाे आज ९ दिन पुगिसकेको छ ।
यी हुन् मागहरूः
१. पीसीआर परीक्षणको दायरा वृद्धि
२. भएका स्रोतसाधनको प्रयोग
३. कन्ट्याक्ट ट्रेसिङ
४. चाँडो नतिजा ।
५. क्वारेन्टिन रणनीति सुधार ।
६. घर पठाउनुअघि परीक्षण ।
७. कोभिड १९ को सन्दर्भमा सर्वोच्च अदालतबाट जारी भएको आदेशहरुको कार्यान्वयन ।
८. अग्रपंक्तिमा खटिएकाहरुको सुरक्षा ।
९. विज्ञ सुझाव समिति गठन ।
१०. राहत र सुरक्षा ।
११. पारदर्शिता र जवाफदेहिता ।
१२. स्वास्थ्य क्षमता वृद्धि ।
१३. जोखिमको जानकारी ।
१४. अधिकारको रक्षा ।
याे अभियानमा जाेडिएका अभियान्ताहरूले स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरूपयाेग अनुसन्धान आयोगमा आज (आइतबार) पुनः उजुरी समेत दिएका छन् । कोरोना भाइरस संक्रमितको उपचारका लागि सरकारले खरिद गरेको स्वास्थ्य सामाग्रीमा भ्रष्टाचार भएको भन्दै युवाहरूले अर्थसचिव, अर्थमन्त्री लगायतविरुद्ध छानविन गरी अनुसन्धान तथा कारवाहीका लागि आयोगमा पुनः उजुरी गरेका हुन् । यसअघि पनि उनीहरूले स्वास्थ्यमन्त्रीविरुद्ध उजुरी दर्ता गराएका थिए ।
उजुरी पत्रः


इनफ इज इनफका अभियान्ता र सरकारबीच पहिलाे अनशनका क्रममा भएकाे १२ बुँदे सहमतिः










