‘नेकेड एथेना’, जो निर्वस्त्र सडकमा प्रदर्शन गर्छिन्

एजेन्सी । हावामा टियर ग्यासको धुवाँ रिङमिगिएको थियो । प्रदर्शनकारीहरू धुवाँ छल्न बीच सडकबाट लाखापाखा लाग्छन् ।

त्यही बेला एक युवती धुवाँ चिर्दै सडकमा देखा पर्छिन् र निर्लज्ज प्रहरीतिर बढ्छिन् । छरिएका प्रदर्शनकारी छक्क पर्छिन् । अलि पर उभिएका प्रहरीले पनि केही कारबाही गर्न सक्दैनन् ।

माथि उल्लिखित दृश्य अमेरिकाको पश्चिम तटीय शहर पोर्टल्यान्डमा गत शनिबार राति भएको प्रदर्शनको एउटा अंश हो । बीच सडकमा एक्लै सुरक्षाकर्मीको सामना गर्न तयार ती युवतीले आफ्नो साहसका कारण मात्र सबैको ध्यान तानेकी थिइनन् ।

उनले सबैलाई चकित पार्नुको अर्को कारण पनि थियो । ती युवती बिल्कुलै नग्न अवस्थामा थिइन् । उनले शिरमा कालो टोपी र मुखमा कालो मास्कबाहेक अरू कुनै कपडा लगाएकी थिइनन् ।

शनिबार मध्यरात १ः४५ बजे उनी यही अवस्थामा दर्जनौं सुरक्षाकर्मीसामु यसरी उभिइन्, मानौं उनी अमेरिकामा जारी विद्रोहकी प्रतीक हुन् । उनको तस्वीर र भिडियो ट्वीटरलगायत् सामाजिक सञ्जालहरूमा यत्रतत्र देखिए ।

पछिल्लो समय अमेरिकामा जातीय विभेद लगायत जोखिमपूर्ण समूहको मुद्दा उठाएर देशव्यापी प्रदर्शन भइरहेको छ । शारीरिक रूपले नग्न र शान्त हाउभाउमा प्रस्तुत भएकी ती युवतीलाई त्यसैको प्रतीकका रूपमा हेरिएको छ ।

उनी केही बेर सुरक्षाकर्मीसामु शान्त मुद्रामा ठिंग उभिएकी थिइन् । त्यसपछि उनलाई सुरक्षाकर्मीको आक्रमणबाट बचाउन एक प्रदर्शनकारी युवकअघि सर्छन् ।

उनी ती युवतीलाई छेक्दै अगाडि–अगाडि हिँड्छन् । युवती भने आफूलाई छेक्न आउनेलाई नै पन्छाउँदै छेउ लाग्छिन् । कुनै उद्देश्य निम्ति सार्वजनिक स्थलमा नग्न प्रस्तुत हुनुलाई पोर्टल्यान्डमा राजनीतिक अभिव्यक्तिको माध्यमका रूपमा लिइन्छ ।

यसलाई अमर्यादित व्यवहार मानिँदैन । सन् २००८ मा यसैगरी नग्न साइकल यात्रा गरिएको थियो । त्यति बेला काउन्टी न्यायाधीशले यसलाई ‘सांकेतिक प्रदर्शन’ मान्दै पोर्टल्यान्डको निम्ति यो स्थापित प्रचलन भएको व्याख्या गरेका थिए ।

त्यसको चार वर्षपछि पोर्टल्यान्ड अन्तर्राष्ट्रिय विमानस्थलमा एक व्यक्ति नग्न अवस्थामा पक्राउ परे । उनी यातायात सुरक्षा विधिको विरोध गरिरहेका थिए । मुद्दा सुनुवाइ क्रममा न्यायाधीशले ‘प्रदर्शनको वैधानिक विधि’ भन्दै उनलाई मुक्त गरे ।

शनिबार मध्यरात त्यसरी नै नग्न अवस्थामा सुरक्षाकर्मीसामु उभिएकी युवतीलाई पनि पोर्टल्यान्डको प्रचलित मान्यताअनुरूप ‘सांकेतिक विरोध’ का रूपमा लिइएको छ ।

ती युवतीले सुरक्षाकर्मीकै अगाडि नग्न अवस्थामा योगका विभिन्न आसन प्रस्तुत गरेकी थिइन् । उनले केही बेर एउटा खुट्टाको भरमा उभिँदै आफ्ना दुवै हात हावामा उचालेकी थिइन् ।

ब्याले नर्तकीले झैं विभिन्न मुद्रामा शरीर घुमाएर देखाएकी थिइन् । त्यस्तै, सुरक्षाकर्मीतर्फ मुख फर्काएर सडकमा थुचुक्क बस्दै आफ्ना दुवै खुट्टा फैलाएकी थिइन् ।

झन्डै १५ मिनेटसम्म सडकमा विभिन्न हाउभाउ प्रस्तुत गरेपछि उनी केही बेर शान्त मुद्रामा उभिइन् । सुरक्षाकर्मीहरूको समूह त्यहाँबाट फर्किएपछि उनी पनि चुपचाप प्रदर्शनकारीको भीडमा अलप भइन् ।

ती युवतीको परिचय खुलेको छैन । उनलाई सामाजिक सञ्जालहरूमा ‘नेकेड एथेना’ भनेर परिचय गराइएको छ । पोर्टल्यान्डबाट प्रकाशित हुने अखबारहरूले आफ्नो वेबसाइटमा ती युवतीको विवरण प्रकाशित गरेका छन् ।

ओरेगन लाइभले फोटोग्राफर डेभ किलेनलाई उद्धृत गर्दै भनेको छ, ‘उनी भीडबाट चुपचाप प्रकट भइन् र चुपचाप भीडमा हराइन् । त्यसबीच उनले एक शब्द बोलेको सुनिएन ।’

श्रोतः लस एन्जेल्स टाइम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *