कोरोना परीक्षण दर बढाउन सरकारले खरिद गर्यो ७ वटा ‘आरएनए एक्ट्रयाक्सन’ (रि-एजेन्ट) उपकरण

काठमाडौं । सरकारले कोरोना परीक्षणको दर घटाएर ७ वटा ‘आरएनए एक्ट्रयाक्सन’ (रि-एजेन्ट) उपकरण खरिद गरेको छ। ‘आरएनए एक्ट्रयाक्सन’ खरिद गरेसँगै अब प्रयोगशालाहरूले मेसिनको प्रयोगबाट आफ्नो परीक्षण क्षमतालाई दोब्बर बनाउन सक्ने भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणको दर घटाएर १३ करोड रुपैयाँमा स्वास्थ्य परीक्षण उपकरण खरिद गरेको हो । स्वास्थ्य सेवा व्यवस्थापन महाशाखाका अनुसार दुई करोडको पिसिआर परीक्षण गर्ने अटोमेटिक आरएनए एक्स्ट्राक्सन मेसिन सात वटा र १० करोड ९९ लाख रुपैयाँको सो उपकरणलाई मिल्ने पाँच लाख किट खरिद गरिएको छ ।

स्वास्थ्य सेवा विभागका व्यवस्थापन शाखा प्रमुख रमेशप्रसाद खरेलले ७ वटा उपकरण आइपुगेको बताउँदै अब उपकरणको गुणस्तर जाँच गरेर तत्कालै तोकिएका प्रयोगशालाहरूमा पठाइने जनाए।

सात वटा उपकरण प्रत्येक प्रदेशमा एकरएक वटा पठाइने छ। जसमा धनगढी, सुर्खेत, नेपालगञ्ज, पोखरा, धुलिखेल, वीरगन्ज र विराटनगरलाई वितरण गरिने विभागको तयारी छ।

चीनको मेन्जिङजोङ्के बायोमेडिकलले यो आरएनए एक्स्ट्राक्सनले उत्पादन गरेको उपकरण नेपालमा मेड्ट्रोनिक्स नेपाल प्रा.लि.ले खरिदको जिम्मा पाएको थियो । यो मेसिनले एक घन्टाभित्र ९६ नमुना परीक्षण गर्ने बताइएको छ । अहिले चल्तीमा रहेका उपकरणबाट आरएनए एक्स्ट्राक्सन गर्न चारदेखि पाँच घन्टासम्म समय लाग्ने गर्दथ्यो ।

अब यो मेसिनबाट उक्त प्रयोगशालाहरूले आफ्नो परीक्षण संख्या दोब्बर पुर्‍याउन सक्छन्। मेसिनले स्वाबमा भएको (आरएनए) लाई छोटो समयमै आफैं छुट्याउने गर्छ।

कहाँ कहाँ जान्छ उपकरण
स्वास्थ्य मन्त्रालयले खरिद गरेको नयाँ उपकरण १ नं. प्रदेशको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, २ नंं प्रदेशको नारायणी अस्पताल वीरगन्ज, गण्डकी प्रदेशको प्रादेशिक प्रयोगशाला पोखरा, ५ नं. प्रदेशको भेरी अस्पताल नेपालगन्ज, कर्णाली प्रदेशको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सुर्खेत र सुदुरपश्चिमको प्रादेशिक प्रयोगशाला धनगढीमा पठाइने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले बताए ।

यो उपकरण टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र उपलब्ध रहेको छ। टेकुले दैनिक १ हजार बढी स्वाबको परीक्षण गर्दै आएको छ। भने, यो उपकरण नभएका अन्य प्रयोगशालाहरूले अहिले दैनिक २ सय ५० जनाको स्वाब परीक्षण गर्दै आएका छन्। नयाँ उपकरण सुचारू भएपछि देशका ७ वटा प्रयोगशालाहरूले त्यो संख्यालाई ५ सयमा पुर्‍याउन सक्ने बताइएको छ ।

यस्तै, परीक्षणको लागि चाहिने ‘आरएनए’ किट पनि ३ लाख थान आइपुगेको विभागले जनाएको छ। आवश्यक अनुसार थप किट खरिद गरिने विभागले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *