‘शिर्ष नेताहरुको झगडामा पार्टी समाप्त पार्ने कार्य स्विकार्य छैन’

इटहरी । सत्तारुढ नेकपाभित्रको आन्तरिक विवादले नेपाली कम्युनिस्टहरुलाई आघात पुगेको नेताहरुले बताएका छन् । उनीहरुले पार्टीका शिर्ष नेताहरु विचको झगडा र कलहमा पार्टी नै फुटाउने खेल आफुहरुलाई स्विकार्य नहुने समेत बताए ।

कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको ४२ औं स्मृति दिवसमा इटहरीमा आयोजित कार्यक्रममा बोल्दै नेकपा सुनसरी जिल्ला इन्चार्ज धर्म निरौलाले मुलुकको विकास र कम्युनिस्ट सिद्धान्तलाई स्थापित गर्नको लागी पार्टीभित्रको आन्तरिक विवाद मिलाएर लैजानु पर्ने बताउँदै पार्टी फुटाउने खेल भए आफुहरुलाई स्विकार नहुने बताए ।

‘स्वर्गिय पुष्पलाल श्रेष्ठले वर्गिय, जातिय, क्षेत्रिय लैङिगक विभेदको अन्त्यका लागि आफ्नो सारा जीवन अर्पण गर्नुभएको थियो, विगतमा उहाँहरुले गरेको त्याग र संघर्षबाट प्राप्त उपलब्धीलाई संस्थागत गरेर जानुपर्नेमा हामीहरु आन्तरिक कलहमै अल्झिइरहेका छौं ।’ उनले भने । निरौलाले नेकपा भित्रको आन्तरिक विवाद मिलाएर मुलुकको विकासमा कम्युनिस्टहरु लाग्नुपर्ने बताए ।

कार्यक्रममा बोल्दै विशिष्ट अतिथि नेकपाकी केन्द्रीय सदस्य भगवती चौधरीले नेपालमा कम्युनिस्ट विचारधारा स्थापित गर्न पुष्पलाल श्रेष्ठको महत्वपूर्ण भूमिका रहेको स्मरण गर्दै अहिलेका नेताहरुले पुष्पलालको कदर गर्न नसकेको बताइन् ।

राणा र पञ्चायत शासनलाई समाप्त पार्न पुष्पलाल श्रेष्ठले आफ्नो जीवन नै अर्पण गरेको स्मरण गर्दै नेतृ चौधरीले बर्तमान कम्युनिस्ट नेताहरुले विगतको इतिहासलाई भुलेको बताइन् । ‘२००६ सालमा कम्युनिस्ट पार्टी स्थापना गर्न पुष्पलालले धेरै संघर्ष र त्याग गर्नुभएको छ । उहाँको सारा जीवन नै कम्युनिस्ट पार्टी र मुलुकको लागि खर्च भएको छ । यसलाई बर्तमान नेतृत्वले भुल्न हुँदैन ।’

पूर्वराज्यमन्त्री समेत रहेकी नेतृ चौधरीले पछिल्लो समय पार्टीका शिर्ष नेतृत्वमा देखिएको विवादले पार्टी र देशलाई नै घाटा भइरहेको तर्फ नेताहरुलाई सचेत गराइन् । उनले सरकार सञ्चालन गर्नेले पनि पार्टीको निर्देशन मान्नु पर्ने तथा पार्टी सञ्चालन गर्नेले पनि सरकारलाई उचित मार्गनिर्देश गर्न सक्नुपर्ने औंल्याइन् । ‘दशकौं पछि मुलुकमा स्थायी सरकार गठन भएकोमा पार्टीले सरकारलाई उचित सल्लाह दिएर जानुपर्छ भने, सरकारमा रहेकाले पनि पार्टीको निर्देशन अनुसार काम गर्नुपर्छ । दुवै तर्फबाट कमीकमजोरी भए ।’ नेतृ चौधरीले बताइन् ।

उनले चीनमा सरकार सञ्चालनमा पार्टीले निर्देश गरे जस्तै नेपालमा त्यहि मोडालिटीमा गए समस्या नआउने बताइन् । पार्टी नेतृत्व मिलेर जानुपर्ने सुझाउँदै फुटको राजनीतिले कसैलाई लाभ नहुने नेतृ चौधरीको तर्क छ । चौधरीले नेपाली समाज अनुसार समाजवादलाई पुर्णता दिनपनि पार्टी एकढिक्का भएर जानुपर्ने बताइन् । उनले शिर्ष नेताहरु विचको झगडामा पार्टीलाई नै समाप्त पार्ने खेल आफुहरुलाई स्विकार्य नभएको पनि बताइन् ।

पुष्पलाल स्मृति प्रतिष्ठान इटहरी, सुनसरीका अध्यक्ष केशब बस्नेतको अध्यक्षतामा आयोजित कार्यक्रममा नेकपा सांसद रामकुमारी झाँक्री, नेकपा जिल्ला सहइन्चार्ज निर्मल बराल लगायतले नेपाली कम्युनिस्ट आन्दोलन र समाजवाद स्थापनामा स्वर्गिय पुष्पलाल श्रेष्ठको योगदानको चर्चा गरेका थिए । कार्यक्रममा बृक्षरोपण समेत गरीएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *