पुष्पलालको सपना साकार पार्ने बाटोमा महत्वपूर्ण काम गरेका छौँः प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालकाे अगुवाईमा कम्युनिस्ट आन्दोलनको संस्थागत थालनी भएको बताएका छन् ।
आज (बुधबार) महासचिव पुष्पलालको ४२ औं स्मृति दिवसका अवसरमा विज्ञप्ति जारी गर्दै प्रम ओलीले कम्युनिस्ट आन्दोलनको संस्थागत थालनीदेखि राजनीतिलाई मार्गदर्शन गर्ने विचार, दर्शन र संगठनको स्थापना भएको बताएका हुन् ।
उनले भनेका छन्, ‘विचारका हिसाबले नेपाल कुन अवस्थामा छ, नेपालमा गर्नुपर्ने के हो र कसरी अगाडि बढ्ने भन्ने व्यवस्थित वैचारिक मार्गदर्शन अघि सार्दै पुष्पलालले सामन्तवादको अन्त्य र गणतन्त्रको स्थापनालाई राजनीतिक उद्देश्य बनाउनुभयो । साथसाथै पार्टीलाई सामाजिक न्याय, समानता र देशभक्तिपूर्ण आन्दोलनको पर्यायका रुपमा अघि बढाउनुभयो ।’
साथै प्रम ओलीले कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सद्वारा लिखित विश्वप्रसिद्ध कम्युनिस्ट घोषणा पत्रका प्रथम नेपाली अनुवादक, नेपाली कम्युनिस्ट आन्दोलनका संस्थापक नेता, बाम–लोकतान्त्रिक संयुक्त जनआन्दोलनका वैचारिक प्रणेता पुष्पलालप्रति श्रद्धासुमन अर्पण पनि गरेका छन् । पुष्पलालले विचार, दर्शन र सामाजिक मूल्य मान्यताको तहबाट एउटा नयाँ वास्तविक सम्पूर्ण रुपमा क्रान्तिकारी, परिवर्तनकारी, वैज्ञानिक विचार प्रारम्भ गरेको उनको भनाइ छ ।
‘यो नेपाली राजनीतिमा पुष्पलालको पहिलो योगदान हो । उहाँले विचारलाई विचारको रुपमा मात्रै होइन, व्यवहारमा प्रयोग गर्न संगठन चाहिन्छ भनेर संगठन निर्माण गर्नुभयो’, प्रम ओलीले भने, ‘ बाम–लोकतान्त्रिक आन्दोलन र रुपान्तरणका व्यवस्थित विचारमा पुष्पलालसँग समकालीन नेताहरुमध्ये अरु कसैको तुलना हुन सक्दैन, चाहे ती जुनसुकै राजनीतिक धारका होउन् । यो नेपालको बाम लोकतान्त्रिक आन्दोलनमा पुष्पलालको श्रेष्ठ पक्ष हो ।’
पुष्पलालको सपना साकार पार्ने बाटोमा महत्वपूर्ण काम गरेको पनि उनले बताए । विभाजित कम्युनिस्ट आन्दोलन एकताबद्ध, राष्ट्रव्यापी र मजबुत भएको स्पष्ट पार्दै उनले पार्टीले करिब दुई तिहाई बहुमतका साथ प्रमुख स्थान हासिल गरेको बताए । ‘पुष्पलालको जुन सांगठनिक राजनीतिक चाहना थियो, त्यो आज हामीले धेरैहदसम्म पूरा गरेका छौं’, उनले भने ।
देशलाई समृद्ध बनाउने साधन पार्टी भएको र पार्टीलाई बलियो बनाउँदै देशलाई समृद्ध र नागरिकलाई सुखी बनाउन यतिबेला हामी एकताबद्ध भएर अघि बढ्नु अपरिहार्य रहेको प्रम ओलीको भनाइ छ ।








