‘राष्ट्रपतिकै कारण गरिमामय पद ‘रिमामय’ भयो’ कांग्रेस नेता खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसांसद रामहरि खतिवडाले सत्तारुढ नेकपा भित्रको कलह मिलाउन राष्ट्रपति जस्तो तटस्थ संस्था सक्रिय हुनु लोकतन्त्रकै लागि खतरा भएको बताएका छन् ।

ओखलढुंगाका पूर्व सांसद खतिवडाले राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा विद्यमान संकट ब्यवस्थापन गर्न सबै दलहरुलाई एकै स्थानमा बोलाएर छलफल चलाउनु पर्नेमा एउटा दलको विवाद मिलाउन सक्रिय रहँदा लोकतन्त्र नै गुम्ने होकी भन्ने आशंका उब्जिएको बताए ।

मकालु खबरसँग कुरा गर्दै कांग्रेस नेता खतिवडाले भने–‘राष्ट्रपति भनेको सम्मानीत सबैको साझा पद हो तर, सम्मानीय राष्ट्रपति ज्यूको कृयाकलाप एउटा दल विशेषको लागि मात्र देखियो, उहाँ नेकपाको मात्रै राष्ट्रपति होकि भन्ने आशंका उब्जियो ।’
दिनै पिच्छे राष्ट्रियताका विषयमा ठूल्ठूला विषयहरु चर्किरहेको, विपत्तिबाट जनता र देश आक्रान्त भएको बेला राष्ट्रपति जस्तो सम्मानीत पदमा बसेको व्यक्तिले एउटा दलको विवाद मिलाउन लाग्नु लज्जाको विषय भएको खतिवडाको तर्क छ ।

विपत्तिलाई कसरी कम गर्न सकिन्छ, देशको आर्थिक अवस्था भोली कता जाँदैछ, रोजगारीका अवसरहरु गुम्दै गएका छन्, नयाँ अवसरहरु खोल्न सकिएन, उद्योगधन्दा हरु खोल्न सकिएन, होटल ब्यवसाय, पर्यटन व्यवसाय बन्द छ, विदेशी दाताहरुले पनि सहयोग गर्ने अवस्था छैन, कुटनीतिक नियोगहरु कसरी छलफल गरेर नेपाललाई आर्थिक रुपमा सम्पन्न बनाउने जस्ता विषयमा छलफल गर्नु पर्नेमा राष्ट्रपतिले सत्तारुढ दल र तिनका शिर्षस्त नेताहरुको विषयमा खोजिनीति गरेर बसेको खतिवडाको भनाई छ ।

‘केपी ओलीले भात खान छोडेकि, खादैछन् ?, चिया खाए खाएनन्, प्रचण्डले दुध खाएकी कर्न फ्लेक्स खाए, माधव नेपालले दुध हालेको चिया खाएकी कालो चिया खाए ? यस्ता विषयमा राष्ट्रपतिको छलफल हुन थाल्यो भने मुलुक कहाँ जान्छ ?’ खतिवडाले प्रश्न गरे ।

उनले राष्ट्रपति गरिमामय पद भएपनि विद्यादेवी भण्डारीका कृयाकलापले राष्ट्रपतिको गरिमा घटेको जिकिर गरे । ‘यो गरिमामय पद थियो, उहाँकै कारणले ‘रिमामय’ भयो ।’ खतिवडाले कटाक्ष गरे ।

देशलाई बनाउने सवालमा प्रधानमन्त्री समेत गम्भिर नभएको नेता खतिवडाको भनाई छ । ‘प्रधानमन्त्रीको समेत त्यहि ताल छ, को कता ढुलमुले अरे, कोही न महान राष्ट्रवादी न महान दलाल रे, प्रधानमन्त्रीका यस्ता अभिव्यक्ति समग्र देशका लागि जनताका लागि अफाप सिद्ध भयो ।’

नेता खतिवडाले कम्युनिस्टहरुको झगडाबाट मुलुक र जनताले मुक्ति पाउनुपर्ने बेला भएको समेत बताए । ‘तपाईहरुको झगडा अत्ति भो, अब सहन सक्ने र देशले थेग्न सक्ने अवस्था छैन । सांसद मन्त्रीहरुलाई विभिन्न वहानामा तलब भत्ता खुवाएर राख्ने देशलाई दुर्गति बनाउने ?’ उनले भने ।

देशका नाममा केही नगर्ने आफ्नो पार्टी र आफ्नो स्वार्थमा मात्र केन्द्रीत भएर कम्युनिस्टहरुले देश र जनताका लागि हैन आफ्नो स्वार्थका लागि मात्र काम गरेको प्रमाणित भएको तर्क गरे ।

विपद व्यवस्थापनमा सरकार उदासिन रहेको पनि खतिवडाको आरोप छ । मौसमविद्हरुले दिनदिनै विपद्को जानकारी दिइरहेको भएपनि सरकारले विपद् व्यवस्थापनको तयारी नगरेको बरु विपद् व्यवस्थापन, उद्दार र राहतको नाममा हेलीकप्टर चढेको विल भर्पाई बनाएर खाउँ भनेर मन्त्रालयका मान्छेहरु बसेको उनको भनाई छ ।

उनले कोभिड–१९ महामारीको विषयमा समेत सरकारले केही नगरेको जिकिर गरे । खतिवडाले आफ्नै जिल्लामा एउटा आयोजना सम्पन्न गर्न २५ जना भारतीय मजदुरहरुलाई ल्याउँदा कतै आरडिटी र पिसिआर नगरी जिल्ला छिराइएकोमा जिल्लामा परीक्षण गर्दा १५ जनामा कोरोना भेटिएको स्मरण गर्दै भने–‘२५ जना भारतीय मजदुरलाई आयोजना सम्पन्न गर्न ल्याइयो, कहिँ कतै आरडिटी पिसिआर टेस्ट गरीएन । जिल्लामा ल्याएर गराउँदा १५ जनामा कोरोना देखियो, तिनीहरुलाई रातारात फर्काउनु पर्यो ।’

मुलुकमा कोरोना संक्रमण समुदायमा फैलन नदिन सरकारले सजगता अपनाउनु पर्नेमा सरकार नै संक्रमण फैलाउने काममा लागेको उनको तर्क छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *