नेकपा विवाद: व्यर्थै बित्यो तीन साता, अझै जुटेन सहमति

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा स्थायी कमिटी बैठकबाट सुरु भएको विवाद अझै साम्य हुन सकेको छैन । १० असारदेखि शुरु भएको स्थायी कमिटी बैठकमा बहुमत सदस्यहरुले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि विवाद सुरु भयो ।
त्योसँगै चुलिएको शक्तिसंघर्षले नेकपा विभाजन हुनलागेको चर्चासमेत चल्यो । नेकपाकै नेताहरुले पार्टी फुटको संघारमा पुगेको चर्चा गरे । पार्टी विभाजन रोक्न भन्दै केन्द्रदेखि जिल्ला तहसम्म नेता–कार्यकर्ताको सक्रियता बढ्यो ।
प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट आफूले राजीनामा नदिने अडान ओलीले नछोडेपछि पटक–पटक भएका वार्ता र छलफल बिना निष्कर्ष टुंगिदै आएका छन् । विवाद सुुरु भएको तीन साताभन्दा बढी समय बितेको छ तर, यो समयमा भएका छलफल व्यर्थप्रायः भएका छन् ।
महाधिवेशनको चर्चा अलमलमा प्रचण्ड-नेपाल
प्रधानमन्त्री ओलीले सचिवालय सदस्यहरुसँग राखेको नयाँ प्रस्तावले नेकपामा नयाँ ट्विस्ट सिर्जना गर्यो । राजीनामा मागलाई तत्कालको लागि पन्छाउन ओलीले नयाँ तुरुप प्रयोग गरेको कतिपयको बुझाइ छ ।
यसअघि यो महाधिवेशन यो वर्षको अन्त्यमा गर्ने केन्द्रीय कमिटी बैठकले निर्णय गरेको थियो । प्रधानमन्त्री ओलीले अहिले आफूले दुवै पद छोड्न नहुने भन्दै सचिवालय बैठकमा यो प्रस्ताव ल्याए । सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको यो प्रस्ताव आउला भन्ने सायदै प्रचण्ड–नेपालले अनुमान गरेका थिए ।
उनीहरुले अनुमान गरेभन्दा फरक प्रस्ताव आएपछि उनीहरुले यसबारे कुनै कुरा सचिवालय बैठकमा नगरेको र छलफल गर्न सकिने बताएको एक सचिवालय सदस्यले जानकारी दिएका छन् । तर, आज बसेको बैठकमा नेकपा नेता नेपालले प्रधानमन्त्री ओलीले बारम्बार नयाँ प्रस्ताव ल्याउने तर कार्यान्वयनमा नजाने भन्दै यसको आलोचना गरेका थिए ।
आइतबारको छलफलमा पनि जुटेन सहमति
प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच आइतबार भएको साढे दुई घन्टाको बैठक निष्कर्षविहीन सकियो । बालुवाटारमा सवा चार बजेदेखि बसेको बैठकमा दुवै नेताले पुरानै अडान कायम राख्दा सममति नजुटेको हो ।
पार्टीभित्रको तीव्र विवादपछि प्रधानमन्त्री ओलीले मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव ल्याएको र अध्यक्ष पुष्पकमल दाहालको पनि सहमति भएको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष रुष्ट बनेको थियो । तर, आइतबार बिहान प्रधानमन्त्री ओलीसँग अधिवेशनको विषयमा कुनै सहमति नभएको बताएपछि नेता नेपाल पक्ष आश्वस्त बनेको छ ।
पार्टीभित्रका विवादको कारणको कारणले असार १० गतेबाट चलेको स्थायी कमिटी बैठक आजसम्म आइपुग्दा ७ पटक स्थगित भइसकेको छ । साउन ६ गतेको लागि बैठक बोलाइएको छ । नेकपामा कलहको असर कोरोना संक्रमणको महामारी रोकथाम र नियन्त्रणमा मात्र परेको छैन, देश नै बन्धक हुने अवस्था देखापरेको छ ।
शंकर पोखरेलको प्रश्न
प्रदेश ५ का मुख्यमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका नेता शंकर पोखरेलले नेताहरुको पछिल्लो गतिविधिमाथि संका गर्दै प्रश्न गरेका छन् । उनले मंसिरमा एकता महाधिवेशन राख्ने पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा पार्टीका वरिष्ठ नेताहरूको असहमतिमाथि प्रश्न गरेका हुन् ।
शनिबार प्रधानमन्त्री केपी शर्मा ओली तथा प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्प कमल दाहालसमक्ष मंसिरमा पार्टीको एकता महाधिवेशन गर्ने प्रस्ताव गरेको समाचार बाहिर आएको थियो । सोहि विषमा प्रश्न गर्दै पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन् ‘पार्टी एकता गर्दा २ वर्षमै एकता महाधिवेशन गर्छौ भन्ने नेताहरू ३ वर्ष भित्रै महाधिवेशन गरौं भन्दा सकिदैंन भनेर पन्छिन खोज्नु उचित हो र ?’
https://www.facebook.com/shankar.pokhrel.946/posts/1607267782762432








