आज साउनको पहिलो सोमबारः संयोगले औंसी पनि, यसो गरे हुनेछ भाग्योदय !

काठमाडौं । भगवान शिवको प्रिय महिना साउन र प्रिय बार सोमबार मानिन्छ । यस दिनमा शिवलाई मनपर्ने बेलपत्र, जल, पञ्चामृतद्वारा पूजाअर्चना गरिन्छ । साउन ५ गते (आज) पहिलो सोमबार परेको छ । यो महिना र दिन शिवको स्तुति मानव तथा चराचर जगतका लागि निकै कल्याणकारी रहन्छ भन्ने शास्त्रीय मान्यता रहि आएको छ ।

यो सोमबार संयोगले औंसी पनि परेको छ । जुन सोमबारको दिन औंशी पर्दछ त्यहि दिनलाई सोमबारे औंशी भन्दछ, हाम्रो क्यालेन्डर अनुसार हरेक सात दिनपछि एउटा सोमबार पर्दछ भने हरेक महिनामा एउटा औंशी । तर सोमवार र औंशी मात्रको संयोग भने कहिलेकाहि मात्र हुने गर्दछ ।

वर्षभरि एकचोटी या दुइचोटीसम्म सोमबारे औंशी पर्दछ । यो पर्व स्नान या भनौ दान दिनका लागि शुभ मानिन्छ । आजको दिनमा स्नानको लागि मात्र विभिन्न तिर्थस्टलमा टाढा टाढाबाट भक्तजनहरु धाउने गर्दछन । ‘सोमबारे औंशी’को दिनको तिथि प्राप्त गर्न ठुलो संयोग या भाग्य चाहिने उल्लेख भएको छ ।

महाभारतका पात्रहरुले पनि आफ्नो जीवनकालमा आजको दिन अर्थात सोमबारे औंशीको तिथि प्राप्त गर्न नसकेको भनाइ उल्लेख हुने गरेको बताइएको छ । हिन्दु शास्त्र अनुसार आजको दिन मौन रहेर स्नान र ध्यान गर्नाले पुण्य प्राप्त हुन्छ । सोमबार चन्द्रमाको दिन हो । चन्द्रमा मनको प्रतिक र सूर्य मस्तिष्कको प्रतिक पनि हो । सोमबारलाई शिवजीको दिन पनि मानिन्छ र आजको दिन भगवान शिवजी मै समर्पित छ ।

आजको दिन आराध्यदेव पशुपतिनाथ लगायत देशभरका शिवालयहरुमा भक्तजनहरुको घुइचो लाग्ने गरेको भएपनि यसवर्ष भने महामारीको रुपमा फैलिएको कोरोनाका कारण घरमै वा नजिकैको शिवालयमा पूजा आराधना गरिदैछ । साउनको सोमबार शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ । साउनको सोमबार व्रत गरेमा मनको इच्छा पूरा भई अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ ।

पशुपति नखुल्ने, बाहिरैबाट दर्शन
आज पशुपतिनाथ मन्दिर दर्शनार्थीका लागि खुलेको छैन । साउन ७ गतेसम्म लकडाउन कायम रहेकाले मन्दिर नखुलेको हो । सरकारले तत्काल पशुपतिनाथ मन्दिर सर्वसाधरणको लागि खुला गर्ने निर्णय नगरेकाले मन्दिर खुला नगरिएको पशुपति बिकास कोषले जनाएको छ ।

लकडाउन खुकुलो भएसँगै बिस्तारै अन्य क्षेत्रहरु सामान्य अवस्थामा फर्किँदैछन् । तर, भिडभाड बढी हुने मठमन्दिर लगायतका क्षेत्र भने खुलेका छैनन् । मन्दिर खुला गर्ने, नगर्ने भन्ने सरकारको निर्णय कुरेर बसेको पशुपति क्षेत्र बिकास कोषका प्रशासकिय अधिकृत गौरीशंकर पराजुलीले बताए ।

उनले भने, आस्था भक्तिले आउनु भएका दर्शनार्थीलाई पूणतः रोक लगाउन त मिल्दैन । उहाँहरु आउनुभयो भने मन्दिर परिसरबाट दर्शन गरेर जान सक्नुहुन्छ । हाल मन्दिरमा नित्य पुजा मात्र भइरहेको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *