नोबेलमा सुरु भयो स्त्रीजन्य सबै क्यान्सरको अप्रेसन

विराटनगर । नोबेल शिक्षण अस्पतालमा स्त्रीजन्य सबै किसिमका क्यान्सरको अप्रेसन सुरु भएको छ । नोबेलले स्त्रीरोग सम्बन्धी सबै किसिमका अप्रेसनसहित स्त्रीजन्य प्रजनन अङ्गहरूमा हुने क्यान्सरको पनि अप्रेसन थालेको हो ।

सम्पूर्ण स्त्री रोगको उपचारका लागि नोबेलले विशेषज्ञ चिकित्सकको व्यवस्था मिलाएको छ । २६ वर्ष अघिदेखि विभिन्न सरकारी अस्पतालमा स्त्रीरोग विशेषज्ञको रूपमा कार्यरत वरिष्ठ डा.गेहनाथ बराललाई पनि नोबेलले भित्र्याएको छ । डा.बरालसहित नोबेलका वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा.शान्ति सुवेदीसहितको टिमले सबै किसिमका स्त्रीरोगको उपचार गर्दै आएका छन् ।

सम्पूर्ण स्त्रीरोगको उपचार तथा अप्रेसनसहित स्त्रीजन्य सबै किसिमका क्यान्सरको पनि अप्रेसन थालिएको नोबेलका स्त्रीरोग विशेषज्ञ डा.गेहनाथ बरालले जानकारी दिए । उनले भने–‘नोबेलमा पहिले पनि धेरै किसिमका स्त्रीजन्य समस्याको उपचार र अप्रेसन हुँदै आएको थियो । अब सबै किसिमका स्त्रीजन्य समस्याको उपचार, अप्रेसनसहित स्त्रीजन्य यौनाङ्गहरुमा हुने क्यान्सरको पनि अप्रेसन थालेका छौँ ।’

डा.बरालका अनुसार आङ खस्ने, पिसाब चुहिने तथा फिस्टुला लगायत रोगको अप्रेसनसहित पाठेघर तथा सबै स्त्रीरोग क्यान्सरको अप्रेसन पनि सुरु गरिएको हो । गुणस्तरीय र सर्वसुलभ उपचार सेवालाई प्राथमिकता दिँदै आएको नोबेलले स्तरीय चिकित्सक र अत्याधुनिक उपकरणको व्यवस्था मिलाएर जटिल तथा दुर्लभ उपचार पनि सफलतापूर्वक गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *