नेताहरूकाे दम्भले निर्वस्त्र हुँदै गएको नेकपाकाे इज्जत कसले जाेगाउने ?

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी भित्रको आन्तरिक रडाँकोले मुलुकको राजनीति कता जान्छ ? अनुमान लगाउन निक्कै कठिन भइरहेको छ । गत बैशाख देखि सत्तारुढ दलभित्र पलाएको अविस्वासको ‘पीलो’ले मुलुककै राजनीतिक गतिलाई अवरोध गर्नु पक्कैपनि राम्रो हैन ।

बहुदलीय पद्दतिमा सत्तारुढ दल नै आन्तरिक कलहमा रुमलिन्छ भने त्यहाँ प्रजातन्त्र, लोकतन्त्र अथवा भनौं अहिलेको गणतन्त्र कसैलाई फलिफाप हुँदैन । सत्ता र शक्तिको खेलमा नेकपाभित्र चार महिनादेखि पाक्दै गएको ‘पीलो’ ले नेकपालाई त नाङ्गेझार बनाइरहेको छनै सँगसँगै मुलुकमा अस्थिर राजनीतिको पुनरागमन त भइरहको छैन ? प्रश्न उठिरहेको छ ।

नेकपाभित्रको कलह खासै ठूलो हैन, तर त्यहाँ रहेका शिर्षस्थ नेताहरुको दम्भ, अहंकारले ‘तिललाई पहाड’ बनाउने काम गरेकै हो । नत्र भने चार महिनादेखि एउटै विषयमा आम जनता र कार्यकर्तालाई रनभुल्लमा पारेर एक अर्कामा विष वमन किन गर्नु ? किन एकले अर्कोलाई खुइल्याउनु ?

के ओली सही छन् ?

नेकपा भित्र तीललाई पहाड बनाइयो भनेर ओलीको पक्षमा देवत्वकरण गर्नुपनि मुर्खता हो । ओली सफल प्रधानमन्त्री हैनन्, सफल अध्यक्ष पनि हैनन् । हरेक साता नेपाल टेलिभिजनबाट जनतालाई संवोधन गर्दै ‘मैले यसो गरें, उसो गरें’ भनेर सुगा रटाई जति नै गरेपनि व्यवहारतः ओलीले जनतालाई झुट्टा आश्वासन बाँड्नु शिवाय केही गरेनन् भन्दा फरक पर्दैन ।

दशकौंपछि मुलुकले दुई तिहाईको स्थायी सरकार पाएको बेला सरकारले जनचाहना अनुसार काम गर्न सक्नुपर्दथ्यो । तर, सरकारले केके गर्यो भनेर औला भाँच्ने हो भने, दुई हातका औला समेत भाँचिने काम भएका छैनन् । तर, ओलीले नेपालको राजनीतिक इतिहासमै गोयवल्स शैलीमा यति धेरै ‘फण्डाबाजी’ गरेका छन् कि एउटा सर्वसाधारण जनताले सरसर्ती हेर्दा ‘अढाई वर्षमा यो भन्दा बढ्ता के नै गर्नुपर्यो र ?’ भन्दछन् । सायद ओली सरकारले अढाई वर्षमा सबैभन्दा बढ्ता गरेको काम भनेकै ‘प्रचारवाजी’ हो ।

विश्व नै कोरोनाको सन्त्रासमा बाँचिरहेको बेला ओली सरकारले कोरोनालाई नै भ्रष्टाचार गर्ने हतियार बनाएको आम जनताले नदेखेका हैनन् । यदी उनले जनताकै लागी राजनीति गरेका थिए भने, भोक र शोकले जनता छट्पटिँदै गर्दा बालुवाटारमा बसेर बाँसुरी बजाउँदैनथे, आफ्ना आसेपासे (मन्त्रिमण्डल) लाई भ्ष्टाचार गर्न प्रोत्साहन गर्दैनथे । कमजोर र विवादितलाई काखी च्यापेर लालवाबु पण्डित, गोकर्ण विष्ट जस्ता भिजन भएका नेताहरुलाई मन्त्रिपरिषद्बाट हटाउँदैनथे ।

अढाई वर्षमा करिब ९१२ दिन हुन्छ, १३० हप्ता हुन्छ । हरेक हप्ता सरकारले एउटा नयाँ कामको थालनी गरेको भए यो अढाई वर्षमा १३० वटा नयाँ काम हुन्थ्यो । त्यसमा एउटा मन्त्रालयले हरेक हप्ता एउटा नयाँ काम गरेको वा नयाँ निर्णय गरेको भए अढाई वर्षमा कति काम, योजनाहरु आउँथे, हामी औला भाँचेर त के क्यालकुटर प्रयोग गरेर पनि गन्न सक्दैनथ्यौं ।

भन्नुपर्छ, केपी ओली सरकारले अढाई बर्षमा गर्न नहुने काम बर्गेल्ती गरेको छ । जसको हिसाबकिताब निकाल्न हातका औंलाले हैन क्यालकुलेटर नै चाहिन्छ । ओली सरकारले राम्रा काम भन्दा नराम्रा काम बढी नै गर्यो जसले उसलाई आफ्नै पार्टीभित्र, आफ्नै कार्यकर्ता र नेताभित्र अलोकप्रिय बनाइदिएको हो ।

ओली सरकारले राष्ट्रियताका पक्षमा काम गरेन ?

यो टिप्पणी पढ्दै गर्दा भन्नेहरुले लगाउने आरोप भनेकै यहि हो । ‘ओलीले राष्ट्रियताका पक्षमा निर्णय नगरेको भए नेपालको नयाँ नक्सा जारी हुन्थ्यो ? लिपुलेक कालापानी लिम्पियाधुराको कुरा कसले उठायो ?

उठ्ने प्रश्नहरु स्वभाविक हो । एक हिसावले प्रधानमन्त्री केपी शर्मा ओलीमा राष्ट्रियता होला । तर, नेकपाको स्थायी कमिटिको वैठकमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले ‘तपाईले नै हैन नक्सा जारी गर्न रोक्न खोजेको ? हामीले जवरजस्ती सदनमा पठाइदिएपछि जस लिने ?’ किन भने ? उत्तर खोजौं न ।

अकाट्य हो कि, ओलीले भारतको नाकावन्दीमा खुट्टा कमाएनन्, ओलीकै नेतृत्वमा भारतले कब्जा गरेको लिम्पियाधुरा, लिपुलेक र कालापानी सिमा अतिक्रमणका विरुद्ध सदन र सडकमा नारा लागे । उनकै नेतृत्वमा सबै दलहरु राष्ट्रियताका पक्षमा एक भए । तसर्थ, यहाँ ओली पक्षबाट होस् कि, प्रचण्ड पक्षबाट दुवैले सत्तारोहण र बहिर्गमनको ‘सकुनी’ खेलमा ‘मोही पनी माग्ने ढुंग्रो पनी लुकाउने’ गरिरहेका छन् । जुन मुलुकको राष्ट्रियता र अस्तित्वको रक्षार्थ कदापि सहि छैनन् ।

नेकपाको स्थायी कमिटि बैठक चल्दै गर्दा, ओलीको राजिनामा नै अन्तिम विकल्प हो भन्दा उनले ‘कुनैपनि हालतमा सत्ताबाट हट्दिन जे सक्छौ गर’ भनेर चुनौति दिनुको अर्थ अर्को जंगबहादुरको जन्म त भएको हैन ? शंका पनि पैदा भएको छ । नत्रभने पार्टीभित्रका मतान्तरहरुलाई स्थायी कमिटिमा घनिभूत छलफल गर्दा, केन्द्रीय समितिमा लगेर टुँग्याउँ भन्दा उनलाई किन अफ्टेरो ? किन उनी स्थायी कमिटि र केन्द्रीय बैठकबाट दिन प्रतिदिन भागिरहेछन् ? ओलीले पार्टीभित्र देखिएका अन्तरविरोधलाई साम्य पारेर गए उनका पक्षमा जनमत अझ देखिनेथियो । ‘ओली सरकार राजिनामा दे’ भन्नेहरुलाई जनताले नै देखाइदिने थिए ।

हामी यो पनि नविर्सौं कि कुनै शासकको बोलीमा होमा हो लगाएर ‘अन्धभक्त’ हुनु भनेको अर्को तानाशाह जन्माउनु हो । लोकतन्त्रमा कसैलाई अन्धभक्त भएर देवत्वकरण गर्नुपनी अर्को अपराध हो । ओलीका अढाई वर्षका गतिविधिले उनी तानाशाह पथमा लम्किइरहेका छन् भन्ने प्रष्ट संकेत गरिरहेको छ ।

नत्र भने, पार्टी भित्रको विवादमा पार्टी फुटाउने अध्यादेश हतारहतारमा ल्याउँने दृढता गर्दैनथे, राष्ट्रपति जस्तो गरिमामय संस्थालाई विवादमा पार्दैनथे, प्रमुख प्रतिपक्ष र स्वयं संसदका सभामुखलाई थाहै नदिइ संसदको अधिवेशन अन्त्य गर्दैनथे । त्यसकारण पछिल्ला चार महिना यता प्रधानमन्त्री केपी शर्मा ओलीले चालेका कदमहरु लोकतन्त्र विरोधी छन् । जनविरोधी छन् । यसमा उनले सच्चिएर जानै पर्दछ ।

ओलीका गलत कृयाकलापका विरुद्ध आवाज उठाउँनेहरुलाई राष्ट्रघातीको संज्ञा दिँदै धारेहात लगाउनु पनि गलत हो । किनकी लोकतन्त्रमा सहि र गलत खुट्याएर आलोचना गर्नु, विरोध गर्नु नैसर्गिक अधिकार हो ।

त्यसो भए प्रचण्ड, माधब, झलनाथ र बामदेव ठिक हुन् त ?

पेटमा एउटा कुरा गर्ने बाहिर अर्को कुरा गर्ने ‘छेपारे’ प्रवृत्ति नेकपाका यी नेताहरुमा नभएको हैन । पद र प्रतिष्ठा पाउनका लागि कतिसम्म गिर्दा रहेछन् भन्ने विगतमा भएका सरकार गिराउने र ढलाउने खेलले प्रष्ट पारिहालेको छनी । प्रचण्ड, माधब, झलनाथ र बामदेव यी कुनै नेताहरु दुधले नुहाएका छैनन् । समय अनुकुल एक अर्कालाई छिर्के लगाउँदै सत्ता र पावर हातमा लिन यिनीहरु कतिखेर कता लाग्छन् थाहा हुँदैन । अहिले पनि ओलीलाई हटाउने खेलमा यीनीहरुको देखाउने र चपाउने फरक–फरक दाँत छ ।

ढुलमुले चरित्र भएकाहरुले ओलीका विरुद्धमा स्पष्ट अडान लिन नसक्दा आज स्थायी कमिटि ‘महाभारतको युद्ध’ जस्तो भएको छ । मैदानमा ओलीलाई सत्ताबाट गिराउने एउटै ध्येय छ तर, त्यसपछिको परिस्थितिलाई कसरी ट्रयाकल गर्ने सोच छैन । नत्र ओलीको बर्हिगमन पछिको परिस्थितिलाई किन मुल्यांकन गर्दैनन् ?

त्यसो भए अब के गर्ने ?

अहिले मुलुकको राष्ट्रिय अन्तराष्ट्रिय परिस्थिति दुवै प्रतिकुल छ । राष्ट्रियताका सवालमा मुलुकले भारतसँगको सिमा विवाद सदाका लागि अन्त्य गर्ने ठूलो चुनौति छ । यहाँ लिम्पियाधुरा, लिपुलेक र कालापानीको मात्र कुरा छैन । भारतले नेपालका सात सय बढि स्थानमा सिमा अतिक्रमण गरेको । ती सबैलाई पूर्ण रुपमा समाधान नगर्ने हो भने नेपालको राष्ट्रिय अखण्डता, सार्वभौम सत्ता गम्भिर दुर्घटना तर्फ उन्मुख भइरहेको छ । झन पछिल्लो समय ओलीले भारतलाई चिढ्याउने अभिव्यक्ति दिँदा त्यसले दुई देशविचको कुटनीतिक मित्रतालाई असर गरीरहेको छ ।

देशभित्र आम जनता कोरोना महामारीको चपेटामा उपचार नपाएर, खान नपाएर मरिरहेका छन् । दिनदिनै आत्महत्याका केस बढ्दैछन् । उत्पादन, उत्पादकत्व शुन्य छ । आर्थिक सूचकांक एक अंकमा स्थिर भइसकेका छन् । यी सबै समस्या समाधान गर्नका लागि भएपनि सरकारले आफ्नो रणनीति र योजना परिवर्तन गर्नै पर्दछ ।

यो बेला ओलीको विकल्प खोज्नु मुर्खता शिवाय केही हैन । सरकार अफ्टेरोमा छ भन्दैमा उसलाई साथ दिनुको सट्टा खुट्टा तान्ने प्रवृत्ति प्रचण्ड, माधब, झलनाथ र बामदेव गुटमा देखियो । ओलीमा दम्भ देखियो, अहंकार देखियो, काम गर्ने क्षमता भएन । यो ध्रुवसत्य हो तर, ओलीको विकल्पमा अर्को सरकार गठन गर्नुपनि कदापि नेकपालाई ठिक हैन ।

अहिले नै ओलीलाई हटाएर प्रचण्डको नेतृत्वमा सरकार गठन गर्दा लिपुलेक, लिम्पियाधुरा तथा कालापानी फिर्ता पाईहालिन्छ भन्ने ग्यारेण्टी के छ ? अहिले नै ओलीलाई गलहत्याएर निकाल्दा कोरोना संक्रमण समाप्त हुन्छ, देशको अर्थतन्त्र चलायमान हुन्छ भने ग्यारेन्टी के ? जनताले पनि यो प्रश्न गरीरहेका छन् जुन स्वभाविक हो ।

त्यसकारण अब ओलीलाई पनि सरकारबाट नहटाउने, नेकपाभित्रको विवादपनि मथ्थर पार्ने उपाय भनेको दुवै पक्ष अधिकतम लचक बनेर वार्ताको टेवुलबाट समाधान खोज्नु नै हो । नेताहरुको दम्भले नेकपा र्निवस्त्र हुँदै गएको छ जसको लाज ढाक्ने उपाय कतै देखिइरहेको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि पार्टीको धारणा सुन्नुपर्छ । पार्टीले पनि ओली र जनताको धारणा सुन्नै पर्दछ । दुवैले आ–आफ्ना अडानमा लचकता नअपनाउने हो भने, मुलुक दुर्घटना तर्फ नजाला भन्न सकिन्न, किनकी यो बेला मुलुक राष्ट्रिय, अन्तराष्ट्रिय दुवै तर्फबाट अफेटेरोमा छ । यसका लागि यत्रो गलफत्ती आवश्यक थिएन । यतिधेरै खिचडी पकाई रहनु जरुरी थिएन ।

र, याेपनि नविर्साैं कि, नेकपाकाे सचिवालय र स्थायी कमिटि मात्रै वा शिर्षस्थ नेताहरू नै पार्टीका हर्ताकर्ता हुन् । उनीहरूले भनेकाे अन्य नेता कार्यकर्ताले ‘ज्यू हजुर’ गर्नै पर्छ । पार्टीभित्रकाे विवादलाई महाधिवेशन वा केन्द्रीय कमिटिमा लैजाने दृढता किन गरिँदैन ?

नेताहरुमा देखिएको दम्भ र अहंकारले इतिहासकै दुई तिहाई नजिकको कम्युनिस्ट सरकार धर्मराएको मात्र छैन, मुलुकलाई नै भड्खारो तर्फ उन्मुख गराउँदै गएको छ । बेलैमा सोचौं, दम्भ र अहंकारले आफैंलाई विनाश गर्छ । विद्धता र शालिनता र शहनशीलताले मात्रै सर्व हित हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.