स्वास्थ्य सामग्री खरिद घोटला प्रकरण : संसदीय समितिले रक्षामन्त्री र स्वास्थ्यमन्त्रीलाई बोलाउने

काठमाडौं । कोरोना रोकथामका लागि चिकित्सा सामग्री खरिदमा अनियमितता देखिएपछि संसदको सार्वजनिक लेखा समितिले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल र रक्षामन्त्री ईश्वर पोखरेललाई बोलाउने भएको छ ।

मन्त्रीद्वयलाई केही दिनभित्र बोलाउने लेखा समितिका सचिव डा. रोजनाथ पाण्डेले मकालु खबरलाई जानकारी दिए । ‘हामीले दुई मन्त्रीलाई बोलाउने छौं, केही दिनभित्रै ।’ उनले हामीसँग भने ।

अहिले उच्चस्तरीय समन्वय समिति निस्क्रिय राखेर कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)मार्फत् कार्यसम्पादन गरिँदै आएको छ ।

कोरोना कहरका बेला सार्वजनिक पद धारण गरेको व्यक्तिले अनियमित तवरले सामग्री खरिद गरेको र भ्रष्टाचार गर्ने नियत देखिएकाले पोखरेलसहित विभागीय मन्त्री भानुभक्त ढकाललाई बोलाएर सोधपुछ गर्नुपर्ने निचोडमा पुगेको सचिव पाण्डेले जानकारी दिए ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री खरिद गर्न गत १२ चैत्रमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रातारात ओम्नीसँग एक करोड तीन लाख ९० हजार ४ सय अमेरिकी डलर विनिमय दर १ अर्ब २४ करोड ६८ लाख ४८ हजार नेपाली रुपैयाँमा स्वास्थ्य सामग्री खरिद गर्ने सम्झौता गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *