विश्वभर कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या २०० पुग्यो

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोभिड-१९ संक्रमणका कारण यो हप्ता विदेशमा थप १६ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता कतारमा ८ जना, कुवेतमा ३ जना, युएईमा ५ जनाको मृत्यु भएको हो ।

योसँगै विदेशमा कोरोनाबाट मृत्यु हुने नेपालीहरुको संख्या दुई सय पुगेको छ । २० देशमा रहेका नेपालीहरु पूर्णरुपमा कोरोना मुक्त भएको स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाले जानकारी दिए । उनका अनुसार जम्मा कोराना संक्रमितमध्ये ९३ प्रतिशत नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएका हुन् ।

अफ्रिकी मुलुकमा कोरोना भाइरसबाट संक्रमित नेपालीमध्ये सबैजना कोरोना भाइरसबाट मुक्त भएका छन् । विदेशमा ३० हजार ५७१ जनामध्ये २८ हजार ६८१ जना नेपाली संक्रमण मुक्त भएको एनआरएनएले उल्लेख गरेको छ ।

गैरआवासीय नेपाली संघ, नेपाल सरकार, र कुटनीतिक निकायको पहलमा विभिन्न २५ मुलुकमा अलपत्र परेका, भिसा अवधि सकिएका, आफन्त भेटघाटमा गई उतै रोकिएका र अन्य विविध कारणले समस्यामा परेका २९ हजार ७ सय ८० जना उद्धार भएको छ ।

१ सय ७२ शव ल्याइयो
यस्तै मलेसिया, साउदी, कतार, युएई, कुवेत, बहराइन, ओमान, दक्षिण कोरिया लगायतका देशबाट यो अवधिमा १ सय ७२ वटा शव नेपाल ल्याएर परिवारलाई बुझाइएको छ ।

विदेशमा विभिन्न कारण ज्यान गुमाएका ४ सय ३४ जनामध्ये १ सय ५६ जनाको परिवारको सहमतिमा गन्तव्य मुलुकमा अन्त्येष्टि गरिएको छ । विदेशबाट अझै १ सय ७ वटा शव नेपाल ल्याउन बाँकी रहेको एनआरएनएले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *