ठोरीका अध्यक्ष भन्छन्, ‘ठोरीलाई राज्यले चिन्यो, सीता गुफा बनाउन बजेट छुट्याएका छौं’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आदिकवि भानुभक्त आचार्यको २०७ औं जन्मजयन्ती मनाउँदै गर्दा प्वाक्क बोले, ‘अयोध्या नेपालमा पर्छ, राम नेपाली हुन् ।’ प्रधानमन्त्रीको उक्त अभिव्यक्तिको नेपाल तथा भारतका कतिपय शीर्ष नेताहरुदेखि सरोकारवालाहरुसम्मले आलोचना गरे ।

यत्ति मात्रै होइन, प्रधानमन्त्रीको अभिव्यक्तिको भर्त्सना गर्नमा भारतका सत्तारुढ दल भारतीय जनता पार्टीसँगै विपक्षी कांग्रेस आईलगायत त्यहाँका बुद्धिजीवि, नागरिक समाज तथा सर्वसाधारणसमेत चुकेनन् ।

चौघेरामा परेको प्रधानमन्त्रीको उक्त अभिव्यक्ति अन्नतः बहसकै विषय बन्यो । यी सन्दर्भहरु बाहिर आउँदै गर्दा भारतस्थित अयोध्याका सन्तहरुले प्रधानमन्त्री ओलीलाई धर्मादेश जारी गरेर पदच्यूत गर्नेसम्मको चेतावनी पनि दिए ।

यी सवालहरुले अयोध्या र रामका बारेमा अझै सोच्न र अध्ययन अनुसन्धान गर्न बाध्य बनाएको छ । भारतसँगै नेपालमा पनि चर्किएको यो विषयमा स्वयं ठोरीको बुझाइ के छ ? के साँच्चै अयोध्या ठोरीमै पर्छ ? प्रधानमन्त्रीको बोलीको आधारहरु ठोरीमा भेट्टाइन्छ ? यावत् यी विषयमा ठोरी गाउँपालिकाका अध्यक्ष पदम लाल श्रेष्ठसँग कुराकानी गरेका छौं । प्रस्तुत छ, अध्यक्ष श्रेष्ठसँगको कुराकानीमा आधारित सामग्री उनकै शब्दमा ।

प्रधानमन्त्रीको बोली कति सत्य ?
ठोरी गाउँपालिकाको वडा नं. २ मा सीता गुफा छ । जुन, लगभग दश गजानजिक पर्छ । पहिले यो ठाउँले चर्चा पाएको थिएन । यद्यपि हामीले भने वर्षौंदेखि मान्दै र पूजा–पाठ गर्दै आएका छौं । पहिले यसलाई ठोरी मात्रै भनेर चिनिन्थ्यो । नयाँ संरचनाअनुसार यो ठोरी गाउँपालिकाको वडा नं. २ मा पर्छ । यी प्राकृतिक संरचनालाई हेर्दै आउँदा प्रधानमन्त्रीलाई सही भन्न सकिन्छ । यहाँ भगवान् नगर, हनुमाननगर, ढेडुँ खोला, बाँदरझुला, शिकारीपार्कलगायतका ठाउँहरु छन् । यी ठाउँहरु कहीँ न कहीँ प्रधानमन्त्रीको बोलीसँग सम्बन्धित देखिन्छ । प्रधानमन्त्रीज्यूले पनि आफ्नो हिसाबबाट अध्ययन गर्नुभएरै बोल्नुभएको होला । यी कुराहरुलाई हेर्दै गर्दा प्रधानमन्त्रीले बोलेका कुराहरु साँचो हुन् भन्नुपर्छ । प्रधानमन्त्रीका बोलीका आधारहरु छन् हामीसँग प्रशस्तै ।

सीता गुफा प्रवर्द्धनको लागि बजेट विजियोन
हामीले सीता गुफा प्रवर्द्धनको लागि बजेट विनियोजन गरेका छौं । हामीले गत आर्थिक वर्षमा छुट्याउने भन्दाभन्दै सकेनौं । यद्यपि यसपाली भने हामीले सीता गुफाकै लागि भनेर १० लाख बजेट छुट्याएका छौं । उक्त रकमले हामीले गुफाको सम्वर्द्धन तथा प्रवर्द्धन गर्नेछौं । ठोरीलाई देशले बल्ल चिनेको छ । सरकारप्रमुखले बोलिसक्नुभएको छ । हामी आशावादी छौं ।

सरकारप्रमुखले बोलिदिनुभयो, खुशी छौं
सरकारप्रमुखले बोलिदिनुभयो, हामी त खुशी छौं । ठोरीजस्तो सांस्कृतिक तथा मुल्यमान्यता पाएको ठाउँलाई राष्ट्रले चिन्दै छ । यसलाई पुरातात्विक आधारबाट अन्वेषण गर्ने हो भने यहाँबाट धेरै कुरा बाहिर आउँछ । यसलाई हामी स्थानीय सरकारले मात्रै गरेर हुने कुरा होइन । माथिल्लो तहबाटै बजेटिङ्ग भएको खण्डमा यी यस्ता कुराहरुलाई मज्जाले प्रवर्द्धन गर्न सकिन्छ ।

पुरातात्विक ढंगले छानविन हुनुपर्छ
प्रधानमन्त्रीज्यूले बोलिदिनुभयो, अब पुरातात्विक ढंगबाट यसको छानविन हुनुपर्छ । हाम्रो माग त्यही हो । यहाँ हजारौं मान्छेहरु भारतबाटै पनि आउँछन् । सायद मलाई लाग्छ, यो ठाउँमा पर्यटकीय स्थल भनेकै यही नै हो । यहाँ दिनकै २० देखि ३० वटाको अनुपातमा ठूला गाडी तथा सुमोहरु आएकै हुन्छन् । यसलाई हामीले प्रवर्द्धन गर्यौं भने हामीलाई पनि राम्रो हुन्छ । सँगै सिङ्गो मुलुकलाई पनि राम्रो हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *