प्रधानमन्त्रीको सचिवालयले भन्यो- ‘स्वीस बैंकमा खाता छैन, समाचार भ्रामक र गलत’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वीस ब्यांकमा खाता नरहेको खबर झुटो भएको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रेसनोट मार्फत् उक्त समाचार तथ्यहीन भएको तर्क गरेका हुन् ।

प्रकाशित समाचारहरु गैरजिम्मेवारपूर्ण र बदनियताका साथ प्रकाशित भएको उनको दाबी छ । ‘ग्लोबल वाच एनालाइसिस’को हवाला दिएर केही नेपाली अनलाइनहरूले ‘प्रधानमन्त्री केपी शर्मा ओलीको स्वीस बैंकमा खाता भएको र ५.५ मिलियन अमेरिकी डलर जम्मा रहेको’ भन्दै गलत र चरित्र हत्या गर्ने गरी झुठा समाचार सम्प्रेषण गरेकोप्रति ध्यानाकर्षण भएको प्रेसनोटमा भनिएको छ ।

प्रेसनोटमा तथ्यहीन सामग्रीलाई आधार मानेर समाचार बनाई नेपाली जनतामा भ्रम छर्न र प्रधानमन्त्रीलाई बदनाम गराउन खोजिएकोमा भन्दै खेद प्रकट गरिएको छ । प्रेसनोटमा भनिएको छ– ‘राष्ट्रिय हितको रक्षा, सीमा अतिक्रमणविरूद्ध नयाँ नक्सा प्रकाशनको साहसिक कदम र सर्वसम्मतिद्वारा संविधान संशोधनजस्तो महत्वपूर्ण निर्णयमा सिंगो राष्ट्रलाई एकताबद्द गर्दै प्रधानमन्त्रीज्यूले राष्ट्रको नेतृत्व सम्हालिरहनु भएको निकै संवेदनशील बेलामा बदनाम गराउन यस किसिमले सुनियोजित षडयन्त्र गर्ने अनेकन् तत्वहरू सक्रिय रहेको प्रष्ट नै छ ।’

थापाले यस्ता कुनै पनि दुष्प्रचारको भ्रममा नपर्न र पत्रकारिताको न्यूनतम जवाफदेहिता, जिम्मेवारीबोध र सामाजिक मर्यादा एवं शिष्टाचारविपरित कार्यमा संलग्न व्यक्ति र संस्थाहरूमाथि कारवाहीको लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

https://www.facebook.com/permalink.php?story_fbid=173188054187807&id=105043977668882

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − three =