टिप्पणीः ओलीको ‘वाणी बम’ले देशलाई क्षति नगरोस्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जुनसुकै विषयवस्तुलाई ‘ठट्टा’ र ‘उखान टुक्का’सँग जोडेर व्यक्त गर्न पहिलेदेखि सिपालु छन् । उनको ‘ठट्टा’ गर्ने बानी पुरानै हो ।

तर कोरोना महामारी, छिमेकी देशसँगको बिग्रदो सम्बन्ध र आफ्नै पार्टीभित्र बढ्दो विवादका बखत ओली झनै ‘उट्पट्याङ’ गर्न थालेका छन् । उनको ठट्टा र टुक्का ‘किस्सा’ धेरै पुरानो छ । पछिल्ला केही अभिव्यक्तिलाई हेर्ने हो भने, सांसद गगन थापाले गरेको प्रश्नमा उनले दिएको जवाफलाई लिन सकिन्छ ।

‘नेपालीहरूको रोग प्रतिरोधी क्षमता अद्भुत छ’ भन्ने अभिव्यक्ति त्यो दिनको संसदमा सबैभन्दा रमाइलो ठट्यौली बन्यो ! सांसद थापाले प्रधानमन्त्री ओलीलाई प्रश्न गरेका थिए-‘नेपालीको रोग प्रतिरोधक क्षमता बढी छ भनेर कसले भन्यो ?’ प्रधानमन्त्रीले थापालाई टर्रो जवाफ दिए- ‘प्रतिरोधी क्षमता राम्रो छ भनेर ? कसले भनेको (रे) ? मैले भनेको हो ।’ ओलीले जवाफ फर्काउँदा संसदमा हाँसोको फोहोरा छुट्यो ।

प्रधानमन्त्रीको यो कुतर्कको संसदमा मात्रै सीमित रहेन्, सामाजिक सञ्जालदेखि फ्रन्टलाइनका मिडियाको ‘हेडलाइन’ बन्यो । सामाजिक सञ्चारमा ओलीको उत्तरका ‘ट्रोल’ भाइरल नै भए भने दिग्गज विश्लेषकहरुले पनि ओलीको छुद्र बोलीप्रति टिप्पणी गरे तर, ओलीलाई कुनै बुद्धिजिविको टिप्पणीले छोएन ।

र, फेरि प्रतिनिधिसभा बैठकमा भने-‘बेसार र तातोपानी खाएर हाच्छ्यूँ गरेर कोरोना उडाइदिनुस् ।’ उनको बेसार ‘महात्म्य’ लाई लिएर ट्रोल बने । टिप्पणीहरू आए । ओलीले बेसार, अदुवा खाए कोरोना उपचारमा फाइदा पुग्ने तर्क गर्दा सामाजिक सञ्जालदेखि सडकसम्म उडाइयो तर, प्रधानमन्त्रीले आफूलाई त्यसरी उडाइएको कुरालाई सामान्य ठाने ।

सरकारको विरोध गर्न सडकमा निस्किएकाहरूले ‘नो पिसिआर, बेसार-अदुवा कोरोनाको उपचारः डा.केपी ओली’ लेखेको प्लेकार्ड बनाएर बोके, सामाजिक सञ्जालमा भाइरल भयो तर, उनलाई छोएन । छोओस् पनि कसरी ? उनीमा अरुको कुरा नसुन्ने अहंकार जो छ । लामो भाषण दिने तर, कसैको कुरै नसुन्ने प्रवृत्ति उनीमा निरन्तर देखिन्छ ।

बेसार ‘महात्म्य’ केही साम्य मात्रै के भएको थियो, प्रधानमन्त्रीको फेरि असान्दर्भिक अभिव्यक्ति आयो । नेकपाभित्रको बढ्दो शक्ति संघर्षमा उनसालाई सरकारबाट हटाउने खेल भारतबाटै भयो रे । त्यसलाई खण्डन गर्न नेकपाका अर्का अध्यक्ष प्रचण्डले ‘भारतले हैन मैले राजिनामा मागेको हुँ’ सम्म भन्नु पर्यो । सरकारको असफलता र अलोकप्रियतामा एक पछि अर्को हल्का टिप्पणी गर्दै आएका ओलीलाई सोमबारको अभिव्यक्ति चैं ठूलै ‘खड्ग’ बनेको अनुभूत भएको छ ।

सोमबार बालुवाटारमै बसेर ओलीले ‘हिन्दू धर्मग्रन्थ रामायणमा वर्णन गरिएको अयोध्या नेपालमा रहेको र राम पनि नेपालमा जन्मिएको’ भनी दाबी गरे । यसले त उनलाई देशभित्र मात्र हैन विदेशमा समेत आलोचित बनायो ।

प्रधानमन्त्री ओलीका पछिल्ला अभिव्यक्तिहरू सतही मात्रै हैनन्, हास्यास्पद, असान्दर्भिक र उट्पटाङ शैलीका छन् । हुनत ओली सरकारका मन्त्री, सांसद र कार्यकर्ताको नैतिकताको कुरा पनि के गर्नु, उनका कुतर्कमा टेबल ठोक्ने, थपडी बजाउने र लाजै नमानेर खितखित हाँस्ने वाहेक अरु गर्न पनि सकेका छैनन् । कोरोनाले देश आक्रान्त छ, लकडाउनले गरिब असहायका मुखमा माड लाग्न छाडिसक्यो तर, ओली र उनका नेतृत्वमा रहेका मन्त्रीहरुलाई त्यसको मतलवै छैन । बरु उल्टै ‘कोरोना उपचार, अदुवा बेसार’ भन्दै लूटतन्त्र मच्चाइरहेका छन् ।

ओली सरकारका मन्त्री, सांसद र कार्यकर्ताको नैतिकताको कुरा पनि के गर्नु, उनका कुतर्कमा टेबल ठोक्ने, थपडी बजाउने र लाजै नमानेर खितखित हाँस्ने वाहेक अरु गर्न पनि सकेका छैनन् ।

अयोध्या र रामायण किस्साले त नेपालमा भन्दापनि भारतमा ठूलो तरङ्ग ल्याइदिएको छ । भारतको सत्तारूढ दल भाजपाका प्रवक्ताले ओलीको अभिव्यक्तिको निन्दा गरिसकेका छन् । अयोध्याका सन्त रहेका राम दल ट्रस्टका अध्यक्ष रामदास महाराजले प्रधानमन्त्री ओलीविरुद्ध सडकमा उत्रिने चेतावनी दिए । देश भित्रै पनि पूर्वप्रधानमन्त्री देखि, पूर्वपरराष्ट्रमन्त्री, पूर्वमन्त्री हरुले प्रधानमन्त्रीको अभिव्यक्ति प्रति आपत्ति जनाइरहेका छन् । भारतीय मिडियामा ओलीका हेडलाइन बनिरहेका छन्, भलै नेपालमा भारतीय न्यूज च्यानल प्रतिबन्धमा छन्, तिनका युट्युव र सामाजिक सञ्जालमा ‘ओली गाथा’ ट्रेण्डिङमा छन् ।

नेकपाकै नेताहरु अचम्मित
उनको अभिव्यक्ति सुनेर नेपालका कयौं नेताहरू अचम्म परेका छन् । नेकपाका उपाध्यक्ष बामदेव गौतमले आफ्नो अभिव्यक्ति फिर्ता लिन ओलीलाई सुझाएका छन् ।

नेता गौतमले प्रधानमन्त्रीले यो विषय दुई वर्षअघि नै आफुलाई सुनाएको बताउँदै भनेका छन ‘मैले उहाँलाई यस सम्बन्धमा आफुले अध्ययन गरेका कतिपय सन्दर्भ सामाग्री उल्लेख गर्दै विना अनुसन्धान, विना तथ्य प्रमाण यस्तो विषयलाई तपाईले कहीँ कतै व्यक्त नगर्न भन्दै सल्लाह पनि दिएको थिएँ । मलाई यस विषयमा उहाँले कहीँ न कहीँ सार्वजनिक गरिहाल्नु हुन्छ कि भन्ने शंकापनि लागेको थियो । नभन्दै हिजो तथ्य प्रमाण विना त्यसलाई सार्वजनिक गरेरै छोड्नुभयो ।’

पार्टीभित्र शक्ति संघर्ष जारी रहँदा ओलीको अभिव्यक्तिले टकरावको दुरीलाई झन् बढाइदिएको स्पष्ट छ । अरुका कुरा नसुन्ने र एकपछि अर्काे असान्दर्भिक अभिव्यक्तिले नेकपाको रफ्तारमा ‘ब्रेक’ लाग्नसक्छ ! भलै यसो नहोस् ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपालका राजनीतिक पार्टी, नेता र नेपालीहरुको अपमान र अवमुल्यन नगर्न आग्रह गरे । नेकपाका विदेश विभाग प्रमुख विष्णु रिजालले ‘पदमा बसेर बेतुकका र असान्दर्भिक कुरा बोल्दा राष्ट्रकै शीर झुक्छ’ भन्दै प्रतिक्रिया दिए । ‘अप्रमाणित, पौराणिक र विवादास्पद कुरा बोलेर विद्वान भइन्छ भन्नु ठूलो भ्रम हो । फुकीफुकी पाइला चालेर भूमि फिर्ता ल्याउनुपर्ने बेलामा विरोध र उत्तेजनाका लागि एकपछि अर्को मसला दिइनु दुर्भाग्यपूर्ण मात्र होइन, रहस्यमय छ’ रिजालको तर्क छ ।

स्थायी कमिटी सदस्य भीम रावलले पनि प्रम ओलीको अभिव्यक्तिको आलोचना गरे । ‘कालापानी क्षेत्रबाट भारतीय फौज हट्नुपर्ने विषयमा भारतसँग कुरा गर्नुपर्ने कि राम र अयोध्याबारे बहस गर्नुपर्ने हो ?’ भन्दै उनले प्रश्न गरे । नेकपा स्थायी कमिटि सदस्य बेदुराम भुसालले ‘त्यो सुनेपछि म आफैँ अचम्मित भएको बताए ।’

पार्टीभित्र शक्ति संघर्ष जारी रहँदा ओलीको अभिव्यक्तिले टकरावको दुरीलाई झन् बढाइदिएको स्पष्ट छ । अरुका कुरा नसुन्ने र एकपछि अर्काे असान्दर्भिक अभिव्यक्तिले नेकपाको रफ्तारमा ‘ब्रेक’ लाग्नसक्छ ! भलै यसो नहोस् ।

ओलीको ‘वाणी बम’ले क्षति नगरोस्
छिमेकी देशसँगको बिग्रदो सम्बन्ध र आफ्नै पार्टीभित्र बढ्दो विवादका बखत ओलीले झनै ‘उट्पट्याङ’ गर्न थालेपछि यसले ठूलो दुर्घटना निम्त्याउने कुरालाई नकार्न सकिदैन । यही बेला प्रधानमन्त्रीले दिएको यस पटकको अभिव्यक्तिलाई भारत लक्षित अर्को ‘वाणी–बम’को रूपमा लिइएको छ ।

लिम्पियाधुरासम्मको भूभाग समेटेर नक्सा जारी गरेपछि रुष्ट भारतलाई प्रधानमन्त्रीले उसको प्रतीक चिह्नबारे गरेको अभिव्यक्तिले थप चिढ्याएको थियो । हालैका दुईवटा अभिव्यक्तिले त्यो तिक्तता झनै बढाउने देखिन्छ । ‘विवादास्पद अभिव्यक्ति’ले दुई देशको सम्बन्ध नागरिक स्तरमै बिग्रिन सक्ने कूटनीतिक क्षेत्रका जानकारहरूको चेतावनी छ ।

नेपालले नयाँ राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गरेपश्चात नेपाल र भारतबीच ‘कूटनीतिक संवादहीनता’ देखिएका बेला यस्ता अभिव्यक्तिले थप चिसोपन बढाउन सक्ने पूर्वपरराष्ट्रमन्त्री तथा भारतका लागि भूतपूर्व नेपाली राजदूत भेषबहादुर थापाको तर्क छ ।

यस्ता अभिव्यक्तिले चिसोपनलाई अन्त्य गर्ने भन्दापनि अझ बढाउने र उत्तेजित पार्ने जस्तो देखिन्छ । यसबेला नेपालले आफ्ना भूभाग फिर्ता ल्याउन भारतसँगको सम्बन्ध सुधार गर्नुपर्नेमा प्रधानमन्त्रीबाट झन् त्यसलाई बिगार्ने कुरागर्नु राम्रो होइन । के भारतीय मिडियाले गाली गर्यो भन्दैमा हामीपनि त्यहि रवैयामा उत्रने ? कुकुरले टोक्यो भन्दैमा हामीले पनि कुकुरलाई टोक्नु कत्तिको अतिशयोक्ति होला ? उडन्ते र मिथकमा आधारित कुराले समस्या समाधान हुँदैन बरु बल्झिन्छ । भारतसँगको समस्या समाधान गर्न कुटनीतिक माध्यम नै सर्वश्रेष्ठ हतियार हो नकी उखान टुक्का ।

भनिन्छ नि, ‘बोल्न पाए प्याच्च नबोल्नु, बस्न पाए थ्याच्च नबस्नु’ प्रधानमन्त्री ज्यू, तपाई राष्ट्रको अभिभावक हो, तपाईका हरेक बोलीले देशको गरिमा बोक्छ, ‘जिब्रोको गरिमा मिठो बोलीमा’ जस्तै गर्नुस ओज तपाईकै बढ्छ ।

ओलीमा पहिलेदेखि नै बढी गफ लगाउने प्रवृत्ति थियो । समयक्रममा उनी दुईपटक प्रधानमन्त्री भए । तर, उनको ‘गफ दिने’ स्वभाव हराएन । पहिलो, उनमा आफू ‘सर्वज्ञाता’ रहेको भ्रम छ । दोस्रो, उनी परिणाम नसोची बोल्छन् । तर, मुलुकको कार्यकारी प्रधानमन्त्रीले यस्ता हास्यास्पद कुरागर्दा आलोचकले उडाउने ‘मसला’ त भेटिरहेका छन् ।  सँगसँगै मुलुकको राष्ट्रियता, नेपाल भारतविचको सामाजिक, सांस्कृतिक सम्बन्धमा पनि दरार उत्पन्न हुँने छाँटकाँट पैदा भएको छ ।

भनिन्छ नि, ‘बोल्न पाए प्याच्च नबोल्नु, बस्न पाए थ्याच्च नबस्नु’ प्रधानमन्त्री ज्यू, तपाई राष्ट्रको अभिभावक हो, तपाईका हरेक बोलीले देशको गरिमा बोक्छ, ‘जिब्रोको गरिमा मिठो बोलीमा’ जस्तै गर्नुस ओज तपाईकै बढ्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *