‘धर्म र आस्थालाई राजनीति तथा कूटनीतिको हतियार बनाएर सत्ताको मलजल गर्न सह्य होइन’

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्याको बारेमा अभिव्यक्ति दिएर नेपाल-भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्ध बिगारेको टिप्पणी गरेका छन् ।

मंगलबार (आज) आफ्नो आधिकारिक फेसबूक ह्याण्डलमा संक्षिप्त टिप्पणी गर्दै नेता कोइरालाले प्रधानमन्त्री ओलीले अप्रमाणित, गैरजिम्मेवारी र विवादस्पद अभिव्यक्ति दिएर नेपाल-भारतबीचको सांस्कृतिक तथा धार्मिक सम्बन्ध बिगारेको टिप्पणी गरेका हुन् ।

नेता कोइरालाले नेपालले लुम्बिनी र भगवान् गौतम बुद्धका बारेमा कसैसँग सम्झौता गर्न नसकेजस्तै भारतले पनि अयोध्या र रामको बारेमा सम्झौता गर्न नसक्ने उल्लेख गरेका छन् ।

“जसरी गौतम बुद्ध र लुम्बिनीका बारेमा हामी कसैसँग सम्झौता गर्न सक्दैनौं, त्यसैगरी भारतीयहरु मर्यादा पुरुष भगवान् श्रीराम र अयोध्याका बिषयमा केही कुरा सुन्न चाहँदैनन् ।” उनले फेसबूकमा लेखेका छन् ।

यसैगरी नेता कोइरालाले अयोध्या सम्पूर्ण भारतवासीहरुको आस्थाको केन्द्र रहेको पनि स्मरण गराएका छन् । उनले धर्म र आस्थालाई राजनीति तथा कूटनीतिको हतियार बनाएर सत्ताको मलजल गर्नु कसैलाई सह्य नहुने पनि उल्लेख गरेका छन् ।

यसअघि प्रधानमन्त्री ओलीले हिजो आदिकवि भानुभक्त आचार्यको २०७ औं जन्मजयन्तीको अवसरमा प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा आयोजित कार्यक्रममा अयोध्या नेपालमा पर्ने र राम नेपाली भएको अभिव्यक्ति दिएका थिए ।

उक्त अभिव्यक्तिलाई लिएर नेपाली तथा भारतीय शीर्ष नेताहरुले प्रधानमन्त्री ओलीको आलोचना गरिरहेका छन् । प्रधानमन्त्री ओलीको अभिव्यक्तिको भारतीय जनता पार्टी (भाजपा)ले पनि भर्त्सना गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *