अयोध्याका सन्तले भने, ‘ओलीलाई एक महिनाभित्रै सत्ताबाट झार्ने आन्दोलन शुरु’

काठमाडौं । अयोध्याका सन्तले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक महिनाभित्रै सत्ताबाट झार्ने आन्दोलन शुरु गर्ने चेतावनी दिएका छन् ।

अयोध्याबारे दिएका प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै राम दल ट्रष्ट अयोध्याका अध्यक्ष रामदास महाराजले ओलीलाई एक महिनाभित्रै सत्ताबाट उतार्ने आन्दोलन शुरु गर्ने चेतावनी दिएका भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

“मेरो लाखौं शिष्य नेपालमा पनि छन् । भोलिदेखि नै भक्तहरु सडकमा उत्रन्छन् । नेपालका प्रधानमन्त्री केपी ओलीलाई एक महिनाभित्र कुर्सीबाट हटाउनुपर्छ । म धर्मादेश जारी गर्छु, मेरा सबै शिष्य सडकमा उत्रिनुस् र अ‍ोलीलाई सत्ताबाट बाहिर पठाउनुस् ।” उनले भनेका छन् ।

यस्तै रामदास महाराजले अयोध्या विश्वको सांस्कृतिक राजधानी भएको टिप्पणीसमेत गरेका छन् । उनले वेद, पुराण र रामायणमा उल्लेख भएको सरयु नदी नेपालमा नरहेको बताए । उनले चक्रवर्ती सम्राट भारतको उत्तर प्रदेशको अयोध्याका महाराज भएको बताए ।

राम मन्दिर ट्रष्टका सदस्य महन्त दिनेन्द्र दासले अयोध्याको विषयमा गलत बोलेर ओलीले गल्ती गरेको टिप्पणी गरेका आजतकले जनाएको छ ।

योबीचमा प्रधानमन्त्री अ‍ोलीको अभिव्यक्तिप्रति भारतीय जनता पार्टीले समेत निन्दा गरिसकेको छ । यसअघि सामेबार (हिजो) ओलीले अयोध्या नेपालमा पर्ने र राम नेपाली भएको अभिव्यक्ति दिएका थिए ।

उनको उक्त अभिव्यक्तिका कारण अहिले ओली नेपालभित्रै तथा भारतमा आलोचनाको पात्र बनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *