जुम्ला पुगे पुराना सलह: अर्को झुण्ड नेपाल भित्रियो, सतर्कता अपनाउन आग्रह

काठमाडौं । जुम्लाको पातारासी गाउँपालिकामा सलह पुगेको छ । छिमेकी जिल्ला रुकुम र जाजरकोटमा पर्ने सीमावर्ती क्षेत्रमा देखिएिको भनिएको सलह जुम्लामा पनि पुगेको हो ।

पातारासी गाउँपालिका १ र २ का केही बस्तीमा सलह किराको झुण्डहरु प्रवेश गरेको भेटिएको स्थानीय बताएका छन् । यस अघि पनि काठमाडौं लगायत नेपालका विभिन्न जिल्लामा पनि सलहको देखिएको थियो । १६ दिन पहिले पनि नेपालमा सलहका ससाना बगालहरू भित्रिएका थिए ।

आइतबारसमेत भारत हुँदै नेपालमा दोस्रो पटक सलहको समूह प्रवेश गरेको छ । अहिले हावाको गति पूर्वोत्तर दिशामा रहेकाले भारतबाट सलहको बगाल नेपाल प्रवेश गरेको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को कीट विज्ञान महाशाखाका वरिष्ठ वैज्ञानिक सुनिल अर्यालले जानकारी दिए ।

‘अहिलेको समूह पहिलेको भन्दा ठूलो हो कि सानो हो भन्ने स्पष्ट भइसकेको छैन, तर आइतबार बिहानै भारतबाट नेपालमा प्रवेश गरेको पुष्टि भइसकेको छ’ उनले भने । आइतबार दाङहुँदै झण्डै १० लाखको संख्यामा रहेको सलहको नयाँ झुण्ड नेपाल प्रवेश गरेको हो ।

प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार आइतबार बिहान र दिउँसो सलहको झुण्ड दाङको गढवा गाउँपालिका र राप्ति नगरपालिका क्षेत्रको आकाशमा देखिएका छन् । ‘सलहको त्यो झुण्ड अहिले प्यूठान, अर्घाखाँची लगायतका जिल्लासम्म पुगेका छन्,’ प्रवक्ता सुवेदीले भने, ‘आइतबार आएको सलहको झुण्ड १० देखि १२ लाखको संख्यामा छ । तर, अहिलेसम्म त्यसले बालीनाली खाएको सूचना आएको छैन ।’

यसैबीच सलहका थप झुण्ड पनि नेपाल आउने तयारीमा रहेको पनि उनले बताए । उनका अनुसार आज र भोलिसम्म दाङ, रुपन्देही, कपिलबस्तु, जनकपुर लगायतका ठाउँबाट सलहका विभिन्न झुण्ड नेपाल प्रवेश गर्ने सम्भावना छ । हावाको बहाव दक्षिणबाट पूर्वोत्तर दिशातिर बगेकोले राजस्थानबाट अन्य झुण्ड पनि नेपाल प्रवेश गर्ने संभावना बलियो भएको हो ।

सतर्कताका लागि आह्वान
प्लान्ट क्वारन्टीन तथा विषादी व्यवस्थापन केन्द्रले शनिवार सूचना जारी गर्दै सतर्कता अपनाउन आह्वान गरेको छ । केन्द्रले जारी गरेको सूचनामा भनिएको छ, ‘सलहले तपाईका जिल्लासहित प्युठान, अर्घाखाँचीलगायतका अन्य छिमेकी जिल्लाहरूमा प्रवेश गरी नोक्सान गर्न सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन तथा पूर्वतयारीका साथ रहनुहुन सम्बन्धित सबैमा अनुरोध छ ।’ नेपालमा अहिले प्रदेश नम्बर ५, २ तथा १ का तराई र मध्यपहाडी क्षेत्रमा सतर्कता अपनाउनुपर्ने केन्द्रको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 11 =