‘सरकारको ध्यान महामारी र विपत्तिमा परेका नागरिकको रक्षामा केन्द्रित हुनुपर्दछ’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की केन्द्रीय सदस्य भगवती चौधरीले सरकारको ध्यान नागरिकको जिउधनको रक्षामा केन्द्रित हुनुपर्ने बताएकी छिन् । मुलुक कोरोना महामारीसँग जुधिरहेका बेला प्राकृतिक विपत्ति समेत निम्तिएकाले सरकारको ध्यान नागरिकको रक्षामा केन्द्रित हुनुपर्ने उनको भनाई छ ।

एक प्रेस नोट जारी गर्दै केन्द्रीय सदस्य चौधेरीले देशैभर भारी वर्षाले निम्त्याएको विपत्तिप्रति दुखः व्यक्त गरेकी छिन् । यस्तो विषम परिस्थितिमा सरकारले उद्दार, राहत वितरण तथा पुर्नस्थापनाका कार्यलाई सक्दो परिचालन गर्न आवश्यक रहेकोमा उनले जोड् दिईन् ।

‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले समेत सत्तारुढ पार्टीभित्रको विवाद आन्तरिक विषय भएकोले त्यसलाई पछि व्यवस्थापन गर्ने तथा समाधान गर्ने गरी आम कार्यकर्ता र नागरिकलाई प्राकृतिक प्रकोपबाट पीडीत नागरिकको उद्दार, राहत पुर्नस्थापनामा जुट्न आग्रह गर्नुभएको छ’ उनले भनेकि छिन् ।

‘अहिले एकातिर भारतले नेपालको भूमी अतिक्रमण गरेको अवस्था छ, अर्कोतिर प्राकृतिक विपत्ति पनि बढिरहेको छ । सँगसँगै विश्वब्यापी कोरोना भाइरसको महामारीसँग पनि हामीले लड्नु परिरहेको परिप्रेक्ष्यमा सत्तारुढ नेकपाभित्र देखिएको मतान्तरले मुलुकलाई कठिन घडीमा उभ्याई दिएको छ’ पूर्व राज्यमन्त्री समेत रहेकी नेतृ चाैधरीले अगाडि उल्लेख गरिकी छिन्- ‘यस्तो परिस्थितिमा पार्टी नेतृत्वले पार्टीभित्रका मतान्तरहरु केलाउनु भन्दा मुलुक र यहाँका जनतालाई राहत दिने, प्राकृतिक विपत्तिमा परेकालाई उद्दार गर्ने, राहत दिने तथा उनीहरुको पुर्नस्थापनामा जोड दिनु पहिलो कर्तब्य हो ।’

आम नागरिकले भोग्नु परेको विपत्तिमा गम्भिर हुँदै उनीहरुको उद्दारमा लागेर सरकार र पार्टी जनताका पक्षमा छ भन्ने भरोसा दिलाउनु नेतृत्वको पहिलो जिम्मेवारी भएको उनको भनाई छ । ‘नविर्सौं, हामीले मुलुक र यहाँ रहेका साँढे तीन करोड जनताको लागि राजनीति गरेका हौं, हामी नेतृत्वले जनउत्तरदायी भएर काम गर्न सकेनौं भने त्यसले जनतामा राजनीतिक नेतृत्व प्रति नै निराशा पैदा गर्दछ’ उनले भनिन्- ‘उसैपनि जनताले सरकार र राजनीतिक दलबाट समुचित अभिभावकत्व प्राप्त नभएको गुनासाहरु गरिरहेका छन् । झन विश्व नै संकटमा परेको बेला, मुलुकका जनताहरु दिनरात विभिन्न समस्यामा परेको बेला राज्यको अभिभावकत्व अनिवार्य हो । तसर्थ, यो समय आन्तरिक विवाद र मतान्तरमा अल्झिने समय हैन ।’

केन्द्रीय सदस्य चौधेरीले अहिले नेपालको राजनीतिक र भौगोलिक अवस्था कठिन घडीमा रहेको बेला हामीहरुले आन्तरिक समस्यालाई थाँती राखेर जनता र मुलुकको राष्ट्रियताका पक्षमा आफुलाई उभ्याउनु आवश्यक बताइन् ।

‘मुलुक संघियतामा गइसकेको अवस्थामा तीन तहका सरकार हामीसँग छ । स्थानीय, प्रदेश र केन्द्र सरकारले आन्तरिक विपत्तीमा समन्वय गरेर काम गरे जनताले चाँडो राहतको अनुभूती गर्न पाउँछन् । म तीनै प्रकारका (स्थानीय, प्रदेश र केन्द्र) सरकारलाई यस परिस्थितिमा एकजुट भएर लाग्न अनुरोध गर्दछु । अन्त्यमा प्राकृतिक विपत्तीमा परी आफ्नो परीवारजन गुमाउनुहुने सम्पूर्ण नागरिकहरुमा गहिरो दुखः प्रकट गर्दछु’ उनले भनिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *