कोरोना भाइरसलाई निर्मूल पार्न सकिने सम्भावना अति कम छ : डब्ल्यूएचओ

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले नोवेल कोरोना भाइरस (कोभिड १९)लाई पूर्ण रुपमा नष्ट गर्न सकिने सम्भावना अति कम रहेको बताएको छ ।

संगठनका आपत्कालीन कार्यक्रम प्रमुख डा. माइक रायनले शुक्रबार (हिजो) कोरोना भाइरस पूर्ण रुपमा नष्ट गर्न वा त्यसबाट पूर्ण रुपले छुटकारा पाइन्छ जस्तो नलागेको बताएका हुन् ।

“अहिलेजस्तो अवस्था देखिएको छ, त्यसलाई हेर्दा यो लाग्दैन कि यो भाइरसलाई पूर्ण रुपमा निर्मूल गर्न सकिन्छ ।” उनले जेनेभामा भएको अनलाइन पत्रकार सम्मेलनमा भनेका समाचार रेउटर्सले सम्प्रेषण गरेको छ ।

उनले त्योभन्दा अगाडि भनेका छन्, ‘क्लस्टरका रुपमा संक्रमण फैलिएको छ, त्यहाँ संक्रमण रोक्न सकिन्छ, महामारीको दोस्रो लहरबाट बच्न सकिन्छ । तर यो भाइरसलाई पूर्ण रुपमा निर्मूल गर्न भने सकिँदैन ।’

संगठनका अनुसार हिजो विश्वभर अहिलेसम्मकै धेरै दुई लाख २८ हजार १०२ जनामा संक्रमण पुष्टि भएको थियो ।

संगठनकाअनुसार हिजो अमेरिका (उत्तर तथा दक्षिण) मा एक लाख ३८ हजार, यूरोपमा २० हजार, पूर्वी भूमध्यसागरमा १६ हजार, दक्षिण पूर्वी एसियामा ३२ हजार तथा अफ्रिकामा १७ हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको थियो ।

विश्वभर कोरोना भाइरसबाट संक्रमितको संख्या एक करोड २४ लाख ६५ हजार भन्दा धेरै पुगेको छ । त्यसमध्ये पाँच लाख ५९ हजार भन्दा बढीको ज्यान गएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *