देशका विभिन्न ठाउँमा बाढी/पहिरोः कतिले गुमाए ज्यान ?

काठमाडौं । कास्कीका विभिन्न स्थानमा अविरल वर्षासँगै खसेको पहिरोमा पुरिएर ७ जनाको मृत्यु भएको छ । पोखराको सराङकोट, हेम्जा र पैतेडाँडामा गएको पहिरोमा पुरिएर ७ जनाको मृत्यु भएको हो भने १२ जना घाइते भएका हुन् ।

पोखरा–१८ सराङकोट गोठादीमा राति साढे २ बजेतिर खसेको पहिरोले टंकबहादुर थापाको घर पुर्दा ५ जनाको मृत्यु भएको छ । पहिरोमा ९ जना घाइते भएका छन् । घाइते सबैको मणिपाल र गण्डकी अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै पोखरा–२५ हेम्जामा पहिरोले घर पुर्दा ७० वर्षीया हिमकली अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । यता पोखरा–२६ पैतेडाँडामा पनि पहिरोले घर पुर्दा स्थानीय दुर्गाबहादुर सुनारको मृत्यु भएको छ ।

त्यस्तै म्याग्दीमा लगातारको वर्षासँगै पहिरो जाँदा म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङको रिखामा आज बिहान सात जना बेपत्ता भएका छन् । माथिल्लो भागमा रहेको घण्टीवाङका १३ परिवार पहिरोले विस्थापित भएका छन् ।

यसैगरी लमजुङको बेसीसहर नगरपालिका–७, सातबिसेमा पहिरोले घर पुरिँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । दिपक तामाङको घर पुरिँदा ३३ वर्षीय तामाङसहित उनकी श्रीमती २५ वर्षीया बीमाया तामाङ र ९ वर्षीय छोरा छेवाङ तामाङको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनले दिएको जानकारी अनुसार प्रहरी टोलीले ३ जनाको भने जीवितै उद्धार गरेको छ । जीवितै उद्धार गरिएकामा सोही स्थानका २६ वर्षको सन्त वहादुर गुरूङ, बेसिशहर १० पांग्रेक्यु घर भएको वर्ष २३ अनिल गुरूङ र पांग्रेक्युकै २३ वर्षीय सुमन तामाङ छन् ।

उता रुकुम पश्चिममा पहिरोले घर पुर्दा एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । आज बिहान ६ बजेतिर गएको पहिरोले जिल्लाको आठबीसकोट नगरपालिका–३ रेझेखोलाका तुलबहादुर दमाईंको एक तले घर पुर्दा दमाईंकी श्रीमती र छोराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा श्रीमती २८ वर्षीया सीता र छोरा छ वर्षीय हाविल रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए । पहिरोले घर पुरिँदा आठ वर्षीया छोरी हिरा घाइते भएको र उनको अवस्था मध्यम रहेको प्रहरी नायब उपरीक्षक केसीको भनाइ छ ।

यता सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर–३ लार्चा फुँमाछेमा बिहीबार राति पहिरो जाँदा एक जनाको मृत्यु भएको छ । बिहान ६ बजे भैरव कुण्ड र फुँङमाछेबाट आएको खोलाको बाढीसँगै आएको पहिरोमा परि एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सोही स्थानका ५७ वर्षिय नाङ्चे मगर रहेको भोटेकोशी गाउँपालिका वडा–३ का अध्यक्ष कैलाश पौडेलले पुष्टि गरे । वडाध्यक्ष पौडेलका अनुसार उनको शव पहिरोले लगेको कारण भेटिएको छैन । उक्त क्षेत्रमा १४ घर विस्थापित भएको छ ।

सिन्धुपाल्चोकमा बुधबार पनि पहिराे गएकाे थियाे । गृह मन्त्रालयका अनुसार बुधबार राति आएको बाढ–पहिरोमा परी २ जनाले ज्यान गुमाए । बाँकी २१ जना अझै बेपत्ता छन् भने गम्भीर घाइते भएका ६ जनालाई उपचारका लागि हेलिकप्टरमार्फत् बिहीबार काठमाडौं ल्याइयो ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ५ जबमुस्थित याल्मु खोलामा बाढी आउँदा १४ घर बगे भने १६ जना बेपत्ता भए । स्थानीय २ जनाले ज्यान गुमाएका हुन् । चार जना घाइतेको उद्धार भइसकेको छ ।

साेही दिन बाह्रबिसे नगरपालिका ३ खागदलस्थित अरनिको राजमार्गमा रहेको ठाडो खागदल खोलामा आएको बाढीले ११ वटा घर बगायो । भोटेकोशी गाउँपालिका ५ बुलकुटे खोलाको बाढीले बगाउँदा ४ जना बेपत्ता भए भने २ जनजा घाइते भएका छन्।

अन्य जिल्लामा पनि बाढी-पहिराे गइरहेकाे छ । गृह मन्त्रालयको राष्ट्रिय आपतालीन कार्यसञ्चालन केन्द्रका अनुसार शुक्रबार बिहानसम्म ३१ जनाको मृत्यु भइसकेको छ भने दर्जनौं घाइते र बेपत्ता भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − twelve =