आजबाट चार दिन यो वर्षकै बढी पानी पर्ने, सावधानी अपनाउन आग्रह

काठमाडौं । आजबाट चारदिन लगातार यो वर्षकै बढी पानी पर्ने बताउँदै सावधानी अपनाउन सरकारले आग्रह गरेको छ । मुलुकका विभिन्न चार वटा प्रदेशमा आगामी चार दिन यस वर्षको (मनसुन सक्रिय भएपछिको) अहिलेसम्म कै बढी पानी पर्ने अनुमान गरीएको छ ।

असार २५ देखि २८ सम्म प्रदेश नं १, २, बागमती र गण्डकी प्रदेशमा मनसुन शुरु भएपछिको अहिलेसम्म कै बढी वर्षा हुने अनुमान गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । गृह मन्त्रालय अन्तरगतको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले पनि सुचना जारी गर्दै यो वर्ष भारी वर्षाले बाढी, डुवान र पहिरोको जोखिम बढाइदिइएको बताएको छ ।

मनसुन शुरु भएदेखि नै पानी परिरहेको भन्दै पानीको सतह माथि आइसकेको र जमिन गलिसकेको, जुलाई र अगस्टमा मौसम थप सक्रिय हुनसक्ने मौसम विभागको अनुमान छ । सम्भावित पानी पर्ने प्रदेशको तराई तथा चुरे क्षेत्रबाट बग्ने नदी, खोला तथा खहरेमा बाढी बढ्ने र समतल भूभागमा डुबानको सम्भावना हुने भएकाले विशेष सावधानी अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ ।

सरकारले यसवर्ष असारमा आधारित विपद्को सूचना प्रणाली व्यवस्थापन गरेकोले पानीपर्ने सम्भावना छ मात्रै नभनी कुनकुन क्षेत्रमा पानी पर्नेछ, कस्तो असर गर्न सक्छ, त्यसबाट कसरी सावधानी अपनाउने भनेर सार्वजनिक सूचना दिन थालिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले उल्लेख गरेका छन् ।

मुलुकमा गएको वैशाखदेखि अहिलेसम्म पर्याप्त पानी परिसकेको छ । प्रि–मनसुनमा नै भारी वर्षा भएकाले जमिन गलिसकेको सन्दर्भमा ठाउँठाउँमा बाढी पहिरोले मानवीय क्षति पुर्याउन सक्ने अनुमान छ । पर्वत र बझाङको ठूलो पहिरोमा मात्रै १५ जनाको ज्यान गएको छ । प्राधिकरणको अभिलेखअनुसार वैशाखदेखि अहिलेसम्म कूल ८०४ वटा विपद् घटनामा ११४ जनाको मृत्यु भएको छ ।

यसवर्ष मनसुनका समयमा औसत वर्षा हुने मौसम विभागले भनेको छ । औसत वर्षा पनि कुनै समय कम पानी पर्ने र कुनै समय भारी वर्षा हुनसक्ने विज्ञले बताएका छन् । भारी वर्षाले ठाउँठाउँमा बाढी, डुबान र पहिराको जोखिम बनाइसकेको छ । पहाडी क्षेत्रमा साना तथा खहरे खोला र नदीनालाको बहाव बढ्न थालेको छ । आगामी चार दिन खतराको तहसम्म बढ्ने अनुमान छ । यसतर्फ सचेत भएर चनाखो हुनसमेत प्राधिकरणले जनाएको छ ।

जल तथा माैसम विज्ञान पूर्वानुमान महाशाखाले पनि तीन दिनकाे माैसमी अनुमान गर्दै  देशका धेरैजसो स्थानहरुमा मेघगर्जन/चट्याङ्ग  सहित हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेकाे बताएकाे छ । महाशाखाले सबै प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना  रहेको हुँदा उक्त प्रदेशका नदीहरुमा पानीको बहाव बढ्नेपहाडी क्षेत्रमा भू-क्षय हुनेपहिरो जानेसडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *