प्रहरी निरीक्षकविरुद्ध भ्रष्टाचारको आरोप, अख्तियारले हाल्यो मुद्दा

काठमाडौं । ईलाका प्रहरी कार्यालय, भिमफेदी, मकवानपुरमा कार्यरत प्रहरी निरीक्षक राम बालक रायमाथि भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग १२ हजार घुस लिएको आरोपमा प्रहरी निरीक्षक रायविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
‘निर्माण सामाग्री ढुवानी गर्न प्रयोग हुने सवारी साधन रोकी बारम्बार पैसा मागी दुःख दिएको हुँदा निजलाई आवश्यक कारवाही गरी पाउँ भन्नेसमेत व्यहोराको प्राप्त उजुरी सम्बन्धमा अनुसन्धान हुँदा प्रहरी निरीक्षक राम बालक रायले सेवाग्राहीको सामाग्री ढुवानी गर्न प्रयोग हुने सवारी साधन रोकी बारम्बार पैसा मागी दुःख दिएर १२ हजार घुस माग गरी लिएको देखिएको छ’, अख्तियारको आरोप पत्रमा उल्लेख छ ।
रायलाई भ्रष्टाचार निवारण ऐन बमोजिम बिगो १२ हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम जरिवाना र कैद सजाय हुने अख्तियारले जनाएको छ ।








