चिनियाँ राजदूतको सक्रियता सम्बन्धमा मन्त्री भट्टराईले उठाए ४ प्रश्न

काठमाडौं । पार्टीभित्र विवाद चर्किरहेका बेला नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको सक्रियाता बढ्न थालेको भन्दै सत्तारुढ नेकपाको चर्को आलोचना भइरहेको छ । नेकपामा किचलो चलिरहँदा राजदूत याङ्छीले विभिन्न नेताहरूसँगको भेटघाट तीव्र बनाइरहेकी छन् । उनले दुई दिनअघि वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाललाई भेटिसकेकी छिन् ।

पार्टीभित्र आन्तरिक विवाद चलिरहेका बेला उनको सक्रियतालाई नेपालको राजनीतिमा अनावश्यक हस्तक्षेपका रूपमा लिइएको छ ।
प्रतिपक्षसहित धेरै नेताहरुले यान्छी र सत्तारुढ नेताहरुबीचको भेटलाई नकारात्मक रुपमा व्याख्या गरिरहेका बेला पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भने सरकारको बचाउ गर्दै सकारात्मक रुपमा व्याख्या गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गरेका मन्त्री भट्टराईले कुनै पनि विदेशीको राजनीतिक तथा कुटनीतिक गतिविधिलाई सुन्न सकिने तर मान्ने नमान्ने अधिकार आफैमा भर पर्ने भन्दै चार प्रश्न उठाएका छन् ।
उनले लेखेका छन्- ‘संविधान बनाउने बेलामा असफल पार्न खाेज्नु ठिक वा संविधान निर्माणप्रति सद्भाव राख्नु ठिक ? पहिलाे र दाेस्राे संविधानसभाकाे बेलामा तराई र पहाड, जाति जनजातिकाे सामान्य अन्तरविराेधलाई चर्काएर नेपालमा विग्रह ल्याउन प्रयत्न गर्नु ठिक वा त्यसलाई हल गर्न र नेपाल र नेपालीकाे एकताप्रति सद्भाव राख्नु ठिक ?, नेपालमाथि नाकाबन्दी लगाएर हायलकायल पार्न खाेज्नु ठिक वा त्याे गलत हाे, नेपाल र नेपालीलाई बाँच्न देउ भन्नु ठिक ?’
त्यस्तै उनले पार्टी/पार्टी र पार्टीभित्रकाे अन्तरविराेधमा भारतले घ्यु थप्ने काम गरेकाे पनि घुमाउराे रूपमा व्याख्या गरेका छन् । उनले लेखेका छन्- ‘पार्टी/पार्टी र पार्टीभित्रकाे अन्तरविराेधमा घ्यु थपेर नेपालकाे लाेकतन्त्रलाई कमजाेर बनाउनु र अस्थिरता सिर्जना गर्नु ठिक वा सबै पार्टीबिचमा राम्राे एकता बनाउँदै नेपालकाे समृद्धिप्रति सद्भाव राख्नु ठिक ?’
कुनैपनि विदेशी राजनीतिक तथा कुटनीतिक गतिविधिलाई यसै सन्दर्भबाट हेरियाे भने सहि हुने भन्दै उनले कसैकाे पनि कुरा सुन्नु राम्राे र मान्ने नमान्ने अधिकार आफ्नाे हुने उनकाे भनाइ छ ।








