ढलको पानीबाट मानिसमा सर्छ त कोरोना ? यसाे भन्छ स्वास्थ्य मन्त्रालय

काठमाडौं । काठमाडौंको ढलमा कोरोना भाइरस भेटिएको भन्ने विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको भन्दै सर्वसाधारणलाई नआत्तिन आग्रह गरेको ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज (आइतबार) को प्रेस ब्रिफिङका क्रममा ढलमा कोरोना देखियो भन्दैमा नआत्तिन आग्रह गरेका हुन् । ढलको पानीमा कोभिड १९ भाइरसको अंश भेटियो भन्दैमा समुदायमा संक्रमण फैलिएर जटिल अवस्था सिर्जना भएको भन्न नमिल्ने उनको भनाइ छ ।

‘ढलको पानीमा कोरोना भाइरसको पहिचान भएपनि यसको माध्यमबाट मानिसमा कोभिड १९ सर्न सक्ने सम्भावनालाई अध्ययनहरुले पुष्टि गरेका छैनन् । तैपनि अन्य संक्रमण रोगका किटाणु प्रशस्त हुने हुनाले ढलको पानीको उचित प्रशोधन हुन भने जरुरी हुन्छ’, प्रवक्ता गौतमले भने ।

ढलको पानीबाट कोरोना संक्रमण भएको प्रमाण फेला नपरेपनि ढलको फोहोर पानीमा काम गर्ने सरसफाईकर्ताले उचित प्रकारका व्यक्तिगत सुरक्षा सामग्री लगाउनु जरुरी रहेको उनले बताए । अन्य संक्रमणकाे अवस्थालाई मध्येनजर गरी फाेहाेर पानीकाे उचित व्यवस्थापन भने हुनुपर्ने उनकाे भनाइ छ ।

विश्वमा अन्यत्र भएको अध्ययनले व्यक्ति कोभिड १९ बाट संक्रमित रहेकै अवस्थामा वा निको भइसकेपछि पनि ढलमा कोभिड १९ भाइरल आरएनए फ्याग्मेन्स अर्थात भाइरसका टुक्राटाक्री भेटिएको देखिने डा. गौतमले स्पष्ट पारे । उक्त भाइरसका टुक्राटाक्री सामान्यतया रोग सार्ने खालको नहुने उनले जानकारी दिए ।

अध्ययनहरु अनुसार कोरोना भाइरस सामान्य तापक्रमको पानी जसमा क्लोरिन जस्तो जीवाणु नाशक औषधी राखिएको फोहोर पानी अर्थात अस्पतालबाट निस्कने ढलको पानीमा पनि दुई दिनसम्म बाँच्ने देखिएको उनले बताए । ढलकाे पानीमा भेटिएकाे भाइरसबारे स्वास्थ्य मन्त्रालयले थप अनुसन्धान गर्ने उनले जानकारी दिए ।

सेन्टर फर मोलिक्युलर डायनामिन नेपालले राजधानीको ४ वटा ढलको नमुना लिएर परीक्षण गर्दा दुईवटा नमुनामा कोरोना भाइरस देखिएको जानकारी गराएकाे थियाे । यो परीक्षणको अनुसन्धानकर्ता डा.दिवेश कर्माचार्यका अनुसार घना मानवबस्ती भएको ठाउँको ढलबाट नमुना संकलन गरिएको थियो । नमुना संकलन गरिएको हरेक ढलमा १०० देखि ५०० घरको ढल मिसिने गरेको थियो । नमुना संकलन गरिएको ढलबीच खास दूरीसमेत कायम गरिएको थियो ।

‘हामीले ४ मध्ये दुईवटा ढलको नमुनामा ‘कोभिड-१९’ संक्रमण उत्पन्न गर्ने भाइरस पायौं,’ डा.कर्माचार्यले भनेका छन्, ‘उक्त दुवै नमुनामा चीनको वुहानमा पाइएको प्रजातिकै भाइरस पाइयो ।’ अनुसन्धानकर्ताहरूले यसको सूचना स्वास्थ्य मन्त्रालय र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई समेत दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 18 =