कोरोनाकै कारण तत्काल चल्दैनन् सार्वजनिक सवारीहरु

काठमाडौं । कोरोना संक्रमणले आम मानिसको दैनिकीलाई असर गरेपनि तत्कालै सार्वजनिक सवारी सञ्चालनमा आउन सक्दैनन् । यातायात व्यवसायीहरुले पनि कोरोना जोखिम उच्च रहेको भन्दै सार्वजनिक यातायातका सवारी साधान चलाउन नसकिने बताएका हुन् ।

नेपाल राष्ट्रिय यातायाता व्यवसायी महासंघले विज्ञप्ति नै निकालेर ततकाल कुनैपनि प्रकारका सार्वजनिक सवारी साधन चल्न नसक्ने जनाएको छ । शनिबार विहानै देखि आइतबारबाट सार्वजनिक सवारी साधन चल्न सक्ने हल्ला फैलाइएको थियो । हल्ला कसले फैलायो पुष्टि नभएपनि यातायात व्यवसायीले नै सार्वजनिक सवारी चल्न नसक्ने भनेपछी यातायात क्षेत्रमा कार्यरत लाखौं मजदुरहरु मर्कामा परेका छन् ।

चैत्र ११ गतेदेखि घर तथा ग्यारेजमा थन्किएका सवारी साधन लगाउन सरकारले आवश्यक पहल गर्न नसकेको यातायात व्यवसायीहरुको आरोप छ । साउन ७ गतेसम्मका लागि सरकारले लकडाउनको अवधि थपेको छ । कोरोना संक्रमण दर दिन प्रतिदिन बढ्दो रहेकोले साउन पछिपनि लकडाउनको अवधि थपिने संकेत देखिएको छ ।

नेपालका यातायात व्यवसायीहरु आर्थिक संकटमा परेको महासंघले जनाएको छ । महासंघका साथै मजदुर ट्रेड युनियन समेतले पटक–पटक मौखित तथा लिखित रूपमा लकडाउनबाट परेको क्षति र असर तथा लकडाउन खुकुलो बनाउने सम्बन्धमा समेत सरकारलाई आवश्यक राय सुझाव दिएपनि सरकारले सार्वजनिक यातायात सञ्चालनका लागि कुनै योजना नबनाएको महासंघको आरोप छ ।

‘लकडाउन खुला गर्नेबारे सरकारले कुनै पनि ठोस निर्णयमा पुग्न नसक्दा नेपालको सार्वजनिक यातायातको क्षेत्रमा पनि अन्योल थपिएको छ,’ महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ । महासंघले सार्वजनिक यातायात सञ्चालन गर्नेबारे मजदूर, व्यवसायी र सरकारसँग निरन्तर औपचारिक तथा अनौपचारिक रूपमा वार्ता र सम्वाद गरिरहेको बताउँदै चाँडै नै सरोकारवाला निकायसँग बैठक बसेर निर्णय गर्ने बताएको छ । सार्वजनिक सवारी साधन सञ्चालन नहुँदा यातायात व्यवसायी, मजदूर र यात्रुलाई परेको समस्याप्रति सरकार गम्भीर हुनुपर्ने उनीहरुको भनाइ छ ।

यता यातायात व्यवस्था विभागले सार्वजनिक यातायात सञ्चालनका लागि निर्देशिका बनाएपनि व्यवहारिक नभएको व्यवसायीहरुको तर्क छ । महासंघले विभागले बनाएको निर्देशिका मानेर सवारी साधन सञ्चालन गर्न नसकिने प्रष्ट पारेको छ । निर्देशिका अनुसार आधा यात्रु बोकेर बस सञ्चालन गर्दा तेल खर्च समेत नउठ्ने जिकिर गरीएको छ ।

विभागले यात्रुले अनिवार्य रूपमा मास्क स्यानिटाइजर प्रयोग गर्ने, बसभित्र सामाजिक दुरी कायम राखेर एक सिट छाडेर बस्ने, सहचालकका र चालकका लागि क्याबिन व्यवस्था गर्नुका साथै यात्रुहरुबीच कुनै सम्पर्क नहोस भनेर बार्ने लगायतका बुँदाहरु राखेर निर्देशिका तयार पारेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *