नेकपालाई अगाडी डाेर्याउने स्थायी कमिटिका ७ ऐजेन्डाहरू

लामो समय पश्चात नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठक बालुवाटारमा जारी छ । विधानतः हरेक ३ महिनामा बस्नु पर्ने बैठक ७ महिना पछि मात्र बसेको छ त्यो पनि स्थायी कमिटिका २० जना सदस्यहरूले बैठकको माग गरे पछि मात्र ।

स्थायी समितिका सदस्यहरूले माग गरिसकेपछि १५ दिन भित्र बैठक राख्नु पर्ने कुरा विधानमा लेखिएको छ तर विधानतः बैठक नबसे पनि ढिलै भए पनि ती २० जना सदस्यहरूको सुनुवाई भएको छ । यतिबेला लाखौं कम्युनिष्ट कार्यकर्ताहरूले यो बैठकलाई महत्व दिएर हेरिरहेका छन् । किनकी पार्टी आन्तरिक कलहलाई कसरी व्यवस्थापन गर्दछन र नेकपा पार्टीलाई कसरी विधानत पद्दतिमा लैजान सक्छन ? यहाँ पाटी स्थायी कमिटिका एजेन्डाहरू माथि चर्चा गरी कम्युनिष्टका लाखौं कार्यकर्ताका बीचमा प्रष्ट पारिने प्रयास हुनेछ । स्थायी कमिटिले कार्यसूची बनाई ७ वटा एजेन्डामा बहस गरिरहेको छ । पंक्तिकारले पनि यी ७ वटा एजेन्डामा नै बहस गर्नु उचित लागेर पाठकका माझ पस्कने प्रयास गरेको छ ।

एजेन्डा १ : वर्तमान परिस्थिति र स्थायी कमिटिको बैठकका सम्बन्धमा अध्यक्षद्वयको सम्बोधन

आजको परिस्थिति निकै जटिल छ नेपालमा मात्र हैन विश्व समुदायमा नै जटिल परिस्थितिको निर्माण भएको छ । तसर्थ नेपाल जस्तो अल्प विकसित देशमा वर्तमान परिस्थितिलाई सजिलो बनाउनको लागि नेपालका पार्टीहरू, बुद्धिजिवीहरू व्यवसायीहरू, पत्रकार लगायत आम नागरिकहरूले एकमतका साथ कोरोना भाइरसबाट जोगाउन र देशको विकासको एजेन्डामा एकमत हुनु पर्दछ । यही सेरोफेरोमा रहेर नेकपा पार्टीका अध्यक्षद्वयले पार्टी भित्र देखिएका समस्याहरूलाई समाधान गरी सिङ्गो देशको सफल नेतृत्व गर्ने गरी आम नागरिकहरूलाई विश्वासको वातावरण दिलाउन सक्नु पर्दछ ।

अध्यक्षद्वयको सम्बोधन नेकपा पार्टीका लाखौं कार्यकर्ताहरूको भावना अनुरूप हुनुपर्दछ तर बैठकमा एउटा अध्यक्षले सरकारको बचाउको प्रशंसा मात्र गर्ने र पार्टीलाई दोष मात्र लाउने र अर्का अध्यक्षले सरकारको विरोध मात्र गर्ने र रोष मात्र प्रकट गर्ने किसिमको १/१ घण्टाको सम्बोधनले समस्या समाधान हुँदैन । यस्तो सम्बोधन हुनुपर्दछ कि विगतका कमी कमजोरी यी यी रहे अब पार्टीको गल्ति कमजोरीलाई सुधारेर हामी हाम्रो देशको लागि नेकपा पार्टीको लागि यस्ता यस्ता कामहरू गर्छु भनेर अध्यक्षद्वयले सम्बोधन गरेर आफ्ना गल्ति कमजोरीहरूलाई सुधारेर सुध्रन जरुरी छ ।

अध्यक्षद्वयले निर्ममता पूर्वक आ–आफ्ना कमजोरीहरू स्थायी कमिटि सदस्यहरूको बीचमा राख्नु पर्दथ्यो । दुवै जना अध्यक्षले हाम्रो कारणले नेकपा पार्टी पनि सही दिशामा अघि बढनै सकेन, देश पनि अघि बढ्न सकेन भनेर आत्मालोचित हुँदै माफी माग्दै अबका मितिबाट हामी आफ्ना व्यक्तिगत स्वार्थ परित्याग गरी सिङ्गो नेकपा पार्टीलाई एकमताका साथ अघि बढाउँछौं भन्ने प्रतिबद्दताबाट शुरु हुनु पर्दथ्यो तर विडम्बना फेरी पनि एक अर्कालाई घोचपेच र आत्मकेन्द्रित तवरबाट सम्बोधन गर्दा घण्टौ समय सकियो ।

एजेन्डा २ : कोभिड १९ को नियन्त्रण, रोकथाम र उपचार सम्बन्धमा

कोभिड १९ को कारणले देशको अर्थतन्त्र, विकास लगायत धेरै विषयवस्तुहरूमा नकारात्मक प्रभाव परेको बेला, मानव समुदाय माथि नै संकट परेको बेला यो एजेन्डा असाध्यै महत्वपूर्ण छ । चिनको उहान प्रान्तबाट आएको यो भाइरसले संसारभरी नै मानव समुदायलाई अफ्टयारो पारेको छ । यसको नियन्त्रण गर्न, रोकथाम गर्न र कोभिड १९ बाट ग्रस्त नागरिकको उपचार गर्न नेकपा पार्टीले ठोस योजना ल्याउन जरुरी छ । किनकी आज महिनौं दिनसम्म पनि कोरोना लागेको छ कि छैन भनेर टेष्ट गरेको रिर्पाेट कुर्न नेपाली जनता बाध्य छन् । क्वारेन्टाईनमा रिर्पाेट कुर्दा कुर्दा मृत्यु भएको समाचार दिन प्रति दिन सुनिरहेका छौं । क्वारेन्टाइनमा बस्दा बस्दै रोग सर्ने डर छ किनकी क्वारेन्टाइन व्यवस्थित बनाइएका छैनन । कुनै पनि सुविधाहरू छैन तसर्थ नेकपा पार्टीको यो बैठकबाट आम नेपाली समुदायलाई कोभिड १९ को रोगबाट बचाउनको लागि ठोस योजनाका साथ राहतका प्याकेज कार्यक्रमहरू घोषणा हुन जरुरी छ ।

जनतालाई कमसे कम कम्युनिष्ट सरकारले हामीलाई यति त राहत दियो भन्ने अनुभुति हुने निर्णय होस । अथवा जनतालाई दुःख पर्दा विपत्ति आइपर्दा राज्य हाम्रो छ, सरकारले हामीलाई हेर्छ भन्ने अनुभूति होस् ।

एजेन्डा ३ : नेपालको सीमा समस्या र समाधान

विगतदेखि वर्तमान सम्म नेपालको भू–भाग कुनै पनि छिमेकी देशले मिचेको छ भने अब एकै पटक घनिभूत वार्ता गर्न जरुरी छ । पटक पटकमा नभई जति पनि सिमानाका समस्याहरू छन् ती सबैको एकै पटक वार्ता गरी समाधान गर्नु पर्दछ । नेपाल सरकारले जसरी लामो समय देखि भारतद्धारा अतिक्रमित भू–भाग कालापानी, लिम्पियाधुरा, लिपुलेक भूभागको सिमाना समेटेर नक्सा जारी गरयो । यो इतिहासकै महत्वपूर्ण कदम हो तसर्थ भारतसँग वार्ता गरेर चाँडो भन्दा चाँडो सीमानाको बारेमा समाधान गर्नुपर्दछ । यस एजेन्डामा स्थायी कमिटिका सबै सदस्यहरूले एकमतका साथ निर्णय गरी आफ्नो देशको सार्वभौमिकता, अखण्डता, राष्ट्रियताको रक्षा गर्नु जरुरी छ ।

एजेन्डा ४ : सरकारको कामको समग्र समीक्षा सम्बन्धमा

जनताले अपार माया गरी नेकपा पार्टीलाई झण्डै दुई तिहाईको नजिकको जनमत दिएर नेकपाको सरकार बनाइ दिएका छन् । त्यति मात्र होइन स्थानीय निकायमा पनि अत्याधिक बहुमत छ । ७ वटा प्रदेश मध्ये ६ वटा प्रदेशमा सरकार बनेको छ । यो भन्दा बढी नेकपाका नेताले जनता प्रति के अपेक्षा गर्ने ? सरकारले राम्रो काम गर्न नसक्दा कसलाई आरोप लगाएर उम्कने ? तसर्थ नेकपाले सरकार सञ्चालन गरेदेखि आजका मितिसम्मका गरेका राम्रा कामहरू के के हुन त्यसको जनतालाई छर्लङ्ग पार्ने गरी जनताका बीचमा ल्याउन जरुरी छ । त्यस्तै सरकारले गर्न नसकेका अथवा कमजोरी भएका कामहरू के के हुन् ? ती पनि जनताका बीचमा ल्याउन जरुरी छ । यी दुईटै राम्रा र नराम्रा कामहरूको समीक्षा गरी निष्कर्षमा पुग्न जरुरी छ ।

यदि राम्रो सँग सरकार चलाउन सकेका छैनन भने सरकारमा गएका मन्त्रि, प्रधानमन्त्रीलाई पनि पार्टीले फिर्ता बोलाउन सक्नु पर्दछ । यो बैठकले गम्भिर समीक्षा गरी देशको विकासको खातिर नेपाललाई सम्बृद्धिको दिशा तिर बढाउन जस्तो सुकै निर्णय गर्नु पनि पछि हटनु हुँदैन ।

एजेन्डा ५ : पार्टी कामको समीक्षा र साङ्गठानिक एकताको बाँकी कामहरू सम्पन्न गर्ने सम्बन्धमा

नेपालका दुई वटा ठूला कम्युनिष्ट पार्टीहरू एकता भएको २ बर्ष बितिसक्यो । विधानतः ३ महिनामा पार्टीको एकता सक्ने भनेको थियो तर हालसम्म एकताका कामहरू सकिएका छैनन् । पार्टी कामको समीक्षा गर्दा त जो सुकैले पनि नेकपा पार्टी, विधि, पद्धति नियम अनुसार चलेको छ भन्नै सक्दैन । अनलाइन खबरका सम्पादक अरुण बरालले नेकपा पार्टी लुलो भईसक्यो धुलो हुन बाँकी छ भनेर टिप्पणी गरेका थिए । यसमा पनि केही सत्यता छैन भनेर भन्न सकिँदैन ।

एक प्रकारले नेकपा पार्टी लुलो नै भएको छ किनकी लाखौं कार्यकर्ता भएको पार्टीमा कुनै जोश, जाँगर योजना केही पनि भेटिदैन । त्यति मात्र हैन पार्टी सदस्यता लिने र दिने काम पनि भएको छैन । पार्टी सदस्यताको नविकरण समेत भएको छैन । तसर्थ नेकपा पार्टी भित्र एक व्यक्ति एक पदको अवधारणा लाई कार्यकर्ता देखि नेतासम्म यही विधी लागु गरेर सबैलाई जिम्मेवारी दिन जरुरी छ ।

नेकपा पार्टीको हालको गतिविधिको कारणले गर्दा कम्युनिष्ट आन्दोलनमै खतराको घण्टी बजिसकेको छ । पार्टी एकता गर्दा देखि नै विधि पद्दति मिचियो । यति लामो समय दुईटा पार्टी एकता गर्ने निहुँमा समय खेर फालियो । अझै पनि पार्टीलाई सही तरिकाले सञ्चालन गर्यो भने नेकपा पार्टीले विश्व कम्युनिष्ट आन्दोलनलाई नयाँ सन्देश दिन सक्छ हैन भने आगामी दिनमा नेकपा पार्टी प्रतिको विश्वास घट्दै जाने छ । पार्टी सञ्चालनमा कमजोरीहरू कहाँ कहाँ रहे क–कसको कारणले हुन गए र किन कमजोरी भयो ? यसको गम्भिर समीक्षा नगरी, चिरफार नगरी चोचोमोचो मिलाएर अघि बढ्नु झन खतरनाक हुने छ । सबै नेताहरूले आत्मालोचित भई आफ्ना कमजोरीहरूमा आफ्ना गुटहरूमा आगो लगाई पार्टीलाई एक ढिक्का बनाई साङ्गठानिक एकताका कामहरू १ हप्ताभित्र पुरा गरी हालको समयमा कोरोना भाइरसबाट नेपाली जनतालाई बचाउने रणनीतिको साथ पार्टी परिचालन गर्न जरुरी देखिन्छ ।

एजेन्डा ६: एमसीसी सम्बन्धमा

एमसीसीको बारेमा धेरै समय देखि निकै बहस, छलफल भएको छ । एमसीसीको बारेमा पार्टीले कार्यदल पनि बनाएको थियो । त्यो कार्यदलको रिर्पाेटको आधारमा स्थायी समितिमा घनिभूत छलफल गरी यही बैठकबाट निर्णय गर्नुपर्दछ । एमसीसी सम्झौतामा उल्लेख भएका अवधारणाहरू नेपालको राष्ट्रिय हितमा छैन भने एमसीसी सँग फेरी वार्ता गरी संशोधन सहित मात्र एमसीसी सम्झौता लागु गर्नुपर्दछ । कुनै बेलाको महाकाली सन्धिको घट्नालाई सम्झेर निर्णय गर्न उचित होला । जति पनि गलत सम्झौताहरू छन ती सबै गलत सम्झौताहरू लाई परिमार्जन गरेर मात्र एमसीसी सम्झौता कार्यान्वयन गर्नुपर्दछ ।

एजेन्डा ७ : विविध

क) रुकुम घटना
परापूर्वकालदेखि रहेको विभेदको कारणले समाजमा अनेकौं घटनाहरू घटेका छन् । सबैभन्दा पहिला समाजमा रहेको विभेदहरूको अन्त्य गर्नु पर्ने देखिन्छ । यहि विभेद अन्तर्गत रुकुम घटना पनि घट्न गएको छ । यो घटनाको सत्य तथ्य छानविन गरी दोषिलाई कारवाही गरी समाजमा हुने यस्ता विभेदको घटनाहरूको अन्त्य गर्न जरुरी छ ।

ख) नागरिकता विधेयक
राज्य व्यवस्था समितिले र नेकपाको सचिवालय बैठकले नागरिकता सम्बन्धी निर्णय गरी सकेको छ । यो स्वागत योग्य छ र एक हातमा सिन्दूर अर्काे हातमा नागरिकता प्राप्त हुने कानुन परितर्वन गर्न आवश्यक थियो । विश्वका कुनै पनि मुलुकमा यसरी सजिलै नागरिकता प्राप्त हुँदैन । नेपाली छोरी विहे गरेर भारत जाँदा नागरिकताको लागि ७ वर्ष कुर्नु पर्ने अनि भारतीय चेली नेपाल आउँदा एकै दिनमा नागरिकता पाउनु पर्ने ? यो कहाँको समानता हो ? त्यसैगरी श्रीलंकामा पनि ७ बर्ष कुर्नु पर्ने, माल्दिभ्समा १२ बर्ष कुर्नु पर्ने, पाकिस्तानमा ५ बर्ष कुर्नु पर्ने, बंगलादेशमा २ बर्ष कुर्नु पर्ने भने हाम्रो देशमा त झन विश्वका दुई वटा ठूला शक्तिशाली मुलुकको बीचमा अवस्थित छ । यी सबै कुरालाई ध्यान दिएर नेपालमा पनि नागरिकता सम्बन्धी कडाई गर्न जरुरी छ ।

ग) संघीय संसदका सदस्यहरूको भत्ता सम्बन्धमा
आज देशको अवस्था संकटमय छ । नेपालमा कोभिड १९ को कारणले अर्थतन्त्रमा ठूलो धक्का पुर्याएको छ । जनताको जनजीवनमा धेरै ठूलो असर पारेको छ । यी सबै विषय वस्तुहरूलाई गम्भिरता पूर्वक ध्यान दिएर संघीय संसदका सदस्यहरूको भत्ता होस या अन्य कर्मचारीहरूको भत्ता होस अथवा जनप्रतिनिधिहरूको तलब होस यसमा केही समयका लागि भए पनि कटौती गर्न आवश्यक छ । जब देशमा राम्रो सुधार हुँदै जान्छ तब सबैको आयस्रोत–आम्दानी बढ्दै जान्छ । यस्तो बेलामा जनप्रतिनिधिहरूको तलब भत्ता बढाउने, विभिन्न सुविधाहरू लिने भन्दा पनि कटौती गर्दा उपयुक्त हुन्छ ।

हाल चलिरहेको स्थायी कमिटिको बैठकले हालसम्म देखिएका पार्टी भित्रका आन्तरिक समस्याहरूको समाधान गरी पार्टीलाई एक ढिक्का बनाई यो देशको मुहार फेर्ने अठोटका साथ बैठकबाट आम जनसमुदायलाई सकारात्मक सन्देश दिने गरी बैठक टुङ्गयाउनु हुने छ । यदि फेरी पनि सकारात्मक सन्देश दिन नसकेर पार्टीलाई पनि लुलो बनाई राख्ने, देशलाई पनि अल्पविकसित देशमै सीमित राख्ने, कुचेष्टा गर्नु भयो भने हाल नेतृत्व गर्ने नेताहरूलाई जनताले लाखौं कम्युनिष्ट कार्यकर्ताले इतिहासको कठघरामा उभ्याउने नै छन् ।
लेखक:  शंकर भण्डारी नेकपाका युवा नेता हुन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *