‘खोक्ने, तर्साउने र झुक्याउने काम बन्द होस्’

विराटनगर । प्रदेश १ सरकारको बजेट अधिवेशनको २३ औँ बैठकमा सांसदहरूले असन्तुष्टि व्यक्त गरेका छन् । मङ्गलवार सत्ता पक्ष र प्रतिपक्षका सदस्यहरूले प्रदेश १ सरकारको बजेटको विषयलाई लिएर चर्को असन्तुष्टि व्यक्त गरेका हुन् ।
बैठकमा बोल्दै नेपाली काँग्रेसका प्रमुख सचेतक केदार कार्कीले मुख्यमन्त्रीले प्रदेशसभामा आएर हावा र फुस्रो कुराले संसदहरुलाई झुक्क्याउने कार्य गरिरहेको आरोप लगाउँदै सुनसरीका एक चिकित्सकको उपचार गर्न नसकेको बताए ।
उनले पाकिस्तानबाट आएका सुनसरीका चिकित्सकलाई सुरुमा कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा भर्ना गरिएको र स्वास्थ्य अवस्थामा समस्या भएको गुनासो गरेपछि धरान बीपी पु¥याइएको जानकारी दिए । ती सङ्क्रमित चिकित्सकको अवस्था बुझेर उपचार गर्न पहल गर्न सरकारलाई आग्रह गरेका कार्कीले सरकारले कोभिड उपचारमा उत्कृष्ट कार्य गरिएको भन्दै खोक्ने काम बन्द गर्न सुझाव दिए।
सचेतक कार्कीले भने, ‘सरकारले यहाँ खोक्ने काम बन्द गरोस्। खोकेर तर्साउने, झुक्याउने काम बन्द गरोस् । बिरामी आउँदा उपचार गर्न नसक्ने अस्पतालमा रकम खर्चिएर जनताको करको दुरुपयोग पनि नगरियोस् ।’
यस्तै बैठकमा नेकपा मोरङका प्रदेश सदस्य राजकुमार ओझाले मोरङको सुन्दरहरैंचा नगरपालिकाको गोठगाँउस्थित पूर्वाञ्चल विश्वविद्यालयमा राखिएको कोभिड १९ आइसोलेसन केन्द्रमा न्यूनतम आवश्यक पूर्वाधार नभएको गुनासो गरे । उनले प्रदेश सरकार कोभिडको उपचारमा रकम खर्चिरहँदा स्थलगत रूपमा खटिएका स्वास्थ्यकर्मी भने तलबबाट विमुख हुनुपरिरहेको बताए । उनले सरकारको ध्यानाकर्षण गर्दै उक्त अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई तलब सुविधासँगै ल्याउने पुराउने प्रावधानबाट समेत नजरअन्दाज गरिएको बताए ।
अर्कोतर्फ प्रदेशका उद्योग वन पर्यटन तथा वातावरण मन्त्री जगदीश कुसियैतले सङ्क्रमित चिकित्सकका बुबाकै अनुरोधमा धरानस्थित बिपीमा भर्ना गरिएको सभालाई जानकारी गराएका थिए । यसक्रममा उनीहरूसँग नियमित सम्पर्कमा रहेर आफैले सङ्क्रमितलाई धरान भर्ना गराएको उनले जानकारी दिए ।
धरानका चिकित्सकसँग सम्पर्कमा रहेको बताउँदै मन्त्री कुसियैतले रातीबाट सङ्क्रमितलाई अक्सिजन लगाइएको र चिकित्सकले उनको नियमित निगरानी गरिरहेको बताए।









