काठमाडौं उपत्यकामा कति छन् कोरोना संक्रमित ?

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट सुरक्षित भनिएको उपत्यका पनि पछिल्लो समय जोखिममा छ । दिनहुँजसो संक्रमितहरु भेटिने क्रम सुरु भएको छ ।

हिजो मात्रै भक्तपुर, ललितपुर र काठमाडौंमा गरी उपत्यकामा मात्रै ८ जना कोरोना संक्रमित केस भेटिएको थियो । योसँगै काठमाडौं उपत्यकामा मंगलबारसम्म कोरोना संक्रमितको एक्टिभ केस ९१ पुगेको छ ।

इपिडियोमोलिजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेले अहिले काठमाडौंमा ९१ जना कोरोना संक्रमित रहेको जानकारी दिएका हुन् । उनका अनुसार संक्रमितहरुको उपत्यकाकै विभिन्न अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ । संक्रमितमध्ये धेरैजसो भारत तथा अन्य देशबाट आएकाहरु रहेका छन् ।

काठमाडौंमा पनि संक्रमण बढ्दै गएपछि कन्ट्याक्ट ट्रेसिङको कामलाई पनि थप प्रभावकारी बनाइएको डा. पाण्डेको भनाइ छ । को स्वास्थ्यकर्मी कतिबेला खट्ने भनेर सबै सूची तयार पारिएको पनि उनले जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको विवरण अनुसार देशभर कुल संक्रमितको संख्या १३ हजार २४८ पुगेको छ । हिजो मात्रै विभिन्न जिल्लामा गरी थप ४ सय बढी संक्रमित केस पुष्टि भएको थियो । संक्रमितमध्ये ३ हजार १३४ जना उपचारपछि निको भएर फर्किसकेका छन् भने हालसम्म २९ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

आजै मात्र स्वास्थ्यमन्त्री भानुभक्त ढकालले अहिलेसम्म देशमा संक्रमण भएका १३ हजार संक्रमितमध्ये ९४ प्रतिशत विदेशबाट आएका र ६ प्रतिशत समुदायस्तरमा संक्रमण फेला परेको बताएका थिए । अहिले देशभर २२ वटा पिसिआर ल्याबबाटपरीक्षण भइरहेको अवस्थामा अबको केही दिनभित्र देशभर ३३ वटा ल्याब पुर्‍याई दैनिक १० हजार परीक्षण गर्ने तयारी गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 5 =