सांसद पौडेलले गरे बृहत गलकोट खानेपानी योजनाको शिलान्यास

बागलुङ । सांसद देवेन्द्र पौडेलले भिडियो कन्फ्रेन्समार्फत बृहत गलकोट खानेपानी योजनाको शिलान्यास गरेका छन् । पण्डित रामचन्द्र गौतम र चिरञ्जीवी मरासिनीले स्वस्तिक बाचन गरी शिलान्यास कार्यक्रम विधिवत रूपमा शुभारम्भ गरिएको थियो ।

शिलान्यासपछि बोल्दै सांसद पौडेलले नेपाल सरकारले जनतालाई सर्वसुलभ रूपमा घर घरमै पानीको सुविधा पुराउने लक्ष्य अनुरुप काम सञ्चालन गरिरहेको बताए । बृहत गलकोट खानेपानी योजनाले समृद्ध गलकोट निर्माणको उद्देश्यलाई साकार पार्ने उनको भनाई छ ।

एक घर एक धाराको अवधारणा अनुरूप यो योजना सञ्चालन हुने पौडेलले बताउनु भयो त्यसको लागि आवश्यक सहयोग गर्न आफु तत्पर रहेको उल्लेख गरे । पौडेलले भन्नुभयो यो योजना सम्पन्न भएपछि खानेपानीको लागि गलकोटबासी जनतालाई सहज हुनेछ । सांसद पौडेलले गलकोट विस्तारै विकासको मूलधार तर्फ उन्मुख रहेको भन्दै समयमै निर्माण कार्य सम्पन्न गर्न अनुरोध समेत गरे ।

गलकोट नगरपालिका वडा नम्बर ७ मल्म ढुंगेखानी स्थित खानेपानीको मुहानमा शिलान्यास गरिएको कार्यक्रममा संघीय खानेपानी तथा ढल व्यावस्थापन योजनाका वरिष्ठ इन्जिनियर शेखर चन्द्र केसीले योजनाको बारेमा जानकारी गराएका थिए । यो योजना तत्कालको लागि गलकोट नगरपालिका वडा नं ३, ५ र ७ मा सञ्चालन हुने परियोजनाले जनाएको छ ।

बहुवर्षीय योजना अन्तर्गत १५ करोडको लागतमा यो बृहत खानेपानी योजना सम्पन्न हुने बृहत गलकोट खानेपानी योजना निर्माण समितिका अध्यक्ष छुम बहादुर थापाले जानकारी दिए । शिलान्यास कार्यक्रममा वडा सदस्य लोक बहादुर थापाले वडा सरकारको तर्फ बाट धारणा राखेका थिए । खानेपानी योजना निर्माण कार्य सम्पन्न भएपछि एक घर एक धारा हुनेछन् ।

खानेपानी योजनाको अहिले पाइपलाईन निर्माण, ट्याङ्की, इन्टेक, क्याच मेन निर्माण हुने गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले जानकारी दिए । विश्व व्यापी माहामारीको रूपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण फैलिन नदिन गत चैत ११ गतेदेखि देशमा जारी लक डाउनको कारण भिडियो कन्फ्रेन्स मार्फत शिलान्यास कार्यक्रम गरिएको निर्माण समितिका सचिव रुद्र केसीले बताए ।

शिलान्यास कार्यक्रममा जनप्रतिनधि, स्थानीय राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, निर्माण समितिका पदधिकारीहरु, अनुगमन समितिका पदधिकारीहरु, सल्लाहकार सदस्यहरू लगायतको उपस्थिति रहेको थियो । समय सापेक्ष प्रविधिको प्रयोग गरी भिडियो कन्फ्रेन्स मार्फत गलकोटमा पहिलो पटक शिलान्यास कार्यक्रम गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *