कांग्रेस क्षेत्रीय सदस्य भट्टराईद्वारा आत्महत्या

धरान । धरानका युवा एवं कांग्रेसका क्षेत्रीय सदस्य नेता प्रताप भट्टराईले आत्महत्या गरेका छन् । उनी आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका हुन् ।
धरान–१४ नारायणपुरस्थित आफ्नै घरमा आज बिहान उनले झुण्डिएर आत्महत्या गरेको स्थानीयले बताए । २८ बर्षीय भट्टराई नेपाली कांग्रेसको क्षेत्रीय सदस्य हुन् भने प्रदेश सांसद चन्द्रप्रसाद श्रेष्ठका स्वकिय सचिव पनि हुन् ।
नेपाली कांग्रेस नगर सचिव श्याम पोख्रेलका अनुसार कोठामा पंखामा झुण्डिएको अवस्थामा पाइएको छ । ‘पंखामा पहेंलो कच्छडले बाँधेर झुण्डिएछन्,’ उनले भने,‘सबैलाई सम्झाएर हिँड्ने मान्छे, यस्तो गर्ला भनेर सोचेकै थिएनौं ।’
मृतक भट्टराईको श्रीमति र छोरी माइती गएको कारण कोठामा एक्लै थिए । करिब साँढे ९ बजेतिर मात्र उनले आत्महत्या गरेको खुलेको थियो । उनले के कारणले आत्महत्या गरे खुल्न सकेको छैन ।
अहिले इलाका प्रहरी कार्यालय धरानको टोली घटनास्थल गएको र मुचुल्का उठाउने कार्य भइरहेको छ ।
नेपाल विद्यार्थी संघको सक्रिय राजनीति गर्दै कांग्रेस क्षेत्रिय सदस्य समेत भएका भट्टराई धरानमा जुझारु युवाका रुपमा परिचित थिए । उनी धार्मिक तथा सामाजिक कार्यहरुमा पनि सक्रिय रहने गर्दथे ।









