भारत हुँदै नेपालका तीन जिल्लामा भित्रिए सलह, विज्ञहरू निरीक्षणमा

काठमाडौं । अफ्रिका हुँदै भारत प्रवेश गरेको सलह नेपालमा पनि प्रवेश गरेको छ । भारतसँग सीमा जोडिएका तीन जिल्लामा सलह प्रवेश गरेका छन्।

कृषि मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रका प्रमुख सहदेव हुमागाईँले बारा, पर्सा र सर्लाहीमा शनिबार बिहान सहलको झुण्ड भारतबाट प्रवेश गरेको जानकारी दिए।

उनका अनुसार बाराको डुमरवाना सहित दुइ स्थान र पर्साको पर्सागढी तथा सर्लाहीको नवलपुर क्षेत्रमा सलहको झुण्ड देखिएको हो । ‘बाराको डुमरवानासहितका दुई स्थान, पर्साको पर्सागढी तथा सर्लाहीको नलवपुर क्षेत्रमा शनिबार बिहान ७ देखि ८ बजेको बिचमा सहलको झुण्ड भारतबाट प्रवेश गरेको जानकारी आएको छ ।’ उनले भने । हुमागाईँका अनुसार कस्तो खालको सहल हो र संख्या कति छ भन्ने थाहा पाउनका लागि स्थानीय विज्ञहरु सो क्षेत्रमा निरीक्षणका लागि गइसकेका छन् ।

अफ्रिकामा सलह नियन्त्रण गरिँदै, तस्विर, गुगल ।

उनले नेपालमा आएको सलह मरुभूमि सलह हो वा अरु प्रकारको सहल हो भन्ने यकिन नभएको बताउँदै यसबारे अध्ययन गरेपछि मात्रै थाहा हुने जनाए । हुमागाईँले नेपालमा सलह ठूलो संख्यामा नरहेको प्रारम्भीक जानकारी रहेको र यी सहल आप्रवासी हुन सक्ने बताए ।

नेपाल छिरेका सलहहरु अहिले रुख तथा जमिनमा बसेको बताइएको छ । पश्चिमबाट पूर्व तिर बहेको हावा केही दिनअघि अचानक दक्षिणबाट उत्तर तिर बहेकाले सहलको झुण्ड तितरवितर भएर नेपाल आएको हुन सक्ने अनुमान गरिएको छ ।

आजै दिउसो सलह प्रवेश गरेको तथा यसपछिको कार्ययोजनाबारे छलफल हुने भनिएको छ । केही समयअघि अफ्रिका हुँदै भारतसम्म आएको सलहको हुल नेपाल पनि प्रवेश गर्न सक्ने सम्भावना रहेको भन्दै कृषि मन्त्रालयले अध्ययन कार्यदल गठन गरेकोमा अब उक्त कार्यदलले बनाएको कार्ययोजना अनुसार नै काम हुने बताइएको छ ।

६० वर्षअघि काठमाडौं उपत्यका र आसपासका जिल्लामा सलहले ठूलो क्षति पुर्‍याएको थियो । घाम नै छलिनेगरी उडेर आउने सलहका झुण्ड जहाँ बस्छ त्यहाँको हरियाली केही बेरमै उजाड बन्छ ।

सन् १९६० को दशकको सुरुतिर सलह प्रकोपले नेपालमा ठूलो खाद्य संकट निम्त्याएको थियाे।त्यसबेला काठमाडौं उपत्यका, धादिङ, नुवाकोट, काभ्रेलगायतका जिल्लामा सलहले सबैखाले बाली सखाप पारेको कृषि इतिहासका किताबहरूमा पढ्न पाइन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *