गोन्द्राङ ढाट स्थानान्तरणले दिएको खुशी

- ध्रुवराज खनाल
चितवन । चितवनको गोन्द्राङ ढाट (सडक प्रयोग संकलन दस्तुर केन्द्र) स्थानान्तरण गरिएको छ । सडक वोर्ड नेपालको पछिल्लो वैठकले गोन्द्राङ ढाटलाई स्थानान्तरण गर्दै मकवानपुर मनहरी गाउँपालिका ६ मा राख्ने निर्णय गरेको हो ।
गोन्द्राङ ढाट हटाउनुपर्ने माग गर्दै पूर्वी चितवनवासीहरुले आन्दोलन गर्दै आएका थिए । गत वर्षको जेठ ३ गते सो ढाटमा आगजनीनै भएपछि यो विषयले प्रतिनिधि सभामा समेत स्थान पाएको थियो । पूर्वी चितवनवासीहरु एउटै जिल्ला काम विषेशले भरतपुरबाट फर्कँदा दस्तुर तिर्नु पर्ने बाध्यता पनि थियो । त्यसैले पनि यहाँका स्थानीय आन्दोलित थिए ।

पूर्वी चितवनवासीहरुको माग अन्तत पुरा भएको भन्दै रत्ननगर उद्योग बाणिज्य संघले शुक्रबार पत्रकार सम्मेलन गरि सबैमा धन्यवाद दिएको छ । संघका अध्यक्ष राजाराम रेग्मीले पत्रकार सम्मेलनमा सो ढाट हटाउन यहाँका प्रतिनिधि सभा सदस्यहरु, प्रदेश सभा सदस्यहरु, जिल्लाका राजनितिक दल, पूर्वी चितवनका उद्योग बाणिज्य संघहरु लगायत सबैलाई धन्यवाद दिए ।
आगजनीको घटनामा उनले समेत मुद्या खेप्नु परेको थियो । मुद्या खेपेपनि ढाट स्थानान्तरणले खुशी थपेको रेग्मीको भनाई थियो । असार ४ गतेबाट सो ढाट गोन्द्राङबाट हटेको र कोरोना भाइसरको प्रभाव सामान्य भएपछि ढाट लोथरबाट सञ्चालन हुने पत्रमा उल्लेख छ ।
लकडाउनका कारण गोन्द्राङ ढाटमा दस्तुर उठाउने काम पूर्ण रुपमा बन्द भएकाले परिस्थिति सामान्य भएपछि ढाट स्थानान्तरण सडक वोर्ड नेपालले जनाएको छ । संघले आयोजना गरेको पत्रकार सम्मेलनमा बागमती प्रदेश सभा सदस्य कृष्ण प्रसाद खनाल, रत्ननगरका मेयर नारायण वन, नेकपा रत्ननगर अध्यक्ष केपी लामिछाने, नेपाली काग्रेश नगर सभापति रुपनराज घिमिरे लगायत सहभागी थिए ।








