मोरङमा स्कारपियोको ठक्करबाट एक पैदलयात्रीसहित ३ जनाको मृत्यु

विराटनगर । मोरङमा स्कारपियोको ठक्करबाट तीन जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको मोरङको कानेपोखरी खण्डमा बिहीबार राति स्कारपिओ गाडीको ठक्करबाट एक पैदलयात्री महिला र मोटरसाइकलमा सवार दुई जना पुरुषको मृत्यु भएको हो ।
झापाको दमकबाट इटहरीतर्फ आउँदै गरेको बा१४च ९६४३ नम्बरको स्कारपिओले पैदल हिँडिरहेकी महिलालाई ठक्कर दिएको थियो । त्यसपछि अनियन्त्रित भइ सोही गाडीले विपरीत दिशाबाट आउँदै गरेको मे१०प २७५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
उक्त गाडीको ठक्करबाट ज्यान गुमाएकी मृतक पैदलयात्री महिलाको पहिचान खुल्न बाँकी छ । ठक्करबाट ज्यान गुमाएका मोटरसाइकलमा सवारहरुको भने पहिचान खुलिसकेको छ । पाँचथरको फिदिम नगरपालिका–२ का ३८ वर्षीय गजेन्द्रबहादुर गुरुङ र झापा बाह्रदशी गाउँपालिका–४ का ३१ वर्षीय लोकेन्द्रबहादुर लिम्बुको मृत्यु भएको हो ।
दुर्घटनापछि स्कोरपिओका चालक सुनसरीको इटहरी उपमहानगरपालिका-४ का ४५ वर्षीय महेन्द्रबहादुर थापालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएकाे प्रहरीले जनाएकाे छ ।








