बलात्कारपछि एउटाको गर्भ, तर ‘पञ्चेती’ले अर्कैसँग गरिदियो विवाह

सप्तरी । सप्तरीकी १५ वर्षीया एक किशोरी बलात्कारपछि गर्भवती भएको खुलेको छ। किशोरीलाई बलात्कार गरेको आरोपमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-३ सकरपुराका २५ वर्षीय लालबहादुर मुखियालाई प्रहरीले पक्राउ गरेको छ।

बलात्कारपछि किशोरी गर्भवती भएपछि अभिभावकले गएको बैशाखमा गाउँको अर्कै एक किशोरसँग विवाह गरिदिएका थिए। अहिले किशोरी तीन महिनाकी गर्भवती छिन्। पीडित किशोरीले बलात्कारबाट गर्भ रहेको भन्दै जिल्ला प्रहरी कार्यालयमा गत मङ्गलबार उजुरी दिएपछि आरोपितलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

गाईबस्तुका लागि घाँस काट्न खोलाको चौरीतिर गएको बेला एक्लै भएको मौका पारी लालबहादुरले आफूलाई बलात्कार गरेको र उनकै गर्भ रहेको बयान किशोरीले दिएकी छिन्। उनको बयानको आधारमा लालबहादुरलाई कारवाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए।

विवाहित लालबहादुर एक छोरा र एक छोरीका बुबा हुन्। पीडित किशोरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षण तथा भिडिओ एक्सरे गरिएको छ।

यसअघि गाउँमा भएको छलफलपछि गर्भवती किशोरीको विवाह वैशाख २८ गते गाउँकै १८ वर्षीय किशोरसँग गरिदिएको स्थानीय गीता देवले बताइन्। ‘उतिबेला गाउँमा भएको पञ्चेतीमा किशोरीले एउटाको गर्भ रहेको बताएकी थिइन्,, अहिले लालबहादुरको गर्भ भन्दै उजुरी दिइन्,, देवले भनिन्, ‘यसरी कुरो फेरेपछि गाउँभरि तनाव बढेको छ।’

पीडितले गाउँको भेलामा पञ्चेती गर्ने बचाई मुखिया र किसुन मुखियाले सिकाएअनुसार आफूले उतिबेला झुटो कुरा बोलेको बताएपछि अनुसन्धानका लागि प्रहरीले पञ्चलाई समेत नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको थियो।

किशोरीको बयानका आधारमा दुईजना पञ्चलाई समेत सोधपुछका लागि ल्याइएको र उनीहरूलाई तारेखमा रिहा गरिएको भारतीले बताए। उनले लालबहादुरविरुद्ध बलात्कारको उजुरी दर्ता गरी थप अनुसन्धान थालिएको जानकारी दिए।

बलात्कारको उजुरी दर्ता भएपछि अहिले पञ्चहरु किशोरीको बयान परिवर्तन गराउन र उनको विवाह बलात्कारीसँग गराई दिन सक्रिय भएका छन्। किशोरीले कहिले पञ्चले सिकाएर त कहिले विवाह गरेका किशोरको आमाले सिकाएर बोली परिवर्तन गरेको स्थानीयवासीको भनाइ छ। किशोरी भने निकै दबाब र मानसिक तनावमा छिन्। रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *