ट्राफिक नियम उलङ्घन गर्ने सवारीसाधनलाई कंलकीमा कडाई

काठमाडौँ । नेपाल सरकारले कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि गर्दै आएको लकडाउनको नयाँ मोडालिटी अनुसारकाे जोर-बिजोर प्रणालीलाई ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा थप कडाई गरेको छ ।
जोर-बिजोर प्रणालीको पूर्ण पालना नभएको भन्दै ट्राफिक प्रहरीले कडाई गरेको हो । महानगरीय ट्राफिक प्रहरी प्रभाग कंलकीले बिजोर सवारी साधन चल्ने दिन जोर सवारी साधन र दुई जना सवार सवारीसाधनलाई होल्ड गरेको छ ।
आज साँझ ६ बजे सम्म दुई पाङ्ग्रे १२२ र भाडाका ट्याकसी २५ वटा नियन्त्रणमा लिइएकाे महानगरीय ट्राफिक प्रहरी प्रभाग कंलकीका प्रमुख प्रहरी निरीक्षक पुरूषोतम कार्कीले बताए । कंलकी ट्राफिकले एकातर्फ आम नागरिकहरूलाई सचेतना जगाउन, सामाजिक दुरीको पालना गराउन तथा सवारी साधनहरुमा हुने भिडभाड कम गराउनका लागि सजगता र सचेतनाका लागि मुख्य-मुख्य चोकहरूमा प्लेकार्डमार्फत सचेतना दिईरहेको फिल्डमा खटिएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए ।
कंलकी प्रहरीले चोकमा जोर-बिजोर प्रणालीको पूर्णपालना गराउन चेकप्वाईन्टहरू राखि थप कडाई गरिरहेको छ । विभिन्न बहानामा सवारी साधन चलाउनेहरुको सख्या बढेको कारण थप चेकजाँज गरी कडाई गरेको प्रहरी निरीक्षक कार्कीको भनाइ छ ।
काठमाडौँ उपत्यकामा जेठ ३० गतेदेखि आजसम्म जोर-बिजोर प्रणाली उल्लङ्घन गर्ने १५ हजार ८ ७०वटा सवारी साधनहरू नियन्त्रणमा लिईसकेको महाशाखाले जनाएको छ ।








