यी हुन धरानका ११ होटल जसले सशुल्क क्वारेन्टाइनको सेवा दिनेछन् (सूची सहित)

धरान । कोरोना महामरीको चपेटामा लामो समयसम्म अन्य मुलुकहरुमा बसी नेपाल आउनेहरुका लागि धरानका होटलहरुले सशुल्क क्वारेन्टाईन सेवा दिने भएका छन्। भारत तथा तेस्रो मुलुकबाट आएका व्यक्तिहरुलाई सशुल्क क्वारेन्टाइनमा राख्न धरानका ११ होटल तयार भएका हुन् ।

नेपाल सरकार तथा होटल एशोसिएशन अफ नेपाल (हान) बीच भएको सहमति अनुसार धरानका ती होटलहरुलाई सशुल्क क्वारेन्टाइन बनाइने भएको छ । नेपाल सरकारको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय सुनसरीले ती ११ होटलहरुको सुची प्रकाशित गरेको छ ।

जिल्ला प्रशासन कार्यलय सुनसरीले सार्वजनिक गरेको सुची अनुसार धरानको होटल कञ्चनजंघा, होटल ईजीराइडर, होटल यती र होटल डोबमा क्वारेन्टाइन हुनेछ । त्यस्तै, होटल नवयुग, होटल ड्रिमल्याण्ड, होटल सन्ध्या इन, होटल सेक्ष, होटल स्टारपुर्वी, होटल ह्यापील्याण्ड, र होटल याङ्कोपमा पनि सशुल्क क्वारेन्टाइन हुनेछ ।

यी होटलहरुको दररेट नेपाल सरकार र हानबीच भएको सहमति अनुसार हुने जिल्ला प्रशासनले जनाएको छ । ति होटलहरुको दैनिक सेवा शुल्क भने प्रति व्यक्ति रु. २१५० लिनेछन् । होटलको एउटा रुममा २ जना मात्र बस्न पाउने छन् ।
रु. २१५० मा क्वारेन्टाइनमा बस्नेहरुले बिहानको ब्रेकफाष्ट, बिहानको खाना, दिउँसोको खाजा र बेलुका खाना पाउने होटल ब्यवसायी समितिका सचिव बासुदेब बरालले जानकारी दिए ।

भारत तथा तेस्रो मुलुकबाट आएका व्यक्तिहरु आफ्नै खर्चमा ती होटलहरुलाई क्वारेन्टाइन बनाएर बस्न सक्नेछन् । जिल्ला प्रशासनले क्वारेन्टाइन बनाउन इच्छुक होटलहरुको सुची होटल व्यवसायी समिति धरानसँग माग गरेको थियो । समितिले ब्यवसायीहरुसँग समन्वय तथा छलफल गरेर होटलहरुको सुची पठाएको समितिका सचिव बरालले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *