धरानको खानेपानीमा मेयरले नन्दी भृंङ्गी अगाडी सारेर ताण्डव नृत्य गराएको आरोप

धरान । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका धरान नगर अध्यक्ष नारायण सुवेदीले धरानको खानेपानीमा ठूलो दलाली चलिरहेको आरोप लगाएका छन् । शनिबार आफ्नो फेसवुकमा स्टाटस लेख्दै अध्यक्ष सुवेदीले ठेकेदारसँग मोटो रकम हत्याउनका लागि खानेपानी परियोजनामा दलाली भएको दावि गरेका हुन् ।

उनले धरान उपमहानगरपालिकाका मेयर तिलक राईले नै आफ्ना नन्दी भृङ्गीहरुलाई अगाडी सारेर खानेपानी परियोजनामा ताण्डव नृत्य गरेको आरोप लगाएका छन् ।

एशियाली विकास बैंकको अनुदान ऋण सहयोगमा निर्माणाधिन धरान खानेपानी परियोजना तोकिएको समयमा सम्पन्न नभइरहेको अवस्था र नेपाल खानेपानी संस्थान धरान शाखालाई धरान खानेपानी बोर्ड मातहतमा ल्याउन सकस भइरहेको अवस्थामा मेयरले नै खानेपानी परियोजनालाई असफल पार्न खोजेको दावि गरेका छन् ।

उनले खानेपानी परीयोजनालाई असफल बनाउन मेयरबाटै मान्छेहरु परिचालित भएको बताउँदै लेखेका छन्–‘अहिले धरानको खानेपानीमा ठूलो दलाली चलिरहेको महशुस भईरहेको छ । भ्रष्टाचारको बिषयमा जो सुकै भएपनि शुन्य सहनशिलताको नीति लिई कार्बाहि हुनुपर्छ, अहिलेको परियोजनाले खानेपानी संस्थानको बिग्रिएको संरचना मरमत गरेर फुलफेजमा ९ महिनासम्म अपरेटिङ गरेर परियोजना बोर्डमा हस्तान्तरण गर्नु पर्दछ तर परियोजनाको काम पुरा हुन नदिने र ठेकेदारको अपरेटिङ पिरियड कटाऊने र ठेकेदार सँग मोटो हत्याउन केही दलालहरू सक्रिय छन ।’

नेता सुवेदीले परियोजना पुरा हुन नदिँदा ठेकदारले भोली अदालतमा मुद्दा हालेर काम सम्पन्न गर्न नदिएको भनेर क्षतिपुर्ति सहित रकम असुली गर्ने जिकिर गरेका छन् । ‘ यो आम ठेकेदारको प्रबृत्ति नै हो ।’

उनले खानेपानी संस्थानले पनि करोडौ रकम परियोजनाको पानी बाट पाई रहेको र त्यसबाट पनि खानेपानीको दलालहरूलाई कमिसन टक्रयाईरहेको सुनिएको उल्लेख गरेका छन् । उनले परियोजनाको फिल्टर प्लान्टमा पानी नहाली सोझै धमिलो पानी नगरवासीले खाईरहेको बताएका छन् । ‘मेयर साब खानेपानी जस्तो सम्बेदनशिल मुद्दामा आफ्ना नन्दि भृङ्गीलाई अगाडि सारेर ताण्डब नृत्य नाचिरहेका छन ।’

यता धरान खानेपानी परियोजना अझै परीक्षण कालमै रहेकोले परियोजनालाई तत्कालै धरान खानेपानी बोर्डमा ल्याउन नहुने आवाजहरु उठिरहेका छन् । ९ महिने परीक्षण अवधिमै परियोजना सफल भएको ठानेर बोर्डमा ल्याए भोली ठूलो समस्या निम्तने बताइएको छ । त्यसो त खानेपानी परियोजना तोकिएको समयमा सम्पन्न नहुनु, तोकिए अनुसार पानी उपलब्ध गराउन नसक्नुले परियोजना असफल भन्नेहरुको संख्या बढ्दो छ ।

सन् २०१२ बाट शुरु भएको ३ अर्ब २९ लाखको खानेपानी परियोजना ५ वर्ष भित्र पुरा गर्ने लक्ष्य थियो । तर, अहिलेसम्म परियोजनाको ७५ प्रतिशत पनि काम पुरा नभएको आरोप छ भने, परियोजनामा ठूलो अनियमितता भएको स्थानीय सरोकारवालाहरुले आरोप लगाउँदै आएका छन् ।

धरानमा सुख्खा याममा खानेपानीको चरम हाहाकार मच्चिने गरेको छ । दैनिक १ करोड ५२ लाख २० हजार लिटर खानेपानी उपलब्ध गराउने भनेर सञ्चालित परियोजनाबाट त्यसको एक तिहाई पनि पानी उत्पादन र वितरण हुन नसकेको उपभोक्ताहरुको आरोप छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *