सांसद सरिता गिरीविरूद्ध टेकुमा उजुरी, प्रहरीले थाल्यो अनुसन्धान

काठमाडौं । सांसद सरिता गिरीविरुद्ध राज्यविरुद्धको कसुरमा कारबाही माग गर्दै महानगरीय प्रहरी परिसर टेकुमा उजुरी परेको छ । नेपालको नयाँ नक्साको विपक्षमा उभिएकी जनता समाजवादी पार्टीकी सांसद गिरीविरूद्ध शुक्रबार तीन जना अधिवक्ताले उजुरी हालेको परिसरका प्रवक्ता तथा डिएसपी राजकुमार केसीले जानकारी दिए ।

अधिवक्ताहरु सन्तोष भण्डारी, सुजन नेपाल र नवराज पाण्डेले सांसद गिरीविरूद्ध नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताका विरुद्ध अभिव्यक्ति दिएको भन्दै टेकुमा उजुरी दिएका हुन् । ‍उजुरी परेसँगै प्रहरीले अनुसन्धान थालिसकिएको छ ।

सांसद गिरीले संसद् बैठकमै नेपालले भारतलाई नसोधी नक्शा जारी गरेकाले त्यसको औचित्य नभएको बताएपछि चौतर्फी आलोचना भएको थियो । त्यसपछि सांसद गिरीले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नक्सा संविधानको अनुसूची ३ अनुसारको निसान छापमा राख्न गरिएको संविधान संशोधन विधेयक खारेजीको मागसहित संशोधन दर्ता गराएकी थिइन् ।

उनको संशोधनलाई सभामुख अग्नि सापकोटाले अस्वीकार गरिरिदएका थिए । गिरीलाई मुलुकी अपराध संहिता २०७४ को दफा ४९ (५) क अनुसार जन्म कैद अर्थात २५ वर्षसम्म सजाय गर्न किटानी जाहेरीमा माग गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *