व्यापार राख्न नदिएकाे भन्दै विराटनगरका फुटपाथ व्यापारी आन्दोलित

- सुजाता निङ्लेकु
विराटनगर । फुटपाथमा व्यापार गर्न नदिएको भन्दै स्थानिय व्यापारीहरु आन्दोलित भएका छन् । विराटनगरका विभिन्न स्थानको चौकमा बसेर व्यापार गर्दै आईरहेका व्यापारीहरुलाई विराटनगर महानगरपालिकाले व्यापार गर्न नदिएको भन्दै उनीहरू आन्दोलित भएका हुन् ।
फुटपाथमा व्यापार गर्न पाउ भन्ने माग राख्दै व्यापारीहरुले बिहीबार जिल्ला प्रशासन कार्यालय मोरङ र विराटनगर महानगरपालिका समेत घेराउ गरेका थिए । कोरोना भाइरस संक्रमण रोकथाम तथा न्यूनिकरणका लागि सरकारले गत चैत्र ११ गते लकडाउनको घोषणा गरेसँगै लकडाउन अवधिभरी सरकारलाई साथ दिँदै व्यापार व्यवसाय बन्द गरेर घरैमा बसेको उनीहरुले बताए । लकडाउन खुकुलो भएसँगै अन्य पसलहरु खोल्न दिएको भएपनि आफूहरुलाई व्यापार गर्न नदिएको उनीहरुको गुनासो छ ।
केहि दिनदेखि नगर प्रहरीले व्यापारीहरुको ढक, तराजु खोसीदिने, तरकारी फादिदिने जस्ता क्रियाकलाप गर्दै आईरहेको व्यापारी अंकित शाहले जानकारी दिए । उनले भने, ‘ठुलाठुला व्यापार व्यवसाय संचालन गर्न दिने अनि हामी जस्ता गरीबले चाहीँ गरेर खान नपाउने ?’
शुक्रबार ४ बजे बिहान देखि १० बजेसम्म गुद्रि बजार बन्द गर्ने र प्रदेश सभा घेराउ गर्ने उनको भनाई छ । शाहका अनुसार स्थानिय व्यापारीहरुलाई चौक, चौकमा पसल राख्न दिने विराटनगर महानगरपालिकाका नगर प्रमुख भिम पराजुलीको मौखिक रुपमा धारणा आएको छ ।








