विश्वभर ४४ लाख १४ हजारभन्दा धेरै कोरोना संक्रमित निको भए

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । आज बिहानसम्म संसारभरका ४४ लाख १४ हजारभन्दा धेरै मानिस कोरोना निको भएर घर फर्केका छन् ।

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार ४४ लाख १४ हजार ९ सय ५० जना कोरोनाबाट निको भएका हुन् । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर ४ लाख ५१ हजार २५७ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या ८३ लाख ९९ हजार ४८६ छ ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमित हुनेको संख्या २२ लाख ४४ हजार ४ सय ७१ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ८०७ जनाको मृत्युभएसँगै मृतकको संख्या १ लाख १९ हजार ९३९ छ । कुल संक्रमितमध्ये ९ लाख १२ हजार ४९६ जना संक्रमणमुक्त भएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा एकैदिन ३७ हजारभन्दा बढी नयाँ संक्रमित देखिएसँगै संक्रमितको संख्या ९ लाख ६० हजार ३०९ पुगेको छ । त्यहाँ मृत्यु हुनेको संख्या ४६ हजार ६६५ पुगेको छ ।

कोरोनाको दोस्रो लहर देखिएपछि जर्मनीले आगामी चार महिनासम्म ठूला जुलुस गर्न प्रतिबन्ध लगाएको छ । चान्सलर एंगेला मर्केलले त्यहाँका सबै १६ राज्यका प्रमुखसँग बैठक गरेकी छिन् । यो बैठकमा आगामी अक्टोबरसम्म ठूला समारोह पनि नगर्ने सहमति बनेको छ ।

चीनको राजधानी बेइजिङमा बुधबार कोरोनाका थप ३१ संक्रमित फेला परेका छन् । लगभग महामारी नियन्त्रण गरेको चीनमा यसको दोस्रो लहर देखिन थालेको छ। बेलायतमा कोरोना संक्रमितको संख्या तीन लाख नाघेको छ । अहिलेसम्म तीन लाख ७१७ संक्रमित फेला परेका छन् ।

भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या तीन लाख ५४ हजार ६५ पुगेको छ । संक्रमितमध्ये ११ हजार ९०३ जनाको मृत्यु भएको छ । भारत कोरोनाबाट सबैभन्दा प्रभावित मुलुकको सुचीको चौथो स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *