बाबुको हत्यामा पक्राउ परेका दुई छोरा जेल चलान

विराटनगर । गत जेठ ३ गते बाबुको हत्या आरोपमा पक्राउ परेका विराटनगर– १४ झटियाहीका दुई छोरालाई जिल्ला अदालत मोरङले पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ ।

मोरङ अदालतका न्यायाधीश किशोर घिमिरेको इजालशले विराटनगर १४ झटियाहीका २१ वर्षीय मुन्ना भनिने रोहित र १९ वर्षीय नागेन्द्र चौहानलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको हो ।

गत जेठ ३ गते राती जेठा मुन्ना र माइला छोरा नगेन्द्रले फरुवा प्रहार गरी ६९ वर्षीय बाबु सत्यराम चौहानको हत्या गरेपछि आफ्नै घरभित्र गाडिएको अवस्थामा जेठ ७ गते साँझ शव फेला परेका थियो ।

प्रहरीले सोही दिन दुवै छोरालाई पक्राउ गरेका थिए भने अनुसन्धानको क्रममा मदिरा सेवन गरी उनीहरूले बाबुको हत्या गरेको स्वीकार गरेका थिए । इलाका प्रहरी कार्यालय रानी विराटनगरले अनुसन्धान प्रक्रिया पूरा गरेपछि सरकारी वकिलको कार्यालयमार्फत अदालतमा शुक्रवार दुई जना विरुद्ध कर्तव्य ज्यान मुद्दामा अभियोग दर्ता गरेको थियो । दुवै जना प्रतिवादीको अदालतमा बयान सकिएपछि थुनछेक बहस भएको हो ।

थुनछेक बहसमा वादीको तर्फबाट सहायक जिल्ला न्याधिवक्ता मनिसबावु पोखरेलले बहस गरेका थिए । वादी र प्रतिवादीको बहस सकेपछि दुवै जना प्रतिवादीलाई पुर्पक्षको लागि थुनामा राख्न अदालतले सोमबार आदेश दिएको जिल्ला अदालत मोरङका स्रेस्तेदार ईश्वरमणि ओझाले जानकारी दिए ।

मुलुकी अपराध संहिता २०७४ को दफा ६७ बमोजिम थुनुवा पूर्जी दिई दुवै प्रतिवादीलाई विराटनगर कारागार पठाउन आदेश आएको उनले बताए । अदालतको आदेशपछि दुवै प्रतिवादी कारागार चलान भएका छन् ।

जिल्ला सरकारी वकिलको कार्यालयले कर्तव्य ज्यान मुद्दामा बाबुको हत्या गरेको आरोपमा पक्राउ परेका दुई जना छोराहरूलाई जन्मकैदको मागदाबीसहित अदालतमा अभियोग दर्ता गरिएको जिल्ला सरकारी वकिलको कार्यालय मोरङका सहायक जिल्ला न्याधिवक्ता मनिसबावु पोखरेलले जानकारी दिए । अपराध संहिता २०७४ को दफा १७७(१) बमोजिमको कसुरमा ऐ संहिताको दफा १७७ को उपदफा (२) बमोजिम जन्मकैदको माग दाबी गरेर अभियोग अदालतमा दर्ता गरिएको उनले बताए ।

बाबुले ज्याला मजदुरी गर्ने जेठो छोरासँग पैसा मागेपछि आवेगमा आएर दुई छोराले कोदालो प्रयोग गरी बाबुको हत्या गरेको थिए ।

हत्या गर्ने योजना नबनाएको भए पनि मदिराको नशामा लट्ठिएपछि आवेगमा आएर छोराहरूबाट हत्या गरिएको उनीहरूले प्रहरीलाई दिएको बयानमा उल्लेख छ ।

हत्यापछि बाबुको शव घरभित्र चार फिटको गहिरो खाडल खनेर गाडेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =